प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोडभन्दा बढी सहयोग
- BFIS News
- 2026 Aug 30 21:03
काठमाडौँ । चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २० लाख अमेरिकी डलर अर्थात् झन्डै साढे ३० करोड नेपाली रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे।
यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसको तर्फबाट उपलब्ध गराइएको २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोग पनि हस्तान्तरण गरे।
राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल विपत्तिका कारण नेपाल र चीन दुवै मुलुक प्रभावित भएको उल्लेख गर्दै यस संकटको सामना दुई देशले मिलेर गर्ने बताए।
नेपालले भोगिरहेको विपत्तिमा चीन सधैँ साथमा रहेको सन्देश चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको उल्लेख गर्दै उनले चीन सरकारले उपलब्ध गराएका अन्य सहायता सामग्री पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए।
राजदूत माओमिङका अनुसार आइतबार मात्रै चीनबाट आएका दुई वटा जहाजले करिब ५० टन सहायता सामग्री काठमाडौँ पुर्याएका छन्। ती सामग्रीमा टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट तथा बिस्कुटलगायतका सामग्री रहेका छन्। उनले नेपाललाई थप मानवीय सहायता निरन्तर उपलब्ध गराइने बताए।
रसुवामा आएको बाढीका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरोला नाका हुँदै नेपाल फर्काउन पहल भइरहेको जानकारी पनि राजदूत माओमिङले अर्थमन्त्रीलाई दिए।
त्यस्तै, जलविद्युत् कम्पनीको सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति शनिबार नै नेपाल आइपुगेको उनले जानकारी दिए। थप दक्ष उद्धार प्राविधिकहरू पनि आइतबार नेपाल आइपुगेको राजदूत माओमिङले बताए।
नेपाल सरकारले उद्धार कार्यका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल पठाउन चीन सरकारले तीव्र गतिमा काम गरिरहेको जानकारी पनि उनले दिए।
नेपाल सरकारको तर्फबाट चीन सरकारको सहायता रकम ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले अकल्पनीय विपत्तिबाट गुज्रिरहेको नेपाललाई चीन सरकारले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
विपत्तिका कारण नेपाल र चीन दुवै मुलुकले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले चीनले भोगेको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख व्यक्त गरे। अर्थमन्त्री वाग्लेले बाढीका कारण ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे।
विश्वव्यापी तापक्रम वृद्धिको विनाशकारी असर सबैभन्दा बढी हिमालय क्षेत्रका मुलुकहरूले व्यहोर्नुपर्ने अवस्था देखिन थालेको उल्लेख गर्दै उनले जलवायुजन्य विपत्तिको सामना गर्न नेपाल र चीनबीच थप सहकार्य तथा हातेमालो आवश्यक रहेको बताए।
यसपटकको बाढीबाट नेपालले व्यहोरेको ठूलो क्षतिको पुनर्निर्माण तथा पुनःस्थापनामा चीनबाट महत्वपूर्ण सहयोगको अपेक्षा गरिएको पनि अर्थमन्त्री वाग्लेले बताए।
सहायता हस्तान्तरण कार्यक्रमपछि अर्थमन्त्रीको कार्यकक्षमा अर्थमन्त्री डा. वाग्ले र चिनियाँ राजदूत झाङ माओमिङले बाढीका कारण ज्यान गुमाएका नेपाल तथा चीनका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारणसमेत गरेका थिए।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया