नेपाल लाइफद्धारा रसुवा बाढी प्रभावित क्षेत्रमा सक्रिय रहन शाखा कार्यालयलाई निर्देशन
- BFIS News
- 2026 Aug 27 18:41
काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको आकस्मिक भीषण बाढीका कारण रसुवागढी तथा तल्लो जलतटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुःख व्यक्त गरेको छ।
कम्पनीले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्राकृतिक विपत्तिको अवस्थामा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन कम्पनीले बाढी प्रभावित क्षेत्रका शाखा तथा उपशाखा कार्यालयलाई सक्रिय रूपमा परिचालन हुन निर्देशन दिएको छ। स्थानीयस्तरमा सञ्चालन भइरहेका उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग पुर्याउनसमेत कम्पनीले कार्यालयहरूलाई आग्रह गरेको छ।
त्यसैगरी, बाढीमा परी कुनै बीमितको मृत्यु भएको सूचना प्राप्त भए तत्काल केन्द्रीय कार्यालयको दाबी विभागमा जानकारी गराउन निर्देशन दिइएको छ। बीमितका परिवारलाई राहत पुग्ने गरी दाबी भुक्तानी प्रक्रियालाई सहज, सरल र व्यवहारिक बनाउँदै अविलम्ब दाबी भुक्तानी अघि बढाउनसमेत कम्पनीले निर्देशन दिएको छ।
कम्पनीले धुन्चे, नुवाकोट, धादिङ, गल्छी र मुग्लिनस्थित शाखा तथा उपशाखा कार्यालयलाई जोखिमको अवस्था मूल्यांकन गरी बीमितलाई आवश्यक आपत्कालीन सेवा उपलब्ध गराउन कुनै कसर बाँकी नराख्न भनेको छ। साथै, राज्यका तत्कालीन खोज तथा उद्धार योजनामा आवश्यक सहयोग पुर्याउन पनि सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ।
यस विपद्को समयमा उद्धार, राहत तथा बीमा सेवाको निरन्तरताका लागि बीमित तथा अभिकर्ताहरूको सहयोग आवश्यक रहेको कम्पनीले जनाएको छ।
बाढी तथा विपद्सँग सम्बन्धित दाबीका लागि बीमितले नेपाल लाइफका जुनसुकै शाखा तथा उपशाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। साथै, केन्द्रीय कार्यालयका दाबी विभाग प्रमुख उज्वल अर्यालसँग ०१–५९७०५९२ एक्स्टेन्सन ७१६०/७१६४ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ। अन्य जानकारी तथा जिज्ञासाका लागि कम्पनीको ग्राहक सेवा ०१–५९७०९७१ मा सम्पर्क गर्न सकिनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया