NIMB Header 2
Nepal Life

रसुवा बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत तथा पुनःस्थापना कार्यक्रम

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 29 15:11
रसुवा बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत तथा पुनःस्थापना कार्यक्रम
United Ajod

काठमाडौं । रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, अस्थायी आवास, पुनःस्थापना तथा दीर्घकालीन स्वास्थ्य सुरक्षाका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले करिब १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनःस्थापना कार्यक्रम घोषणा गरेका छन्।

Nepal Life
NIMB

बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै चौधरी फाउन्डेसन र नबिल बैंकले प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएका छन्। संस्थाहरूले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् भने प्रभावित नागरिकको सुरक्षा, साहस र शीघ्र पुनःस्थापनाको कामना गरेका छन्।

संयुक्त पहलअन्तर्गत तत्कालीन राहतबाट सुरु गरी अस्थायी आवास, स्थायी पुनःनिर्माण तथा दीर्घकालीन रूपमा विपद् प्रतिरोधी समुदाय निर्माणसम्म सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।

पहिलो चरण : तत्काल राहत र स्वास्थ्य सेवा

कार्यक्रमको पहिलो चरणअन्तर्गत चौधरी फाउन्डेसन र नबिल बैंकले बाढी प्रभावित परिवारलाई खाद्यान्न, अत्यावश्यक सामग्री तथा स्वास्थ्यसम्बन्धी सामग्री वितरण सुरु गरेका छन्।

राहत सामग्रीमा तयारी अवस्थामा खान मिल्ने खाद्यवस्तु, खानेपानी, बिस्कुट, कपडा, त्रिपाल, व्यक्तिगत सरसफाइका सामग्री तथा अन्य आवश्यक वस्तु समावेश छन्। भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन थालिएको र दुवै संस्थाका कर्मचारी स्थानीयस्तरमै परिचालित भई वितरण कार्यमा सहयोग गरिरहेको जनाइएको छ।

तत्कालीन राहत कार्यक्रमअन्तर्गत स्थानीय प्रशासनसँगको समन्वयमा नुवाकोट र रसुवामा दुईवटा व्यवस्थित राहत शिविरसमेत सञ्चालन गरिनेछ। ती शिविरमार्फत प्रभावित समुदायलाई दैनिक भोजन तथा आवश्यक सहयोग उपलब्ध गराइनेछ।

यसैगरी, धुलिखेल अस्पतालसँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरी प्राथमिक स्वास्थ्य सेवा, रोग रोकथाम तथा स्वास्थ्य सचेतनासम्बन्धी सेवा प्रदान गरिने चौधरी फाउन्डेसन र नबिल बैंकले जनाएका छन्।

राहत शिविरमा बालबालिकाका लागि सुरक्षित स्थान, स्वच्छ खानेपानी तथा आवश्यक सरसफाइ सुविधा पनि उपलब्ध गराइनेछ। यसले विपद्पछिको पुनःस्थापनाको अवधिमा विशेष गरी जोखिममा रहेका समुदायको स्वास्थ्य र सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दोस्रो चरण : ५०० अस्थायी आवास निर्माण

कार्यक्रमको दोस्रो चरणअन्तर्गत बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बसोबास गर्न अयोग्य बनेका परिवारका लागि ५०० वटा अस्थायी आवास निर्माण गरिने भएको छ।

स्थायी पुनःनिर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बसोबासको व्यवस्था गर्ने उद्देश्यसहित सरकार तथा स्थानीय तहसँग समन्वय गरेर अस्थायी आवास निर्माण गरिनेछ।

यी अस्थायी आवास नेपालमा भूकम्पपछिको राहत तथा पुनःस्थापनाका क्रममा चौधरी फाउन्डेसनले प्रयोग गरेको परीक्षण भइसकेको निर्माण प्रविधिमा आधारित हुने जनाइएको छ।

स्थायी आवास र सामुदायिक पूर्वाधारमा दीर्घकालीन सहयोग

तत्काल राहत र अस्थायी आवासमा मात्र कार्यक्रम सीमित नरहने चौधरी फाउन्डेसन र नबिल बैंकले बताएका छन्। प्रभावित क्षेत्रमा स्थायी आवास तथा अत्यावश्यक सामुदायिक पूर्वाधारको पुनःनिर्माणमा समेत सहयोग गर्ने योजना रहेको छ।

संस्थाहरूले विपद्पीडितलाई आपत्कालीन सहायता उपलब्ध गराउने मात्र नभई उनीहरूलाई सुरक्षित, व्यवस्थित र विपद् प्रतिरोधी जीवन पुनर्निर्माण गर्न सहयोग गर्ने उद्देश्य राखिएको बताएका छन्।

यसैबीच, दीर्घकालीन सार्वजनिक स्वास्थ्य सुरक्षालाई पनि कार्यक्रमको महत्वपूर्ण अंग बनाइएको छ। धुलिखेल अस्पतालसँगको सहकार्यमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ।

उक्त केन्द्रले रोग निगरानी तथा पहिचान, रोग रोकथाम, प्राथमिक स्वास्थ्य सचेतना तथा संस्थागत क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ। साथै बाढी तथा अन्य प्राकृतिक विपद्पछि देखिन सक्ने संक्रामक रोग र सम्भावित महामारीको जोखिमप्रति तयारी तथा प्रतिकार्य क्षमता सुदृढ गर्ने लक्ष्य राखिएको छ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले प्रभावित परिवारको जीवन रक्षा र आधारभूत आवश्यकताको सुनिश्चितता तत्काल प्राथमिकतामा रहेको बताएका छन्।

उनले भने, “हाम्रो तत्काल प्राथमिकता जीवनको रक्षा गर्नु र प्रभावित परिवारलाई खाद्यान्न, आश्रय, स्वास्थ्य सेवा तथा सम्मानजनक जीवनका आधारभूत सुविधा सुनिश्चित गर्नु हो। तर हाम्रो जिम्मेवारी आपत्कालीन राहतमा मात्र सीमित हुनुहुँदैन। चौधरी फाउन्डेसन र नबिल बैंकबीचको यस साझेदारीमार्फत उद्धार र राहतदेखि अस्थायी आवास, स्थायी पुनःस्थापना तथा सुदृढ सार्वजनिक स्वास्थ्य तयारीसम्मको सम्पूर्ण यात्रामा हामी प्रतिबद्ध छौं।”

कार्यक्रम कार्यान्वयनका क्रममा चौधरी फाउन्डेसन र नबिल बैंकले नेपाल सरकार, स्थानीय प्रशासन, सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँग नजिकको समन्वय गर्ने जनाएका छन्।

सहायता सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका परिवारसम्म पारदर्शी, प्रभावकारी र व्यवस्थित रूपमा पुर्‍याउने उद्देश्य रहेको संस्थाहरूले बताएका छन्।

चौधरी फाउन्डेसन र नबिल बैंकले यस पहललाई राष्ट्रिय संकटका बेला नेपाली समुदायको साथमा उभिने आफ्नो साझा प्रतिबद्धताको निरन्तरताका रूपमा लिएका छन्। राहतबाट पुनःस्थापनासम्मको बहुचरणीय कार्यक्रममार्फत प्रभावित समुदायलाई तत्काल संकटबाट उकास्नुका साथै भविष्यमा आउने सम्भावित विपद्प्रति अझ सुरक्षित, स्वस्थ र सक्षम बनाउन योगदान गर्ने उनीहरूको भनाइ छ।

यसैबीच, संस्थाहरूले प्रभावित नागरिकको उद्धार तथा तत्काल राहतका लागि नेपाल सरकारले चालेका पहलप्रति आभार व्यक्त गरेका छन्। कठिन परिस्थितिमा सरकारले देखाएको प्रतिबद्धता, तयारी र समन्वयको पनि चौधरी फाउन्डेसन र नबिल बैंकले प्रशंसा गरेका छन्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया