राष्ट्रिय पिडामा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साथ, बाढीपीडितका लागि ४ करोड १ लाख सहयोग
- BFIS News
- 2026 Aug 30 11:37
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षति र त्यसबाट प्रभावित नागरिकको दैनिक जीवनलाई मध्यनजर गर्दै बैंकले राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहँदा विस्थापित नागरिकलाई राहत, अस्थायी बसोबास तथा पुनःस्थापनाको आवश्यकता बढिरहेको अवस्थामा बैंकले सरकारी कोषमार्फत सहयोग उपलब्ध गराएको हो। बैंकले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धतासमेत जनाएको छ।
बैंकका अनुसार खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायलाई सहयोग पुर्याउने मानवीय उद्देश्यका साथ उक्त आर्थिक सहयोग गरिएको हो। यस सहयोगमार्फत विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने बैंकको विश्वास छ।
बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, हालसम्म सम्पर्कमा नआएका व्यक्तिको सकुशल उद्धार तथा घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
४ करोड १ लाख रुपैयाँको सहयोगसहित नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बाढीपीडितका लागि ठूलो आर्थिक सहायता उपलब्ध गराउने वाणिज्य बैंकमध्ये अग्रणी सहयोग गरेको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया