NIMB Header 2
Prabhu Mahalaxmi

एनसीएचएलको इएफटी कार्ड सर्भिसेस्मा १७ बैंक तथा वित्तीय संस्था आबद्ध

United Ajod
  • BFIS News
  • 2026 Sep 25 17:57
एनसीएचएलको इएफटी कार्ड सर्भिसेस्मा १७ बैंक तथा वित्तीय संस्था आबद्ध
IME LIFE

काठमाडौं, ९ असोज । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले इएफटी कार्ड सर्भिसेस्का सदस्य बैंक तथा वित्तीय संस्थासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा २२ वटा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा एनसीएचएलका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।

Nepal Life
NIMB

कार्यक्रममा सदस्य बैंक तथा वित्तीय संस्था र एनसीएचएलबीचको सम्बन्ध थप सुदृढ बनाउने, सेवा सञ्चालनका आवश्यकता र पछिल्ला विकासबारे जानकारी आदानप्रदान गर्ने तथा नयाँ पहलमाथि छलफल गरिएको थियो। साथै, इएफटी सर्भिसेस्सम्बन्धी सदस्य संस्थाका सुझाव तथा प्रतिक्रिया संकलन गरिएको थियो।

अन्तरक्रियाका क्रममा ग्राहकका अपेक्षा, प्रविधिको विकास र सेवा सञ्चालनका आवश्यकताबारे सदस्य संस्थाले आफ्ना अनुभव तथा सुझाव राखेका थिए। कार्ड भुक्तानीको सुरक्षा सुदृढीकरण, सञ्चालनसम्बन्धी विषय र नवीनतम पहलका विषयमा समेत छलफल भएको एनसीएचएलले जनाएको छ।

कार्यक्रममा इएफटी कार्ड सेवा विस्तारका क्रममा थप दुई वाणिज्य बैंक र पाँच वित्त कम्पनी नयाँ सदस्यका रूपमा आबद्ध भएको जानकारी दिइएको थियो। यससँगै एनसीएचएलको इएफटी कार्ड स्वीचमा आबद्ध बैंक तथा वित्तीय संस्थाको संख्या १७ पुगेको छ।

त्यस्तै, ६ वटा बैंक तथा वित्तीय संस्थाले ई–कमर्स पेमेन्ट गेटवे सेवा र १४ वटा बैंक तथा वित्तीय संस्थाले 3D Secure ACS सेवा प्रयोग गर्दै आएका छन्।

३ करोड २० लाख कारोबार इएफटीमार्फत

इएफटी कार्ड सर्भिसेस् एनसीएचएलले बैंक तथा वित्तीय संस्थाका लागि उपलब्ध गराएको केन्द्रीय स्वीचिङ सोलुसन हो। यसले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड स्किमका कारोबार प्रोसेसिङ, कार्ड इस्यूइङ तथा एक्वायरिङ सेवा सञ्चालन गर्छ।

हाल इएफटीमार्फत सदस्य बैंक तथा वित्तीय संस्थाले Visa र NEPALPAY कार्ड इस्यू गर्न सक्छन्। त्यस्तै, Visa, Mastercard, UnionPay, Diners Club, Discover, Pulse, RUPAY र NEPALPAY गरी आठ प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्कका कार्ड कारोबार एक्वायरिङ गर्ने सुविधा उपलब्ध छ।

आर्थिक वर्ष २०८२/८३ मा नेपालमा कार्डमार्फत १० खर्ब १९ अर्ब रुपैयाँ बराबरका करिब १२ करोड ९० लाख कारोबार भएका थिए। सो अवधिमा १ करोड ४३ लाख ३० हजार कार्ड प्रचलनमा रहेका थिए।

यस अवधिमा इएफटीमार्फत २ खर्ब ५५ अर्ब रुपैयाँ बराबरका ३ करोड २० लाख कारोबार भएका थिए। इएफटीअन्तर्गत ३४ लाख ४० हजार कार्ड प्रचलनमा रहेका थिए। गत आर्थिक वर्षमा इएफटीले नेपाली कार्ड कारोबार बजारमा करिब २५ प्रतिशत हिस्सा ओगटेको एनसीएचएलले जनाएको छ।

अनलाइन कार्ड भुक्तानी सुरक्षामा 3D Secure ACS

इएफटीको 3D Secure ACS सेवा अनलाइन कार्ड कारोबारलाई सुरक्षित बनाउन प्रयोग हुने सुरक्षा प्रणाली हो। त्यस्तै, ई–कमर्स पेमेन्ट गेटवेले सहभागी बैंक तथा वित्तीय संस्थाका अनलाइन मर्चेन्टलाई कार्डमार्फत भुक्तानी प्राप्त गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ।

हाल ६ वटा सदस्य बैंक तथा वित्तीय संस्थाले ई–कमर्स पेमेन्ट गेटवे सेवा प्रदान गरिरहेका छन्। उक्त सेवामा ११५ भन्दा बढी मर्चेन्ट आबद्ध भइसकेका छन्।

नेपालको भुक्तानी पूर्वाधारलाई थप सुदृढ गर्दै डिजिटल भुक्तानीको प्रयोग विस्तार गर्ने उद्देश्यअनुरूप एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीको एक अंगका रूपमा NEPALPAY Card लाई राष्ट्रिय कार्ड योजनाका रूपमा अघि बढाएको छ।

इएफटी कार्ड स्वीचलाई राष्ट्रिय भुक्तानी प्रणालीमा आबद्ध गरी NEPALPAY Card इस्यू तथा एक्वायरिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ। यसबाट सहभागी बैंक तथा वित्तीय संस्थाले विद्यमान पूर्वाधारकै उपयोग गरी NEPALPAY Card इस्यू र एक्वायरिङ गर्न सक्ने सुविधा पाएका छन्।

एनसीएचएलले आगामी दिनमा बैंक तथा वित्तीय संस्था, इकोसिस्टम साझेदार र अन्तर्राष्ट्रिय कार्ड नेटवर्कसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ। कार्ड भुक्तानीसम्बन्धी क्षमता विस्तार, अन्तरआवद्धता सुदृढीकरण, कारोबार सुरक्षामा सुधार तथा नवीनतम भुक्तानी समाधानको प्रवर्द्धनमा थप योगदान गर्ने उसको योजना छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया