८६ दिनका लागि २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक
- BFIS News
- 2026 Aug 31 11:04
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त रकम संकलन गर्न लागेको हो।
राष्ट्र बैंकले आइतबार प्रकाशित सूचना अनुसार ८६ दिन अवधिका लागि बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलन गर्न लागेको जनाएको छ। निक्षेप संकलनका लागि बोलकबोल आज भदौ १५ गते अपराह्न ३ बजे अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ।
बोलकबोल प्रक्रियाबाट निक्षेपको ब्याजदर निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्नुपर्नेछ भने कुल निष्कासन रकमको सीमाभित्र ५ करोड रुपैयाँले भाग जाने गरी अधिकतम रकम प्रस्ताव गर्न सकिनेछ।
बैंक तथा वित्तीय संस्थाले कुल निष्कासन रकमको सीमाभित्र एकभन्दा बढी बोलपत्रसमेत पेश गर्न सक्नेछन्।
राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकले यसरी संकलन गरेको निक्षेपको साँवा तथा बोलकबोलबाट निर्धारण भएको ब्याज रकम आगामी मंसिर ९ गते भुक्तानी गर्ने जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया