NIMB Header 2
Nepal Life

सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 11 15:21
सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय
United Ajod

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले सम्हाल्ने भएका छन्। सिबिफिनको कार्यसमितिले आगामी वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन नभएसम्मका लागि उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

Nepal Life
NIMB

सिबिफिनका निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समिति अध्यक्ष पदबाट राजीनामा दिएपछि परिसंघको अध्यक्ष पद रिक्त भएको थियो। त्यसपछि २०८३ भदौ २५ गते बसेको सिबिफिन कार्यसमिति बैठकले उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरेको हो।

महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत रहेका उपाध्याय बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि सक्रिय छन्। उनले सिबिफिनको स्थापनाकालदेखि नै कार्यसमितिमा विभिन्न जिम्मेवारी सम्हाल्दै संस्थाको संस्थागत विकास र सुदृढीकरणमा योगदान दिँदै आएका छन्।

विभिन्न बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा नेतृत्वदायी भूमिकामा काम गरेको अनुभव रहेका उपाध्यायलाई वित्तीय क्षेत्रका नीतिगत तथा व्यावहारिक विषयमा अनुभव भएका व्यवसायीका रूपमा लिइन्छ। उनको नेतृत्वमा परिसंघले बैंकिङ क्षेत्रका समसामयिक चुनौती, नीतिगत विषय तथा निजी क्षेत्रका सरोकारलाई थप प्रभावकारी रूपमा उठान गर्ने अपेक्षा गरिएको छ।

हालको चुनौतीपूर्ण आर्थिक परिवेशमा बैंकिङ क्षेत्रले नीतिगत, सञ्चालनगत तथा व्यावसायिक तहमा विभिन्न समस्या सामना गरिरहेको अवस्थामा सिबिफिनको नेतृत्व परिवर्तन भएको हो। आगामी साधारणसभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म उपाध्यायले परिसंघको कार्यवाहक अध्यक्षका रूपमा संस्थाको नेतृत्व गर्नेछन्।

उनको समन्वयकारी र रणनीतिक भूमिकाबाट बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता तथा दिगो विकाससँग सम्बन्धित विषयलाई थप प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया