साढे २९ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
- BFIS News
- 2026 Sep 24 16:13
काठमाडौं। नेपाल सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार भदौ मध्यसम्म सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको हो। यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ प्रतिशतभन्दा बढी हो।
कुल सार्वजनिक ऋणमध्ये १३ खर्ब ६१ अर्ब रुपैयाँ आन्तरिक र १६ खर्ब ११ अर्ब रुपैयाँ बाह्य ऋण रहेको छ। आन्तरिक ऋण जीडीपीको २०.६३ प्रतिशत तथा बाह्य ऋण २४.४१ प्रतिशत बराबर रहेको कार्यालयले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ। भदौ मध्यसम्ममा भने सरकारले ६१ अर्ब रुपैयाँ ऋण उठाएको छ। यो वार्षिक लक्ष्यको ९.२८ प्रतिशत हो।
कुल उठाइएको ऋणमध्ये ५० अर्ब रुपैयाँ आन्तरिक स्रोतबाट र ११ अर्ब रुपैयाँ बाह्य स्रोतबाट प्राप्त भएको छ। सरकारले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट ४ खर्ब १० अर्ब र बाह्य स्रोतबाट २ खर्ब ४८ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ। यसअनुसार भदौ मध्यसम्म आन्तरिक ऋणतर्फ लक्ष्यको १२.२० प्रतिशत र बाह्य ऋणतर्फ ४.४५ प्रतिशत प्रगति भएको छ।
ऋण तिर्न ८५ अर्ब खर्च
सरकारले नयाँ ऋण उठाउँदै गर्दा विगतमा लिएको ऋणको साँवा तथा ब्याज भुक्तानीमा पनि ठूलो रकम खर्च गरिरहेको छ। चालु आर्थिक वर्षमा ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि सरकारले ४ खर्ब १७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
भदौ मध्यसम्ममा सरकारले ऋण भुक्तानी तथा ब्याजबापत ८५ अर्ब रुपैयाँ खर्च गरिसकेको छ। यो वार्षिक विनियोजित बजेटको २०.३४ प्रतिशत हो। भुक्तानी गरिएको रकम जीडीपीको १.२९ प्रतिशत बराबर रहेको छ।
सार्वजनिक ऋणको आकार बढ्दै जाँदा सरकारले नयाँ ऋण परिचालनसँगै पुरानो ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि समेत ठूलो स्रोत व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ। चालु आर्थिक वर्षको सुरुवाती अवधिमै ऋण उठाउने तथा ऋण भुक्तानी गर्ने दुवै प्रक्रियामा उल्लेख्य रकम परिचालन भएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)






.jpg)



प्रतिक्रिया