प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म छुट दिने
- BFIS News
- 2026 Aug 27 16:25
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएका बीमालेख पुनर्जागरण गरी सुचारु गर्ने बीमितलाई बिलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ ।
कम्पनीका अनुसार नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने बीमालेखहरू मोहलत अवधि नाघेर व्यतित भएका छन् भने तोकिएको प्रक्रिया पूरा गरी २०८३ भदौ १२ गतेदेखि भदौ ३१ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख सुचारु गर्न सकिनेछ । यस क्रममा लाग्ने बिलम्ब शुल्कमा बीमालेख व्यतित भएको अवधिका आधारमा छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
दुई वर्षभित्र व्यतित भएका बीमालेखमा बिलम्ब शुल्कको ७५ प्रतिशत, दुई वर्षदेखि तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ५० प्रतिशत तथा तीन वर्षभन्दा बढी अवधिदेखि व्यतित भएका बीमालेखमा २५ प्रतिशत छुट प्रदान गरिनेछ ।
तर, यो सुविधा समुन्नती जीवन बीमा योजना र लोकप्रिय धनफिर्ता बीमा योजनामा लागू हुने छैन । साथै, यस योजनाअन्तर्गत पुनर्जागरण भएका बीमालेख पुनर्जागरण भएको दुई वर्षभित्र समर्पण गर्न आएमा यसअघि छुट दिइएको बिलम्ब शुल्कको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ ।
यसअघि नै बिलम्ब शुल्क छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई भने उक्त योजनामा समावेश नगरिने भएको छ । त्यस्तै, यस छुट योजनामा सहभागी भई सुविधा प्राप्त गर्ने बीमितलाई बाँकी बीमा अवधिभर पुनः ब्याज छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।
बीमालेख पुनर्जागरणका लागि आवश्यक अन्डराइटिङ प्रक्रिया अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ । कम्पनीले व्यतित बीमालेख भएका बीमितलाई तोकिएको अवधिभित्र आवश्यक प्रक्रिया पूरा गरी बीमालेख सुचारु गर्न आग्रह गरेको छ ।
यस योजनाले लामो समयदेखि नविकरण हुन नसकेका बीमालेखलाई पुनः सक्रिय बनाउन बीमितलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया