NIMB Header 2
Nepal Life

ब्रिक्स सम्मेलनले नयाँ दिल्लीमा विलासी गाडीदेखि होटलसम्मको माग बढायो, सुरक्षा कडाइसँगै जनजीवन प्रभावित

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 11 15:05
ब्रिक्स सम्मेलनले नयाँ दिल्लीमा विलासी गाडीदेखि होटलसम्मको माग बढायो, सुरक्षा कडाइसँगै जनजीवन प्रभावित
United Ajod

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा सेप्टेम्बर १२ र १३ मा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनका कारण सुरक्षा व्यवस्था कडा बनाइएको छ भने विदेशी पाहुनाका लागि आवास तथा यातायात व्यवस्थापनमा ठूलो माग सिर्जना भएको छ।

Nepal Life
NIMB

राष्ट्रप्रमुख, मन्त्री, कूटनीतिज्ञ तथा उच्चपदस्थ प्रतिनिधिको आवागमनका लागि मर्सिडिज, बीएमडब्ल्यू, अडी र टोयोटा भेलफायरलगायत विलासी सवारीसाधनको माग बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सम्मेलनमा ११ सदस्य राष्ट्रका नेतासहित १० साझेदार राष्ट्रका प्रतिनिधि सहभागी हुने तयारी छ। ठूलो संख्यामा विदेशी प्रतिनिधि आउने भएपछि दिल्लीका होटल, यातायात, सुरक्षा तथा खानपान सेवामा चाप बढेको छ।

करिब ५०० विलासी गाडी परिचालनको तयारी

सम्मेलनका लागि करिब ५०० वटा विलासी तथा उच्चस्तरीय सवारीसाधन परिचालन गर्ने तयारी गरिएको छ। मागअनुसार दिल्लीमा पर्याप्त गाडी उपलब्ध नभएपछि अन्य राज्यबाट समेत महँगो भाडा तिरेर सवारीसाधन ल्याउने क्रम बढेको बताइएको छ।

विदेशी राष्ट्रप्रमुख तथा उच्चपदस्थ प्रतिनिधिको आवागमनका लागि विशेष सुरक्षा मापदण्डअनुसार सवारी व्यवस्थापन गरिने भएको छ।

पाँचतारे होटलमा कोठाको भाडा उच्च

ब्रिक्स सम्मेलनका कारण सेन्ट्रल दिल्लीका १२ देखि १५ वटा प्रिमियम पाँचतारे होटलमा विदेशी पाहुनाका लागि करिब ३ हजार ५०० कोठा बुक गरिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आईटीसी मौर्यामा, चिनियाँ राष्ट्रपति सी जिनपिङ ताज प्यालेसमा, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा द ललितमा र इरानी राष्ट्रपति मसुद पेजेस्कियान द ओबेरोयमा बस्ने तयारी रहेको समाचारमा उल्लेख छ।

त्यस्तै, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी शेराटन, यूएईका क्राउन प्रिन्स खालिद बिन मोहम्मद अल नाह्यान द लीला प्यालेस तथा ब्राजिलका विदेशमन्त्री माउरो भिएरा द इम्पेरियलमा बस्ने बताइएको छ।

माग बढेसँगै केही विलासी होटलका कोठाको एक रातको शुल्क १४ लाख भारतीय रुपैयाँसम्म पुगेको र केही प्रमुख होटलमा सामान्य कोठाको भाडासमेत २ लाख रुपैयाँभन्दा बढी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

३५ भन्दा बढी सडकमा आवागमन प्रतिबन्ध

सम्मेलनलाई लक्षित गरी दिल्लीमा सडक आवागमनमा व्यापक प्रतिबन्ध लगाइएको छ। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्मेलनस्थल भारत मण्डपमसम्मका ३५ भन्दा बढी प्रमुख सडकमा ट्राफिक व्यवस्थापनका लागि प्रतिबन्ध तथा मार्ग परिवर्तन गरिएको छ।

कनाट प्लेस, पटेल चोकलगायत २२ स्थानमा सवारीसाधनको रुट परिवर्तन गरिएको छ। सम्मेलन अवधिमा महत्वपूर्ण होटल तथा कार्यक्रमस्थल आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

सरकारी कार्यालय, विद्यालय र अदालत बन्द

सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै सेप्टेम्बर ११ देखि १३ सम्म दिल्लीका सरकारी कार्यालय, विद्यालय र अदालत बन्द रहने व्यवस्था गरिएको छ।

सम्मेलनका क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। विभिन्न विवरणअनुसार २५ हजारदेखि ३० हजारसम्म सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ।

त्यस्तै, सेप्टेम्बर ११ देखि १३ सम्म दिल्लीको ३०० किलोमिटर क्षेत्रभित्र साना विमान तथा यूएभी उडानमा प्रतिबन्ध लगाइएको छ। १०० किलोमिटरको दायरामा ड्रोन, प्याराग्लाइडर तथा अन्य साना हवाई उपकरण सञ्चालनमा समेत रोक लगाइएको छ।

ब्रिक्समा ११ सदस्य राष्ट्र

ब्रिक्सको स्थापना ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाले गरेका थिए। पछि इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स सदस्य बनेका छन्। सम्मेलनमा सदस्य राष्ट्रसँगै साझेदार मुलुकका प्रतिनिधिको सहभागिता रहनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया