नेशनल लाइफद्धारा उत्कृष्ट अभिकर्तालाई सम्मान सँगै सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण प्रदान
- BFIS News
- 2026 Sep 21 16:38
काठमाडौ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै सम्पत्ति शुद्धीकरण, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ।
आर्थिक वर्ष २०८२/८३ को लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ता, कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीसहित ५६५ जनाको सहभागितामा भैरहवास्थित होटल सिद्धार्थ भिलासामा दुई रात तीन दिनसम्म वार्षिक चेयरपर्सन क्लब कार्यक्रम आयोजना गरिएको हो।
भोटेकोशीमा आएको भीषण बाढी तथा त्यसबाट उत्पन्न प्राकृतिक विपद्का कारण घाइते तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तथा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम एक मिनेट मौनधारणबाट सुरु गरिएको थियो।
कार्यक्रमको औपचारिक उद्घाटन कम्पनीकी चेयरपर्सन प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरेर गरेकी थिइन्। उद्घाटन मन्तव्यमा सिंहले अभिकर्तालाई कम्पनीको मेरुदण्डका रूपमा व्यावसायिक, दक्ष र सक्षम बनाउन सीप तथा क्षमता विकासमा कम्पनीले निरन्तर सहयोग र सहकार्य गर्ने बताइन्। अभिकर्ता सञ्जालमा नेतृत्व विकास महत्वपूर्ण भएकाले यस क्षेत्रमा कम्पनीले आवश्यक लगानी गर्ने प्रतिबद्धता पनि उनले जनाइन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आर्थिक वर्ष २०८२/८३ मा हासिल भएको ऐतिहासिक व्यावसायिक उपलब्धि नेशनल लाइफ परिवारको सामूहिक सफलता भएको बताए। नयाँ आर्थिक वर्षसँगै कम्पनी स्पष्ट लक्ष्य, मापनयोग्य रणनीति र उच्च पेशागत प्रतिबद्धताका साथ अघि बढिरहेको भन्दै अभिकर्ता सञ्जाललाई थप मजबुत बनाउने र ग्राहक सेवाको गुणस्तर सुधारमा कम्पनीले जोड दिएको उनले बताए।
उत्कृष्ट अभिकर्तालाई विशेष सम्मान
कार्यक्रममा चेयरपर्सन क्लब सदस्यता वितरणसँगै विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गरिएको थियो। सञ्जाल तथा व्यक्तिगत कोडको व्यवसायमा नेपालभर प्रथम, द्वितीय र तृतीय हुने तथा समूहगत व्यवसायमा प्रथम हुने अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै, सेन्चुरियन क्लब, नेशनल स्टार, नेशनल सुपरस्टार तथा लगातार १० वर्षसम्म चेयरपर्सन क्लबमा छनोट हुन सफल अभिकर्तासहित व्यक्तिगत कोड र सञ्जाल व्यवसायमा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्तालाई चेयरपर्सन सिंहले विशेष सम्मान गरेकी थिइन्।
अभिकर्तालाई एआईदेखि सम्पत्ति शुद्धीकरणसम्मको प्रशिक्षण
कार्यक्रममा सहभागी अभिकर्ताको ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि विभिन्न विषयमा प्रशिक्षणसमेत प्रदान गरिएको थियो।
नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद साडारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिएका थिए। बीमालाई समेत माध्यम बनाएर सम्पत्ति शुद्धीकरणका गतिविधि हुन सक्ने भएकाले शंकास्पद गतिविधिको सूक्ष्म निगरानी, आवश्यक पहिचान तथा प्रचलित कानुनी व्यवस्थाको पालना गर्न बीमा व्यवसायमा संलग्न सबै पक्ष सचेत रहनुपर्ने उनले बताए।
प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी प्रशिक्षण दिएका थिए। विभिन्न प्रयोगात्मक उदाहरण प्रस्तुत गर्दै उनले एआईलाई बीमा व्यवसायसँग जोड्ने तरिकाबारे जानकारी दिएका थिए। ग्राहकसँगको सम्पर्क, सामग्री निर्माण, व्यावसायिक योजना तथा सूचना व्यवस्थापनलगायतका क्षेत्रमा एआईको उपयोग गर्न सकिने सम्भावनाबारे उनले प्रशिक्षण दिएका थिए।
त्यस्तै, प्रशिक्षक संजोग कोइरालाले डिजिटल मार्केटिङ तथा डिजिटल माध्यमको प्रयोगसम्बन्धी प्रशिक्षण दिएका थिए। डिजिटल माध्यमलाई प्रभावकारी रूपमा प्रयोग गर्न सके बीमा व्यवसाय विस्तारमा लाभ लिन सकिने भन्दै उनले डिजिटल प्लेटफर्म प्रयोग गर्दा प्रचलित कानुन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्नुपर्ने बताए।
डिजिटल माध्यमबाट सत्यतथ्य सूचना तथा स्वीकृत सामग्री मात्र सार्वजनिक गर्नुपर्ने र भ्रामक समाचार, गलत सूचना वा गलत भाष्य सिर्जना गर्ने गतिविधिबाट कानुनी जटिलता उत्पन्न हुन सक्ने भएकाले यसतर्फ विशेष सजग रहनुपर्ने उनले बताए।
कार्यक्रममा सम्मानित अभिकर्ताले चेयरपर्सन क्लबमा छनोट हुन वर्षभर निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट व्यावसायिक प्रदर्शन आवश्यक पर्ने बताए। वर्षभरको मेहनतपछि प्राप्त हुने सम्मानले आफ्नो परिश्रमलाई थप सार्थक बनाएको अनुभूति भएको उनीहरूको भनाइ थियो।
_1789987840.jpg)
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)



_1789987895.jpg)







प्रतिक्रिया