गाउँको कच्ची बाटोदेखि बीमाको शिखरसम्म: २१ वर्षमा गंगा शर्माको नेशनल लाइफमा ४२ सय बढी परिवारसँग जोडिएको एउटा असाधारण यात्रा
- BFIS News
- 2026 Sep 23 13:18
काठमाडौं। सफलता अरुको देखेर भन्दा पनि निरन्तरको मिहिनेत र परिश्रमबाट हासिल हुन्छ। अभिकर्ता जस्तो कठिन मानिने पेशाबाट हजारकौ मन जित्दै आफ्नो सम्पुर्ण जीवन समर्पित गर्न सक्नु आफैमा एउटा ठुलो उपलब्धी हो। यस्तै उपलब्धीको एउटा उदाहरण बर्दियाको बढैयाताल गाउँपालिका–२ मा जन्मिएकी गङ्गा कुमारी शर्माले नेशनल लाइफमा २१ वर्षदेखि सक्रिय रुपमा हजारौ बीमितलाई बीमाको दायरामा ल्याएर बनाएकी छिन्।
नेपालगञ्जलाई बसोबासको थलो बनाएकी र झापाको चन्द्रगढीमा विवाह गरेकी शर्माले स्नातक तहसम्मको अध्ययन पूरा गरेकी छन्। विद्यार्थी जीवनदेखि नै कामसँग उनको सम्बन्ध जोडिएको थियो। पढ्दै गर्दा गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गरिन्। मेडिकल कलेजमा पनि काम गरिन्। पत्रपत्रिकाका लागि रिपोर्टिङ तथा लेखनको प्रयाससमेत गरिन्।
पछि उनले केयर नेपालमा काम गरिन्। त्यसपछि विद्यालय शिक्षणतर्फ लागिन्। बीमा क्षेत्रमा प्रवेश गर्दा उनी सरकारी विद्यालयमा शिक्षिका थिइन्। माइती बर्दियामै भएकाले गाउँमै बसेर अध्यापन गरिरहेकी थिइन्। त्यससँगै स्थानीय तहका महिला विकास शाखाका कार्यक्रमहरूमा प्रशिक्षकका रूपमा पनि काम गर्थिन्। तर जीवनमा एउटा नयाँ जिम्मेवारी थपियो 'आमा' बन्ने जिम्मेवारी।
बच्चा हुर्काउँदै विद्यालयको जागिर र अन्य गतिविधि सम्हाल्न उनलाई समय व्यवस्थापन कठिन हुन थाल्यो। सीमित आम्दानीबाट भविष्यमा छोराछोरीको शिक्षा र परिवारका आवश्यकता पूरा गर्न थप आयस्रोतको विकल्प खोजिरहेकी थिइन्। त्यही बेला उनका बुवाका एक परिचितले उनलाई बीमा क्षेत्रमा आउन सुझाए। ‘तपाईं धेरै सक्रिय हुनुहुन्छ, स्कुलबाहेकको समय बीमा क्षेत्रमा प्रयोग गर्न सक्नुहुन्छ,’ उनको भनाइले शर्मालाई सोच्न बाध्य बनायो।

आफन्तको मृत्यु र बीमाप्रतिको पहिलो गहिरो बुझाइ
शर्माका नजिकका आफन्तमध्ये एक जनाको दुर्घटनामा मृत्यु भएको थियो। उनले बीमा गरेका रहेछन् र मृत्युपछि परिवारले बीमा दाबीबापत रकम प्राप्त गरेको थियो। त्यो घटनाले शर्मालाई बीमाको अर्थ केवल बचतभन्दा फराकिलो रहेछ भन्ने अनुभूति गरायो।
मानिसले आफ्नो परिवारका लागि जीवनभर मेहनत गर्छ। तर जीवनमा अप्रत्याशित घटना घट्यो भने परिवारलाई आर्थिक रूपमा कसले सम्हाल्छ? दुर्घटना वा मृत्युले आम्दानीको मुख्य स्रोत गुमेपछि परिवारमा पर्ने आर्थिक भार कसरी व्यवस्थापन हुन्छ? उनको मनमा यही प्रश्नले ठाउँ बनायो।
बीमा त्यही जोखिमको समयमा परिवारका लागि आर्थिक सुरक्षा बन्न सक्ने रहेछ भन्ने प्रत्यक्ष अनुभवले उनलाई बीमाप्रति आकर्षित गर्यो। त्यसपछि बीमा पेशामा प्रवेश गर्ने विचारले आकार लिन थाल्यो। तर प्रवेशको बाटो पनि सहज थिएन।
दुई घण्टाको तालिमका लागि गर्नु परेको संघर्ष
शर्माले सुरुमा एउटा जीवन बीमा कम्पनीमा जोडिने अवसर पाएकी थिइन्। तर गाउँमा बस्ने, बच्चा सानो हुने र विद्यालयको जिम्मेवारीका कारण आवश्यक तालिममा सहभागी हुन सकिनन्।
त्यही क्रममा उनको विद्यालयका एक कर्मचारीले आफ्ना बाबुको बीमा गराउन आग्रह गरे। शर्माले बीमाको पोलिसी त गरिन् नै, आफू पनि यो क्षेत्रमा काम गर्न इच्छुक रहेको बताइन्। त्यसपछि उनले आफ्ना शैक्षिक प्रमाणपत्रलगायत आवश्यक कागजात ती कर्मचारीलाई दिइन्। समय बित्दै गयो। तालिमहरू हुँदै गए। तर शर्माले समयमै खबर पाइनन्।
जब तालिमबारे जानकारी पाइन्, त्यतिबेला वर्षायाम थियो। गाउँबाट नेपालगञ्ज करिब २०–२२ किलोमिटर टाढा थियो। गाउँबाट मुख्य सडकसम्म पुग्न करिब पाँच किलोमिटर कच्ची बाटो पार गर्नुपर्थ्यो। उनीसँग त्यसबेला साइकल थियो।
विद्यालय बिहानको थियो। करिब पौने १२ बजे विद्यालय छुटेपछि उनी घर पुगिन्। सानो बच्चालाई दूध खुवाइन्, खाना खाइन् र हतारहतार तयार भइन्। बाहिर पानी परिरहेको थियो। आमाले पनि पानीमा नभिज्न र अर्को दिन जान सुझाइन्। तर शर्मालाई एउटै चिन्ता थियो ‘यो अवसर पनि छुट्यो भने?’
उनले रेनकोट लगाइन् र पानीमा भिज्दै साइकल चलाइन्। कच्ची र ग्राभेल बाटो पार गर्दै करिब पाँच किलोमिटर तल भोलागौडी पुगिन्। त्यहाँ साइकल राखिन् र गुलरियातिरबाट आउने स्थानीय बस चढेर नेपालगञ्जतर्फ लागिन्। तालिमस्थल पुग्दा दिउँसो करिब २ बजिसकेको थियो।
तालिममा करिब २७–२८ जना सहभागी थिए। ढिलो पुगेकाले उनलाई केही अप्ठ्यारो लाग्यो। तर उनी पछाडि बसेर तालिममा सहभागी भइन्।
करिब दुई घण्टा बसेपछि उनले प्रशिक्षकसँग आफ्नो परिस्थिति सुनाइन्। सानो बच्चा, विद्यालय, घर फर्किने बाटो र साँझ पर्ने समय यी सबै कारणले चार दिनको तालिममा नियमित आउन कठिन थियो।
उनले विकल्प पनि प्रस्ताव गरिन्, शुक्रबार विद्यालयबाट छुटेपछि सकेसम्म आउने र शनिबार पूरा समय दिने। प्रशिक्षकले सहमति जनाए। उनलाई ब्रोसर तथा अध्ययन सामग्री दिइयो। यसरी वर्षायामको कठिन समयलाई सामना गर्दै उनले बीमा पेशाको ढोका खोलेकी थिइन्।

गाउँबाट सुरु भएको बीमा यात्रा
त्यो समय करिब २०६२/६३ सालतिरको थियो। उनले विद्यालयको समय र पारिवारिक जिम्मेवारीबीच मिलाएर बीमा व्यवसाय अघि बढाउन थालिन्।
सुरुआतमा गाउँघरमै साना बीमा पोलिसी गराउने क्रम सुरु भयो। ५० हजार, १ लाख, २ लाख रुपैयाँका बीमा पोलिसीहरू उनका प्रारम्भिक व्यवसायका आधार बने।
उनका लागि बीमा बेच्नु भनेको केवल कागजमा हस्ताक्षर गराउनु थिएन। मानिसलाई थोरै–थोरै रकम बचत गर्न प्रेरित गर्नु पनि थियो।
त्यसैले उनले सुरुमा मासिक प्रिमियमबाट बीमा गराउन थालिन्। तर केही समयपछि मासिक प्रिमियम संकलन गर्न प्रत्येक महिना गाउँ–गाउँ पुग्नुपर्ने भयो। विद्यालयको जिम्मेवारीसँगै यो काम कठिन हुन थाल्यो। कम्पनीका व्यवस्थापकले पनि मासिक प्रिमियमभन्दा अर्धवार्षिक वा त्रैमासिक भुक्तानीतर्फ जान सुझाव दिए। त्यसपछि उनले ग्राहकको क्षमता र सुविधाअनुसार प्रिमियम भुक्तानीको ढाँचा मिलाउँदै गइन्। यसरी उनको व्यवसाय विस्तार हुँदै गयो।
‘बीमा बेच्नु मात्र ठूलो कुरा होइन’
विद्यालयमा अध्यापनसँगै बीमा व्यवसाय अघि बढाइरहेकी शर्माले २०७२ सालमा विद्यालयको जागिर छोडिन्। त्यसपछि बीमा नै उनको पूर्णकालीन पेशा बन्यो। उनको विचारमा बीमा क्षेत्रमा सफलता केवल नयाँ पोलिसी बिक्रीको संख्याले निर्धारण हुँदैन। ‘बीमा बेच्नु मात्र ठूलो कुरा होइन, सेवा पनि उत्तिकै ठूलो कुरा हो,’ भन्ने उनको मान्यता छ।
बीमा गराएपछि ग्राहकलाई पोलिसीका शर्त बुझाउने, प्रिमियम भुक्तानीमा सहजीकरण गर्ने, आवश्यक कागजातबारे जानकारी दिने र दाबी परेको अवस्थामा परिवारलाई प्रक्रियामा सहयोग गर्ने कामलाई उनले आफ्नो पेशागत जिम्मेवारीका रूपमा लिइन्।
विशेषगरी मृत्यु दाबीको समयमा परिवार मानसिक र आर्थिक रूपमा कठिन अवस्थामा हुन्छ। त्यस्तो अवस्थामा प्रक्रिया नबुझ्दा दाबी प्राप्त गर्न थप कठिनाइ हुन सक्छ। यस्तो समयमा उनि सबैभन्दा चनाखो भएर काम गर्छिन्। यही कारण उनले गाउँघरका ग्राहकलाई प्राथमिकता दिइन्।
गाउँमा काम गर्न सधैं सहज थिएन। कहिलेकाहीँ ग्राहक घरमा नभेटिँदा उनी साइकल लिएर खेतमै पुग्थिन्। यस्तो व्यवहार देखेर गाउँघरमा कतिपयले टिप्पणीसमेत गरे। ‘मेरो बाबाले कस्तो ठाउँमा छोरी दिनुभएछ’ भन्नेसम्मका कुरा सुन्नुपरेको उनी सम्झिन्छिन्। तर उनले ती कुरालाई आफ्नो बाटोको अवरोध बन्न दिइनन्।
गाउँका महिलाहरूबाट भने उनले उल्लेख्य साथ पाइन्। धेरै महिलाका लागि नेपालगञ्ज गएर बैंकमा नियमित रूपमा रकम जम्मा गर्नु सहज थिएन। घरमा पैसा जम्मा गरे पनि आकस्मिक आवश्यकतामा खर्च हुने सम्भावना उत्तिकै हुन्थ्यो। त्यसैले बीमालाई नियमित बचतको माध्यमका रूपमा धेरैले स्वीकार गरे। यही विश्वासले शर्माको बीमतको आधार विस्तार हुँदै गयो।

४ हजारभन्दा बढी परिवारसँग जोडिएको सम्बन्ध
करिब २१ वर्षको यस यात्रामा उनले लगभग ४२ सय भन्दा धेरैलाई बीमामा जोड्न सफल भइसकिन्। यो संख्या उनका लागि व्यवसायिक उपलब्धि मात्रै होइन। प्रत्येक पोलिसी पछाडि एउटा परिवार, आवश्यकता र विश्वास जोडिएको छ। त्यसैले उनी कसैलाई ‘बीमित’ मात्र भनेर हेर्दिनन्। उनका शब्दमा, बीमित उनका लागि भगवान्जस्तै हुन्। उनि भन्छिन् 'बीमा गराएर छोड्ने होइन, अप्ठ्यारो पर्दा साथ दिने जिम्मेवारी पनि हाम्रै हो।' यही सेवामुखी दृष्टिकोणले उनलाई आजसम्म निरन्तर अगाडि बढाइरहेको छ।
कम्पनीको नेपाल टपदेखि अन्तर्राष्ट्रिय यात्रासम्म
नेशनल लाइफमा शर्माले एकपटक नेपाल टपको उपलब्धि हासिल गरिसकेकी छन्। तीनपटक नेपाल दोस्रो र तीनपटक नेपाल तेस्रो स्थानमा रहिसकेको उनी बताउँछिन्। लामो समयदेखि उनी कम्पनीको टप टेनभित्र रहँदै आएकी छन्। कम्पनीको ‘चेयरपर्सन क्लब’ जस्ता सर्वाधिक सफलताका कार्यक्रममा सहभागिता जनाउने सौभाग्य उनले पाउदै आएकी छिन्।
कम्पनीका व्यवस्थापन तहका व्यक्तिहरूबाट निरन्तर हौसला र प्रोत्साहनले उनलाई सधै यस क्षेत्रमा लागिरहन अभिप्रेरित गर्ने उनि बताउछिन्। उनको दृष्टिमा यो उपलब्धि 'पैसा' कहिल्लयै केन्द्रमा रहेन। देशभर छरिएर रहेको सानो–सानो रकमलाई दीर्घकालीन बचतका रूपमा संकलन गरी बीमा कम्पनीमार्फत परिचालन गर्नु पनि अर्थतन्त्र र राष्ट्र निर्माणमा धेरै थोरै योगदान गर्न पाएकोमा उनि खुसी छिन्।
गाउँलाई प्राथमिकता, आवश्यकतालाई आधार
आज पनि शर्माको बीमा व्यवसायको एउटा महत्वपूर्ण आधार गाउँ समाज नै हो। सहरमा अवसर र वित्तीय सेवाको पहुँच तुलनात्मक रूपमा सहज भए पनि नेपालका ठूलो जनसंख्या ग्रामीण क्षेत्रमा बसोबास गर्छ। त्यसैले उनी गाउँका परिवारलाई बीमाको आवश्यकता बुझाउन प्राथमिकता दिन्छिन्।
उनको शैलीमा आक्रामक बिक्रीभन्दा आवश्यकता पहिचान महत्वपूर्ण छ। अहिले पनि उनलाई बीमितहरुले ‘अलिकति पैसा जम्मा गरेको छु, अब के गरौ?’ भनेर सोध्नेको संख्या कम छैन। यो केवल गाउँघरको परिवेशमा मात्रै सम्भव छ। “म उनीहरूको मान्छे भएर काम गर्छु,” उनी भन्छिन्, “म कुनै बीमा कम्पनीको मान्छे भएर काम गर्छु भन्ने फिलिङ नै हुँदैन।” यही सोचले उनको पेशागत यात्रालाई २१ वर्षदेखि निरन्तरता दिएको छ। बीमितको आवश्यकतालाई केन्द्रमा राखेर हिड्दा कहिल्यै असफल नभइने उनको अनुभव छ।
निरन्तर मेहनतको प्रतिफलले शर्माको व्यक्तिगत जीवनमा पनि परिवर्तन ल्याएको छ। आफ्ना छोराछोरीलाई आफूले चाहेको कलेजमा पढाउन सक्नु, घर र गाडी जोड्नुजस्ता पारिवारिक लक्ष्य पूरा गर्न सकेको उनी बताउँछिन्।
बीमा व्यवसायकै कारण उनले १२–१४ वटा देश भ्रमण गरिसकेकी छन्। युरोप दुईपटक पुगेकी छन्। भारत, श्रीलंका लगायतका देशमा अन्तर्राष्ट्रिय तालिममा सहभागी भएकी छन्। अर्थात् "गाउँबाट साइकल चढेर कच्ची बाटो हुँदै नेपालगञ्जको एउटा तालिममा पुगेकी महिला आज अन्तर्राष्ट्रिय प्रशिक्षण र सम्मेलनमा सहभागी हुने तहसम्म पुग्न सफल भएकी छिन्।" उनको यस सफलतामा श्रीमान तथा परिवारको साथ सहयोगले सबैभन्दा धेरै बल पुर्याएको छ। उनि परिवार प्रति सबैभन्दा धेरै आभारी छिन्।
यहि साथ सपोर्टबाटै उनि कम्पनीले एमडिआरटीको स्किम ल्याएदेखि नै लगातार एमडिआरटी बन्न सफल हुँदै आएकी छिन्। सिओटिसम्मका उपलब्धी हासिल गरिसकेकी शर्माले यस वर्षको एमडिआरटीको लक्ष्य अगस्ट २७ मै पुरा गरिसकिन्।

‘बीमितको दुःख–सुखमा साथ दिनुपर्छ’
शर्माका लागि बीमा अहिले केवल पेशा होइन, जिम्मेवारी बनेको छ। उनको बुझाइमा बीमा एउटा आर्थिक सुरक्षा हो, नियमित बचत हो र भविष्यमा आउन सक्ने जोखिमविरुद्ध परिवारलाई तयार बनाउने माध्यम पनि हो। तर बीमाको पहुँच विस्तारसँगै पेशागत मर्यादा र सेवाको गुणस्तर पनि उत्तिकै महत्वपूर्ण रहेको उनी मान्छिन्।
बीमा गराउने व्यक्तिलाई आवश्यक जानकारी नदिने, पोलिसी बनाएर मात्र छोडिदिने वा दाबी परेको समयमा पर्याप्त सहयोग नगर्ने प्रवृत्तिले अभिकर्ता पेशाप्रतिको विश्वास कमजोर हुन सक्ने उनको अनुभव छ।
बीमाको बदलिँदो समाज
२१ वर्षअघिको नेपालको बीमा बजार र अहिलेको बजारमा ठूलो परिवर्तन आएको शर्माको अनुभव छ। पहिले बीमा गराउन मानिसलाई सम्झाउनुपर्थ्यो। अहिले धेरै मानिस आफैं बीमा खोज्दै आउने अवस्था विकास हुँदै गएको उनको अनुभव छ।
ग्रामीणदेखि सहरी क्षेत्रसम्म बीमाको पहुँच विस्तार भएको छ। वित्तीय सचेतना बढेको छ। परिवारको भविष्य, बालबालिकाको शिक्षा र आर्थिक सुरक्षाका विषयमा मानिसको सोचमा परिवर्तन आएको छ। तर अझै पनि बीमालाई पूर्ण रूपमा पेशागत र सेवामुखी बनाउनुपर्ने आवश्यकता रहेको उनको धारणा छ। उनका लागि बीमा भनेको ‘आज पोलिसी बनाउने र भोलि बिर्सने’ व्यवसाय होइन। यो दीर्घकालीन सम्बन्ध हो। यो सम्बन्धको केन्द्रमा विश्वास छ। र त्यो विश्वासको केन्द्रमा बीमितको आवश्यकता छ।
अभिकर्ता पेशाले बदल्यो जीवन
समयसँगै उनको पेशा पनि बदलियो र जीवन पनि। तर एउटा कुरा बदलिएको छैन—कामप्रतिको निरन्तरता। आज हजारौँ परिवारसँग जोडिएकी शर्माको कथा बीमा उद्योगको एउटा अभिकर्ताको सफलताको कथा मात्र होइन। यो ग्रामीण महिलाको पेशागत सम्भावना, आत्मनिर्भरता, पारिवारिक जिम्मेवारी र सेवामार्फत बनाइएको विश्वासको कथा पनि हो। उनले बीमालाई जीवनको जोखिमबाट बचाउने आर्थिक उपकरणका रूपमा बुझिन्। त्यसलाई आफ्नो पेशा बनाइन्। र पेशालाई केवल आम्दानीको माध्यम नबनाई सम्बन्ध र सेवाको जिम्मेवारीमा रूपान्तरण गरिन्।
सायद यही कारण हो, बर्दियाको कच्ची बाटोमा पानीले भिज्दै नेपालगञ्जतर्फ साइकल चलाएकी ती महिला आज पनि बीमाको यात्रामा रोकिएकी छैनन्। उनको यात्रा अझै जारी छ।
२१ वर्षको यात्रामा बनेको सम्बन्ध
बर्दियाका विभिन्न ठाउँमा पुग्दा आफूलाई अपरिचित महसुस नहुने उनी बताउँछिन्। वर्षौँदेखि बीमितसँग जोडिँदै जाँदा बनेको सम्बन्धले उनलाई देशका विभिन्न ठाउँमा आफ्नै मान्छे भएको अनुभूति दिलाएको छ। “कहिलेकाहीँ नयाँ ठाउँमा जाँदा पनि कोही न कोही मलाई चिन्ने मान्छे हुन्छ,” उनी भन्छिन्, “त्यो चाहिँ कस्तो खुसी लाग्छ भन्या नि। मलाई धेरै मान्छेले चिन्छन् भन्ने फिल हुन्छ। म आफूलाई एकदम धनी महसुस गर्छु।” उनका लागि यही सम्बन्ध जीवनको ठूलो सम्पत्ति बनेको छ।
बीमा अभिकर्ताप्रति समाजमा कहिलेकाहीँ सुनिने आलोचनात्मक शब्दहरूले गङ्गाको पेशाप्रतिको दृष्टिकोण भने बदलिएको छैन। बरु उनी आफूलाई एउटा उद्देश्यसहितको बचत अभियानमा दौडिरहेको व्यक्तिका रूपमा परिभाषित गर्छिन्।
“म चाहिँ एउटा बचतको दौडानमा दौडिरहेको छु,” उनी भन्छिन्, “उहाँहरूलाई राम्रो सेवा दिन्छु। उहाँहरूको राम्रो बचत होस्, परिवारको सुरक्षा होस् भन्ने चाहन्छु।”
श्रीमान्–श्रीमतीको झगडा मिलाउनेदेखि बाउ–छोराको सम्बन्धसम्म
गङ्गाको बीमितसँगको सम्बन्ध पोलिसीमा मात्र सीमित छैन। वर्षौँदेखि एउटै परिवारसँग जोडिँदै जाँदा कतिपय अवस्थामा उनी परिवारका सदस्यजस्तै सल्लाहकार पनि बनेकी छन्। कहिलेकाहीँ श्रीमान्–श्रीमतीबीच विवाद हुँदा “म्याडम आएर सम्झाइदिनु न, तपाईंले भनेको कुरा मेरो श्रीमतीले सुन्छिन्” भन्ने अवस्था आउँछ। कतिपय अवस्थामा बाउ–छोराबीच कुरा नमिल्दा पनि उनलाई बोलाएर सम्झाइदिन आग्रह गरिन्छ। यसको कारण उनी आफ्नो सम्बन्धलाई कम्पनी र बीमितबीचको औपचारिक सम्बन्धका रूपमा मात्र नहेर्नु हो। “म उनीहरूको मान्छे भएर काम गर्छु,” उनी दोहोर्याउँछिन्।
उमेरअनुसारको साइनो गाँस्ने उनको आफ्नै शैली छ। ५५–६० वर्षका बीमितलाई दाजु भनेर सम्बोधन गर्ने र आफूलाई बहिनीका रूपमा स्वीकार गर्न आग्रह गर्ने उनको व्यवहारले सम्बन्धलाई सहज बनाउँछ। त्यही परिवारका बालबालिकाले उनलाई ‘फुपू’ भन्न थाल्छन्। उनका लागि यस्ता सम्बन्ध कुनै आर्थिक हिसाबमा मापन गर्न सकिने कुरा होइनन्। “मान्छे मरेर जाँदा केही लाने होइन,” उनी भन्छिन्, “जति सकिन्छ, सबैलाई राम्रै सोचेर काम गर्यो भने राम्रो हुँदो रहेछ।”
‘बीमितले के पाउँछ?’ पहिलो प्रश्न
बीमा व्यवसायमा अभिकर्ताले आफूलाई कति कमिसन आउँछ भन्ने हिसाब गर्नु स्वाभाविक हुन सक्छ। तर गङ्गाको प्राथमिकता भने त्यसभन्दा फरक छ। उनी बीमितका लागि कुन योजना उपयोगी हुन्छ भन्ने आधारमा पोलिसी सिफारिस गर्ने बताउँछिन्।
उनी विशेषगरी बचतमुखी योजनातर्फ बढी केन्द्रित छिन्। ‘बचत अमृत’ जस्ता योजनाहरू आफूले धेरै बिक्री गर्ने गरेको बताउँदै उनी बीमितले कम प्रिमियममा आफूलाई आवश्यक सुरक्षा र भविष्यमा अपेक्षित रकम प्राप्त गर्न सकून् भन्नेमा ध्यान दिने बताउँछिन्।
कतिपय साथीहरूले आफूलाई “यस्तो–यस्तो पोलिसी किन दिनुहुन्छ?” भनेर प्रश्न गर्ने गरेको उनी सुनाउँछिन्। तर उनको जवाफ स्पष्ट छ—बीमितको हितलाई प्राथमिकतामा राखेर निर्णय गर्ने। “मलाई के पाउँछु भन्नेसँग मतलब नै छैन,” उनी भन्छिन्, “मलाई नाम र काम चाहिन्छ।” उनको यही वाक्यले उनको पेशागत दर्शनलाई छोटकरीमा परिभाषित गर्छ।
बीमितको पैसा फिर्ता हुँदा बढेको विश्वास
गङ्गासँग २१ वर्षअघि जोडिएका कतिपय बीमितले अहिले आफ्नो पोलिसीको एक तहको लाभ वा म्याचुरिटी रकम प्राप्त गरिसकेका छन्। त्यसले नयाँ बीमा व्यवसायमा पनि विश्वास निर्माण गर्न सहयोग पुगेको उनको अनुभव छ।
पहिला लामो अवधिका लागि पैसा राख्दा साँच्चिकै प्रतिफल आउँछ कि आउँदैन भन्ने प्रश्न धेरैको मनमा हुने गरेको उनी सम्झिन्छिन्। तर पुराना बीमितले रकम प्राप्त गरेपछि उनीहरूमा बीमाप्रतिको विश्वास बढेको उनको अनुभव छ। आम्दानीका स्रोत विस्तार हुँदै गएपछि ठूलो बीमा गर्ने प्रवृत्ति पनि बढेको उनी बताउँछिन्।
तर रकम प्राप्त गर्ने क्रममा कर कट्टी हुँदा भने कतिपय बीमितको गुनासो आउने गरेको छ। उनीहरूलाई कम्पनीले रकम काटेको नभई सरकारले तोकेको कर भएको बुझाउने गरेको गङ्गा बताउँछिन्।
‘बीमा बेच्ने होइन, बुझाएर गर्ने’
बीमा क्षेत्रमा देखिएका विकृतिबारे गङ्गा पनि अनभिज्ञ छैनन्। उनका अनुसार वास्तविक सेवा र दीर्घकालीन सम्बन्धभन्दा तत्कालीन व्यवसायलाई प्राथमिकता दिने प्रवृत्तिले बीमाप्रतिको विश्वासमा असर पार्न सक्छ।
कतिपय अवस्थामा पुराना कम्पनीले दिएको बोनस बराबर नै प्रतिफल दिने भन्दै नयाँ पोलिसी बिक्री गर्ने गरेको पनि उनी सुनाउँछिन्। तर एउटै प्रकारको ऋण वा प्रतिफल गणनाको आधार भए पनि कम्पनीअनुसार बोनस दर फरक हुन सक्ने भएकाले बीमितले अपेक्षा गरेको रकममा अन्तर आउन सक्छ।
यही कारण बीमा गर्नुअघि योजना, जोखिम, बोनस, प्रिमियम, अवधि र म्याचुरिटीसम्बन्धी विषय राम्रोसँग बुझ्नुपर्ने उनी बताउँछिन्। “बीमा एउटा सेक्युरिटी हो, रिस्क कभर हो,” उनी भन्छिन्, “जो आउँछ, बीमा गर भनेपछि आफ्नै मान्छे आयो भन्दैमा मात्रै गर्न हुँदैन। राम्रोसँग बुझेर गर्नुपर्छ।” उनका लागि सही सूचना दिनु नै अभिकर्ताको पहिलो जिम्मेवारी हो।
_1790148819.jpeg)
अध्यक्षदेखि सहकर्मीसम्मको पारिवारिक सम्बन्ध
लामो समय एउटै क्षेत्रमा काम गर्दा कम्पनीका उच्च व्यवस्थापनदेखि सहकर्मीसम्मसँग पनि उनको सम्बन्ध पारिवारिक बनेको छ। कम्पनीका अध्यक्षसँग वर्षमा एकपटक मात्र भेट भए पनि व्यक्तिगत स्वास्थ्य र जीवनशैलीसम्म चासो राख्ने सम्बन्ध बनेको उनी बताउँछिन्। लामो समयसम्म सँगै काम गर्दा बनेको आत्मीयता नै उनको पेशागत यात्राको अर्को आधार हो। शाखाको निरन्तरको साथ सहयोगत छदैछ। उनको आफ्नो कार्यालय पनि छ। जहाँबाट उनि बीमितको सेवामा लागिपरिरहन्छिन्। कतिपयले बीमालाई आफ्नै तरिकाबाट प्रयोग गरेर लाभ लिने प्रबृत्ती भन्दा पर रहेर बास्तविक बीमितको खोजिमा निष्किने गंगाको कामलाई प्रमुख कार्यकारी अधिकृतले सधै प्रसंशा गर्दा उनि सबैभन्दा धेरै खुसी हुन्छिन्।
पेसालाई मर्यादित बनाउने चाहना
बीमा क्षेत्रमा रहेका विकृतिले गर्दा यो पेशालाई हेर्ने दृष्टिकोण कतिपय अवस्थामा नकारात्मक हुने गरेको गङ्गा स्वीकार्छिन्। तर त्यसकै कारण बीमा खराब पेशा हो भन्ने उनी मान्दिनन्। बरु उनी भन्छिन्—बीमालाई सही तरिकाले बुझेर, बीमितको आवश्यकता पहिचान गरेर र दीर्घकालीन सम्बन्धलाई प्राथमिकता दिएर काम गर्ने हो भने यो निकै राम्रो र सम्मानित पेशा बन्न सक्छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)










प्रतिक्रिया