भोटेकोशी–त्रिशूली बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन
- BFIS News
- 2026 Aug 30 11:06
काठमाडौं । तिब्बत क्षेत्रबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान ९ बजेसम्म विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा बढी मानवीय क्षति चितवनमा भएको छ। चितवनमा २५९ जनाको शव फेला परेको छ भने नवलपरासी पूर्वमा १८४ जनाको शव भेटिएको छ। त्यसैगरी नवलपरासी पश्चिममा ८२, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६, रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।
२ हजार ४९८ जना अझै सम्पर्कविहीन
बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ। उद्धार तथा खोजी कार्य जारी रहे पनि ठूलो संख्यामा नागरिक, सुरक्षाकर्मी, कर्मचारी तथा विदेशी नागरिकको अवस्था अझै अज्ञात रहेको प्राधिकरणले जनाएको छ।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २७ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बलका १३ जना, भन्सार कार्यालयका १५ जना तथा अध्यागमन कार्यालयका चार जना रहेका छन्।
त्यस्तै, रसुवाका ५६२ जना र नुवाकोटका ११५ जना सम्पर्कविहीन छन्। विभिन्न जलविद्युत् आयोजनाबाट ९३३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।
यसैगरी मकवानपुरका ६५ जना, ५९८ जना विदेशी नागरिक, विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली नागरिक तथा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रबाट तीन जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
२४२ जना घाइते, प्रभावित क्षेत्रमा मेडिकल टोली परिचालन
बाढीमा परी हालसम्म २४२ जना घाइते भएका छन्। घाइतेहरूको उपचार तथा प्रभावित क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सर्जिकल र मेडिकल टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार तथा राहत वितरणलाई तीव्र बनाइएको छ।
८ हजार १८६ जनाको उद्धार
प्राधिकरणका अनुसार हालसम्म विभिन्न स्थानबाट ८ हजार १८६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाले २ हजार ९७४ जना, नेपाल प्रहरीले २ हजार ६९९ जना र सशस्त्र प्रहरी बलले २ हजार ५१३ जनाको उद्धार गरेको छ।
जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको समेत हेलिकप्टरमार्फत उद्धार गरिएको छ। भदौ १२ गते १९१ जना र भदौ १३ गते ८८ जना गरी कुल २७९ जनालाई सुरुङबाट हेलिकप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
त्यस्तै, हालसम्म २२७ जना विदेशी नागरिकलाई पनि हेलिकप्टरमार्फत सुरक्षित स्थानमा उद्धार गरिएको छ।
पहिचान नखुलेका शव २१ अस्पतालमा
बाढीबाट मृत्यु भएकामध्ये पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ। शवहरूको पहिचान तथा व्यवस्थापनका लागि सम्बन्धित निकायहरूले प्रक्रिया अगाडि बढाइरहेका छन्।
खोज तथा उद्धारमा करिब २० हजार सुरक्षाकर्मी परिचालन
आइतबार बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ७ हजार २९३ जना, नेपाली सेनाका ८ हजार ३९९ जना र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना गरी कुल १९ हजार ८९५ जना सुरक्षाकर्मी खोज, उद्धार तथा राहत व्यवस्थापनमा खटिएका छन्।
बाढी प्रभावित क्षेत्रमा अझै पनि ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया