रसुवा बाढीबाट १६ बैंक शाखा प्रभावित, राष्ट्र बैंकले सीईओसँग गर्यो छलफल
- BFIS News
- 2026 Aug 31 22:41
काठमाडौं। रसुवा जिल्लामा आएको विनाशकारी बाढीले बैंक तथा वित्तीय संस्थाको पूर्वाधार, सेवा प्रवाह तथा कर्जा–निक्षेप कारोबारमा पारेको प्रभावबारे नेपाल राष्ट्र बैंकले प्रभावित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल तथा डेपुटी गभर्नर किरण पण्डित र दीर्घबहादुर रावलले सोमबार बाढी प्रभावित क्षेत्रमा सेवा सञ्चालन गर्दै आएका बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग प्रत्यक्ष संवाद गरेका हुन्।
छलफलमा बाढीपछि बैंक शाखाको भौतिक अवस्था, कर्मचारीको सुरक्षा, सेवा सञ्चालनको वर्तमान स्थिति तथा प्रभावित क्षेत्रमा बैंकिङ सेवा पुनः सुचारु गर्ने उपायबारे जानकारी लिइएको थियो।
नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको नेतृत्वमा सहभागी बैंकका प्रतिनिधिहरूले बाढीबाट भएको क्षति तथा बैंकिङ कारोबारमा परेको प्रभावबारे राष्ट्र बैंकसमक्ष जानकारी गराएका थिए। छलफलमा प्रभावित १२ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी थिए।
बाढीका कारण केरुङ, टिमुरे, स्याफ्रुबेंसी, वेत्रावती, मैलुङ, देविघाट र त्रिशूली क्षेत्रमा सञ्चालित बैंकका १६ वटा शाखा कार्यालयमा प्रत्यक्ष क्षति पुगेको छ। कतिपय शाखाका भवन तथा संरचना क्षतिग्रस्त भएका छन् भने बैंकिङ सामग्रीसमेत बाढीले बगाएपछि नियमित सेवा सञ्चालनमा समस्या देखिएको छ।
छलफलमा सहभागी बैंकहरूले आफ्ना कर्मचारीको अवस्थाका साथै उद्धार तथा राहतका क्रममा गरिएका गतिविधिबारे पनि राष्ट्र बैंकको टोलीलाई जानकारी गराएका थिए। शाखा सञ्चालन प्रभावित भएपछि ग्राहकलाई निरन्तर बैंकिङ सेवा उपलब्ध गराउन देखिएका कठिनाइ तथा तत्काल अपनाउनुपर्ने वैकल्पिक उपायबारे समेत छलफल भएको थियो।
प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रमा बैंकहरूको करिब २ अर्ब ५० करोड रुपैयाँ बराबरको कर्जा लगानी रहेको छ भने झन्डै ४ अर्ब रुपैयाँ निक्षेप रहेको छ। बैंकका भल्टमा रहेको करिब १५ करोड रुपैयाँसमेत बाढीको चपेटामा परेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
उक्त क्षेत्रमा बैंकहरूले सर्वसाधारणतर्फ करिब २ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। त्यस्तै, सो क्षेत्रका जलविद्युत् आयोजनामा बैंकिङ क्षेत्रको लगानी करिब ७ अर्ब रुपैयाँ पुगेको छ।
विपद्पछि निक्षेप व्यवस्थापन, कर्जा असुली तथा नयाँ कर्जा लगानीमा पर्न सक्ने प्रभावका विषयमा पनि राष्ट्र बैंक र बैंकरबीच विचार आदानप्रदान भएको थियो। विशेषगरी प्रभावित ऋणीको कर्जा भुक्तानी क्षमता, बैंकिङ सम्पत्तिको सुरक्षा तथा वित्तीय कारोबारको निरन्तरताका विषयमा बैंकहरूले भोग्न सक्ने चुनौतीबारे छलफल केन्द्रित रहेको थियो।
बाढी प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तर सञ्चालन गर्न सम्भावित वैकल्पिक व्यवस्था, ग्राहकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उपाय तथा क्षतिग्रस्त शाखालाई पुनः सञ्चालनमा ल्याउने विषयमा नियामकीय तहबाट आवश्यक सहजीकरण गर्ने संकेत राष्ट्र बैंकले दिएको छ।
छलफलमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सिटिजन्स बैंकका गणेशराज पोखरेल, ग्लोबल आइएमई बैंकका सुरेन्द्र रेग्मी, हिमालयन बैंकका अशोक राणा, लक्ष्मी सनराइज बैंकका अजयविक्रम राणा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला, नबिल बैंकका मनोज ज्ञवाली, एनआईसी एशिया बैंकका सुजित शाक्य, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ज्योतिप्रकाश पाण्डे, एनएमबी बैंकका गोविन्द घिमिरे, प्रभु बैंकका सुमन शर्मा तथा सानिमा बैंकका पवन आचार्य सहभागी थिए।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया