बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि आइएमई लाइफले १ करोड रुपैयाँ सहयोग गर्ने
- BFIS News
- 2026 Aug 27 17:38
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति कम्पनीले दुःख व्यक्त गरेको छ। बाढी र डुबानमा परी ठूलो संख्यामा नागरिकले ज्यान गुमाएको, कैयौँ बेपत्ता भएको तथा बस्ती र पूर्वाधारमा क्षति पुग्दा धेरै परिवार विस्थापित भएको अवस्थाप्रति कम्पनीले सहानुभूति जनाएको छ।
विपद्बाट प्रभावित नागरिकको तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघसंस्थाबाट भइरहेको प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो।
कम्पनीका अनुसार उक्त सहयोगले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, खाद्यान्न वितरण, स्वास्थ्य उपचार तथा पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। कम्पनीले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, संकट तथा महामारीका समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ।
आइएमई लाइफले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ताको शीघ्र खोजी, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा उद्धार र राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया