६ घण्टामा नारायणीसम्म पुग्यो भोटेकोशीको भीषण बाढी, यस्तो छ प्राविधिक विवरण
- BFIS News
- 2026 Aug 27 13:25
काठमाडौं । नेपाल चीन सीमावर्ती क्षेत्रमा गएको हिमपहिरोपछि बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढी करिब ६ घण्टामा नारायणी नदीसम्म पुगेको पाइएको छ। बाढीको फैलावट, जलसतहमा आएको उतारचढाव र विभिन्न जलमापन केन्द्रमा अभिलेख भएको अवस्थासहितको विस्तृत प्राविधिक विवरण जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको छ।
महाशाखाले बिहीबार बिहान सार्वजनिक गरेको प्रारम्भिक प्राविधिक प्रतिवेदनअनुसार स्याटलाइट तस्बिर तथा उपलब्ध प्रारम्भिक तथ्यांकको विश्लेषण गर्दा नेपाल–चीन सीमा नजिक हिमपहिरो गएपछि अचानक ठूलो बाढी आएको देखिएको छ।
महाशाखाका प्रवक्ता तथा उप–कार्यकारी निर्देशक डा. राजन भट्टराईद्वारा जारी विज्ञप्तिमा बाढी आउनुअघि सीमा क्षेत्रमा दुईवटा भूकम्पसमेत मापन भएको उल्लेख छ। बिहान ८ः२० बजे रसुवागढी सीमा क्षेत्र आसपास २.६ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसको १७ मिनेटपछि बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको अर्को भूकम्प मापन भएको थियो। यद्यपि, ती भूकम्प र त्यसपछि आएको बाढीबीच प्रत्यक्ष सम्बन्ध रहे–नरहेको विषयमा प्रतिवेदनले निष्कर्ष दिएको छैन।
जलमापन केन्द्र बगाएपछि रोकियो सूचना
नेपाल–चीन सीमाबाट करिब १ किलोमिटर तल रहेको रसुवागढी जलमापन केन्द्रले भूकम्प गएको तीन मिनेटपछि भोटेकोशी नदीको जलसतह मापन गरेको थियो। त्यतिबेला नदीको जलसतह १.६२ मिटर थियो। भोटेकोशीमा ६ मिटरलाई सतर्कता तह र ७ मिटरलाई खतरा तह तोकिएको छ।
तर, बिहान ८ः४० बजेपछि उक्त केन्द्रबाट तथ्यांक आउन बन्द भयो। अकस्मात आएको भीषण बाढीले जलमापन केन्द्र नै बगाएपछि सूचना सम्प्रेषण रोकिएको महाशाखाले जनाएको छ।
त्यसपछि नेपाल–चीन सीमाको रसुवागढी क्षेत्रबाट उच्च वेग, तीव्र बहाव र लेदोसहितको बाढी नेपालतर्फ प्रवेश गरेको थियो। बाढीले रसुवा हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत तटीय क्षेत्रसम्म ठूलो प्रभाव पारेको थियो।
८ः५० बजे स्याफ्रुबेसीमा बाढी
सीमा क्षेत्रको जलमापन केन्द्रसँगै सीमाबाट करिब ९ किलोमिटर तल रहेको स्याफ्रुबेसी जलमापन केन्द्रले पनि बाढीसम्बन्धी सूचना नियमित रूपमा महाशाखामा पठाउन सकेन। महाशाखाका अनुसार बिहान ८ः५० बजे स्याफ्रुबेसीमा ३.८ मिटर जलसतह मापन भएको थियो। त्यहाँको सतर्कता तह ५.५ मिटर तोकिएको छ।
स्याफ्रुबेसीमा बाढी पुगेपछि प्राविधिक उपकरणबाट नियमित सूचना प्राप्त हुन नसक्दा मानवीय स्रोतबाटै बाढीको जानकारी महाशाखासम्म पुगेको थियो।
त्यसपछि बाढी तीव्र गतिमा तल्लो तटीय क्षेत्रमा फैलिएको देखिन्छ। सीमाबाट करिब ३६ किलोमिटर तल रहेको बेत्रावतीमा बिहान ९ः२० बजे त्रिशूली नदीको जलसतह ३.५५ मिटर मापन भएको थियो। बेत्रावतीमा ४.१ मिटरलाई सतर्कता तह र ५.५ मिटरलाई खतरा तह तोकिएको छ। जलमापन केन्द्रबाट प्राप्त भएको उक्त विवरण नै अन्तिम अभिलेख भएको महाशाखाले जनाएको छ।
फुर्केमा खतरा तह पार गर्दै १०.४८ मिटर
बेत्रावतीपछि बाढी मलेखुस्थित फुर्के जलमापन केन्द्रमा बिहान ११ः२६ बजे पुगेको थियो। फुर्केमा ७ मिटरलाई सतर्कता तह र ८ मिटरलाई खतरा तह तोकिएको थियो।
बाढीको प्रभाव बढ्दै जाँदा बिहान ११ः४० बजे त्रिशूलीको जलसतहले खतरा तह पार गरेको थियो। त्यसपछि जलसतह बढेर अधिकतम १०.४८ मिटर पुगेको थियो। उच्च बहावका कारण फुर्केस्थित जलमापन केन्द्रसमेत बाढीले बगाएको महाशाखाले जनाएको छ।
मुग्लिन नजिकको कालीखोलामा भने दिउँसो २ः१४ बजे बाढीले खतरा तह पार गरेको थियो। त्यहाँ खतरा तह १२.१ मिटर तोकिएकोमा अधिकतम १२.३५ मिटर जलसतह मापन भएको थियो।
दिउँसो ३ः२० बजे देवघाट पुग्यो बाढी
भोटेकोशीबाट सुरु भएको बाढीको प्रभाव दिउँसो ३ः२० बजे देवघाट जलमापन केन्द्रमा पुगेको थियो। देवघाटमा दिउँसो ४ बजे जलसतह ६.५७ मिटरको उच्चतम विन्दुमा पुगेपछि क्रमशः घट्न थालेको थियो।
महाशाखाको प्रारम्भिक आकलनअनुसार देवघाटमा दिउँसो २ः१० बजेदेखि साँझ ६ बजेसम्म आधार बहावभन्दा अतिरिक्त बाढीजन्य पानीको आयतन करिब २ करोड घनमिटर रहेको अनुमान गरिएको छ।
यसरी सीमा क्षेत्रमा बिहान करिब ८ः४० बजेपछि सुरु भएको भीषण बाढी करिब ६ घण्टाभित्र देवघाट हुँदै नारायणी नदी प्रणालीमा पुगेको देखिएको छ। बाढीको तीव्र बहावसँगै आएको ठूलो परिमाणको लेदो तथा गेग्रानले नदी आसपासका बस्ती, सडक, पुल, जलविद्युत् तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्याएको छ।
६ लाख ७९ हजारभन्दा बढीलाई एसएमएस
बाढीको जोखिम बढेपछि बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान ९ः१५ बजेदेखि नदी तटीय तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित रहन पूर्वसूचना जारी गरेको थियो।
नेपाल टेलिकम र एनसेलको सहकार्यमा टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशूली, गल्छी, मलेखु, मुग्लिन, नारायणघाटलगायत आसपासका क्षेत्रमा रहेका ६ लाख ७९ हजार २९५ जनालाई मोबाइल एसएमएसमार्फत सुरक्षित स्थानमा जान आग्रह गरिएको महाशाखाले जनाएको छ।
तल्लो तटीय क्षेत्रमा बाढीको प्रभाव निरन्तर मूल्यांकन भइरहेको भन्दै महाशाखाले अर्को सूचना जारी नभएसम्म नदी किनार, होचा भूभाग तथा सम्भावित डुबान क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, सम्भव भएसम्म सुरक्षित तथा अग्लो स्थानमा रहन र अनावश्यक आवतजावत नगर्नसमेत अनुरोध गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया