निर्माण लागत १.९४ प्रतिशतले बढ्यो, बिजुलीको तार र इँटाको मूल्यमा ठूलो वृद्धि
- BFIS News
- 2026 Sep 09 13:48
काठमाडौं । निर्माण सामग्रीको मूल्य र श्रमिकको ज्यालादर बढेसँगै नेपालमा निर्माण कार्यको लागत पनि उकालो लागेको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा निर्माण सामग्री मूल्य सूचकाङ्क वार्षिक औसतमा १.९४ प्रतिशतले बढेको छ।
कार्यालयले सार्वजनिक गरेको चौथो त्रैमासिकको ‘निर्माण सामग्री मूल्य सूचकाङ्क’ अनुसार आधार वर्ष २०७१/७२ लाई १०० मान्दा समग्र सूचकाङ्क आव २०८२/८३ मा १५५.६ अंक पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो सूचकाङ्क १५२.६ अंक थियो।
चौथो त्रैमासिक अर्थात् असार मसान्तको तथ्याङ्कलाई अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा निर्माण लागत सूचकाङ्क ३.८६ प्रतिशतले बढेको छ। अघिल्लो त्रैमासिकको तुलनामा भने सूचकाङ्क १.७८ प्रतिशतले उकालो लागेको छ।
बिजुलीको तार र इँटाको मूल्यमा उच्च वृद्धि
निर्माण लागतमा ७०.५० प्रतिशत भार रहेको निर्माण सामग्रीको वार्षिक औसत मूल्य सूचकाङ्क १.३४ प्रतिशतले बढेको छ। सामग्रीमध्ये बिजुलीको तारको मूल्यमा सबैभन्दा ठूलो वृद्धि भएको छ।
बिजुलीको तारको वार्षिक औसत मूल्य अघिल्लो आर्थिक वर्षको तुलनामा २१.६५ प्रतिशतले बढेको छ। चौथो त्रैमासिकमा अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा यसको मूल्यवृद्धि ३४.३६ प्रतिशत पुगेको छ।
त्यस्तै, इँटाको वार्षिक औसत मूल्य ९.२० प्रतिशतले बढेको छ। चौथो त्रैमासिकमा वार्षिक बिन्दुगत आधारमा इँटाको मूल्य १७.९४ प्रतिशतले वृद्धि भएको छ।
सिमेन्टको वार्षिक औसत मूल्य ४.६० प्रतिशतले बढ्दा गिट्टी, ढुङ्गा तथा कङ्क्रिट समूहको मूल्य ३.९९ प्रतिशतले बढेको छ। जीआई पाइप तथा त्यससँग सम्बन्धित सामग्रीको मूल्यमा ५.७६ प्रतिशतको वार्षिक वृद्धि देखिएको छ। सडक निर्माणमा प्रयोग हुने बिटुमिनको चौथो त्रैमासिकमा वार्षिक बिन्दुगत मूल्यवृद्धि ११.४३ प्रतिशत रहेको छ।
ह्युम पाइप, काठ र फलामे छड सस्तिए
केही निर्माण सामग्रीको मूल्य भने घटेको छ। ह्युम पाइपको वार्षिक औसत मूल्य सबैभन्दा धेरै १२.२९ प्रतिशतले घटेको छ।
त्यसैगरी, काठको मूल्य ६.९३ प्रतिशत र फलामे छडको वार्षिक औसत मूल्य २.५९ प्रतिशतले घटेको तथ्याङ्क कार्यालयले जनाएको छ।
श्रमिकको ज्यालादर २.९२ प्रतिशत बढ्यो
निर्माण लागतमा २९.५० प्रतिशत भार रहेको मानव संशाधनतर्फको वार्षिक औसत ज्यालादर सूचकाङ्क २.९२ प्रतिशतले बढेर २०२.७ अंक पुगेको छ।
श्रमिकमध्ये पेन्टरको ज्यालादर सबैभन्दा धेरै ५.०५ प्रतिशतले बढेको छ। सब–इन्जिनियरको ज्याला ३.८५ प्रतिशत, सुपरभाइजरको ३.४५ प्रतिशत र इन्जिनियरको २.५७ प्रतिशतले वृद्धि भएको छ।
यसैगरी, सामान्य श्रमिकको ज्यालादर ३.१२ प्रतिशत, डकर्मी/मेसनको २.५० प्रतिशत, सिकर्मीको २.३२ प्रतिशत र इलेक्ट्रिसियनको २.०९ प्रतिशतले बढेको तथ्याङ्कमा उल्लेख छ।
निर्माण सामग्रीको मूल्य र श्रमिकको ज्यालादरमा आएको परिवर्तनले आवासीय भवनदेखि सार्वजनिक पूर्वाधारसम्मका निर्माण आयोजनाको लागतमा प्रभाव पार्ने राष्ट्रिय तथ्याङ्क कार्यालयको निष्कर्ष छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया