रसुवा बाढीमा अहिलेसम्म करिव ३१ अर्ब माथिको सहयोग, कहाँबाट कति आयो?
- BFIS News
- 2026 Aug 29 07:11
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो धनजनको क्षति भएपछि प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्ने क्रम तीव्र बनेको छ। सरकार उच्च प्राथमिकताका साथ विपद् प्रतिकार्यमा जुटिरहेका बेला विभिन्न देश, अन्तर्राष्ट्रिय विकास साझेदार, गैरसरकारी संस्था तथा व्यक्तिहरूले आर्थिक तथा मानवीय सहायता उपलब्ध गराउन थालेका छन्।
अर्थमन्त्रालयका सहसचिव अमृत लम्सालका अनुसार हालसम्म केही देश तथा संस्थाले प्रत्यक्ष सहयोग उपलब्ध गराइसकेका छन् भने कतिपयले आर्थिक तथा मानवीय सहयोगको प्रतिबद्धता जनाएका छन्।
एडीबीबाट ५ मिलियन डलर अनुदान, विश्व बैंकबाट १६७ मिलियन डलर सहुलियतपूर्ण कर्जा
बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा बजेटरी सहयोगका लागि एसियाली विकास बैंक (एडीबी)ले पाँच मिलियन अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मन्त्रालयका अनुसार उक्त रकम अनुदानस्वरूप उपलब्ध हुनेछ।
त्यसैगरी विश्व बैंकले बाढी प्रभावित क्षेत्रका लागि १६७ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। नेपाल सरकारले औपचारिक रूपमा अनुरोध गरेपछि उक्त रकम प्राप्त हुने अर्थमन्त्रालयले जनाएको छ।
यसैबीच अमेरिकी सरकारले पाँच लाख अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरेको छ भने अस्ट्रेलिया सरकारले ५० लाख अस्ट्रेलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
एडीबीले प्राविधिक सहायताका लागि थप एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ।
भारत सरकारबाट हालसम्म तीन चरणमा कुल ५७ दशमलव ५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भइसकेको छ। चीन र अमेरिकाले प्रदान गर्ने थप मानवीय सहायता शनिबारसम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।
अर्थमन्त्रालयका अनुसार चीन सरकारले बाढी प्रभावित क्षेत्रमा प्रयोगका लागि ३० वटा बेलीब्रिज सहयोग गर्ने घोषणा गरेको छ। साथै, चीनले दुई हजार शव व्यवस्थापनका लागि ‘एयर टाइट ब्याग’ समेत उपलब्ध गराउने जनाएको छ।
स्विट्जरल्याण्डले संयुक्त राष्ट्रसंघको व्यवस्थापनमार्फत खर्च हुने गरी १० लाख स्वीस फ्रयाङ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
आइएफआरसीबाट १२ लाख अमेरिकी डलर
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भीषण बाढी प्रभावितको खोज, उद्धार तथा पुनःस्थापनाका लागि तत्काल १२ लाख अमेरिकी डलर सहयोग गर्ने जनाएको छ।
नेपाल रेडक्रस तथा राष्ट्रिय निकायहरूसँगको समन्वयमा रेडक्रसका स्वयंसेवक तथा आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणमा सक्रिय रहेको आइएफआरसीले जनाएको छ।
आइएफआरसीका महासचिव जगन चापागाईले भोटेकोशी बाढीपछिको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै प्रभावित समुदायसम्म तत्काल मानवीय सहायता पुर्याउन आर्थिक सहयोग उपलब्ध गराइएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले नेपाल रेडक्रस र सम्बन्धित राष्ट्रिय निकायसँग समन्वय गरी आवश्यकताअनुसार थप मानवीय सहायता परिचालन गर्न आइएफआरसी तयार रहेको उल्लेख गरेका छन्।
गैरसरकारी संस्थाबाट खाद्यान्नदेखि सञ्चार सेवा पुनःसञ्चालनसम्म सहयोग
अर्थमन्त्रालयका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, अस्थायी आवास सामग्री, खानेपानी तथा सरसफाइ सामग्री, स्वास्थ्य तथा पोषण सामग्री र उद्धारका लागि आवश्यक उपकरण उपलब्ध गराइरहेका छन्।
अक्सफामले २०० थान सरसफाइ सामग्रीका प्याकेट र एक हजार थान पानी शुद्धीकरणका लागि एक्वा ट्याब्लेट उपलब्ध गराएको छ। संस्थाले रसुवा, धादिङ र नुवाकोटमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी सहायता विस्तार गर्ने जनाएको छ।
यसका अतिरिक्त आपत्कालीन अवस्थामा प्रयोग हुने अस्थायी आवास तथा भान्साका सामग्रीसहित करिब एक करोड ६० लाख रुपैयाँ बराबरको गैरखाद्य सामग्री पूर्वतयारी अवस्थामा राखिएको अक्सफामले जनाएको छ।
डिसिए नेपालले धादिङमा १०० जोर गमबुट, २० थान पिक्याक्स, २० थान बेल्चा, ५० बक्स पञ्जा र छ बक्स मास्क उपलब्ध गराएको छ। संस्थाले धादिङ र नुवाकोटका प्रभावित परिवारका लागि टेन्ट, सौर्य बत्ती तथा खाद्यान्नको व्यवस्था गरिरहेको छ।
त्यस्तै ५०० परिवारका लागि खाद्यान्न खरिद प्रक्रिया अघि बढाइएको तथा शव व्यवस्थापनका लागि आवश्यक झोलालगायत आपत्कालीन उद्धार सामग्री उपलब्ध गराउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
सेभ द चिल्ड्रेनले नुवाकोटमा २०० थान गैरखाद्य राहत सामग्री वितरण गरिसकेको छ। संस्थासँग थप ८०० थान गैरखाद्य राहत सामग्री मौज्दातमा रहेको र एक हजार घरधुरीलाई लक्षित गरी राहत वितरण गर्ने योजना बनाइएको छ।
ब्लिकनाओ फाउन्डेसनले नुवाकोटका लागि ५ दशमलव ५ किलोभोल्ट एम्पियर क्षमताका दुई वटा जेनेरेटर उपलब्ध गराएको छ।
यसैगरी बिबिसी मिडिया एक्सनले रसुवाको रेडियो लाङटाङ तथा नुवाकोटका रेडियो चिम्टेश्वर र रेडियो त्रिशूलीका लागि ३ दशमलव ५ किलोवाट क्षमताका तीन वटा जेनेरेटर उपलब्ध गराएको छ।
संस्थाका कर्मचारी नुवाकोटमै पुगेर जेनेरेटर हस्तान्तरण गर्नुका साथै स्थानीय सञ्चारमाध्यमको नियमित प्रसारण पुनःसञ्चालनमा सहयोग गरेका छन्। विपद् जोखिमसम्बन्धी सूचना प्रवाहका लागि आवश्यक थप सहयोगबारे पनि संस्थाले अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
आवास, पोषण र स्वास्थ्यमा केन्द्रित सहायता
एड्रा नेपालले रसुवा, धादिङ र नुवाकोटमा अस्थायी आवास सामग्री तथा खाद्य राहतमा सहयोग गर्ने जनाएको छ भने हेलेन केलर इन्टरनेसनलले तीनै जिल्लामा आपत्कालीन पोषण सहायता उपलब्ध गराउने भएको छ।
इस्लामिक रिलिफ नेपालले रसुवा र नुवाकोटका प्रभावितका लागि अस्थायी आवाससम्बन्धी गैरखाद्य सामग्री उपलब्ध गराउने जनाएको छ। यसअन्तर्गत त्रिपाल, पी–फोम म्याट, डोरी र कम्बललगायतका सामग्री रहनेछन्।
प्लान इन्टरनेसनल नेपालले रसुवा र नुवाकोटमा खानेपानी, सरसफाइ तथा स्वच्छता, गैरखाद्य सामग्री, अस्थायी आवास तथा भान्साका सामग्री उपलब्ध गराउने भएको छ।
पिपुल इन निडले रसुवामा पहिलो चरणमा १४० थान गैरखाद्य सामग्री, १४० थान मर्यादा सामग्री तथा २७ वटा टेन्ट उपलब्ध गराएको छ।
मर्सी कप्र्सले नुवाकोटका लागि २०० थान गैरखाद्य राहत सामग्री मौज्दातमा राखेको जनाएको छ। संस्थाले खानेपानी तथा सरसफाइसँगै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगमा समेत काम गर्ने जनाएको छ।
युनाइटेड मिसन टु नेपालले धादिङमा खाद्यान्न तथा गैरखाद्य सामग्री उपलब्ध गराउने भएको छ। राहत सामग्रीअन्तर्गत भान्साका सामग्री, त्रिपाल र कम्बललगायतका सामग्री रहेका छन्।
ह्यान्डिक्याप इन्टरनेसनलले नुवाकोट र रसुवामा घाइतेको व्यवस्थापन, भौतिक पुनःस्थापना तथा सहायक उपकरण उपलब्ध गराउने काम गरिरहेको छ। संस्थाले ११० थान गैरखाद्य सामग्री र विभिन्न प्रकारका १०० थान सहायक उपकरण उपलब्ध गराएको छ।
केयर नेपालले रसुवा र नुवाकोटमा खाद्यान्न, आश्रय तथा गैरखाद्य सामग्रीसहितको आपत्कालीन राहत प्याकेज उपलब्ध गराउने जनाएको छ। राहतमा भान्साका सामग्री, ओछ्यान तथा बिछ्यौना सामग्री, अस्थायी आवास सामग्री, पारिवारिक टेन्ट, सरसफाइ सामग्री र शिशु सामग्री समावेश हुनेछन्।
संस्थाले महिला तथा बालबालिकाका लागि सुरक्षित र मैत्रीपूर्ण स्थान स्थापना गर्ने योजना समेत अघि सारेको छ।
अर्थमन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा उपलब्ध भइरहेको सहायता केवल खाद्यान्नमा सीमित छैन। राहत तथा सहयोग अस्थायी आवास, खानेपानी शुद्धीकरण, सरसफाइ, स्वास्थ्य तथा पोषण, महिला तथा बालबालिका संरक्षण, सञ्चार सेवा पुनःसञ्चालन, उद्धार उपकरण तथा अपाङ्गता भएका र घाइते व्यक्तिका लागि सहायक उपकरणसम्म विस्तार भएको छ।
प्रधानमन्त्री राहत कोषमा साढे ४ अर्ब नजिक रकम
यसैबीच बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री राहत कोषमा विभिन्न क्षेत्रबाट रकम जम्मा हुने क्रम जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार रातिसम्म प्रधानमन्त्री राहत कोषमा नौ वटा वाणिज्य बैंकका खातामार्फत चार अर्ब ३८ करोड आठ लाख ५२ हजार २५२ रुपैयाँ जम्मा भइसकेको छ।
यस्तै हिमालयन र लक्ष्मी बैंकमा रहेको खातामा थप छ लाख ८० हजार ६१८ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। उक्त रकम नेपाली मुद्रामा करिब १० करोड ३८ लाख रुपैयाँ बराबर हुन्छ।
स्वदेशी तथा अन्तर्राष्ट्रिय सहयोग निरन्तर बढिरहँदा सरकारलाई प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा आधारभूत सेवा विस्तार गर्न थप स्रोत जुट्ने अपेक्षा गरिएको छ। दीर्घकालीन रूपमा भने बाढीबाट क्षतिग्रस्त बस्ती, सडक, पुल, सञ्चार तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण र प्रभावित नागरिकको पुनःस्थापनाका लागि ठूलो स्रोत र समन्वय आवश्यक पर्ने देखिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया