प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विपद् कोषमा ५१ लाख सहयोग गर्ने
- BFIS News
- 2026 Aug 27 18:19
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीको २०८३ भदौ ११ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार उक्त सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति कम्पनीले दुःख व्यक्त गरेको छ। बाढी र डुबानका कारण दर्जनौँ नागरिकले ज्यान गुमाएका, कैयौँ बेपत्ता भएका तथा बस्ती र पूर्वाधारमा क्षति पुग्दा सयौँ परिवार विस्थापित भएका छन्।
विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघ–संस्थाबाट भइरहेका प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग घोषणा गरेको हो।
कम्पनीका अनुसार ५१ लाख रुपैयाँको सहयोग बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनःस्थापनालगायत कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ। कम्पनीले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, महामारी तथा अन्य राष्ट्रिय संकटका समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ।
‘ढुकढुक हैन, ढुक्क होऔँ’ भन्ने मूल भावनाअनुरूप विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।
यसैबीच, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बेपत्ताको शीघ्र खोजी तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति सम्मान तथा आभार व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया