धितोपत्र बोर्डको पूर्वसूचना सम्बन्धी व्यवस्था बजारलाई प्रभावित गर्ने खालको : रविन्द्र भट्टराई
- BFIS News
- 2026 Sep 28 12:23
काठमाडौं । सेयर बजार विज्ञ रविन्द्र भट्टराईले संस्थापक तथा आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुभन्दा १५ दिनअघि सार्वजनिक सूचना दिनुपर्ने धितोपत्र बोर्डको व्यवस्था पुनर्विचार गर्नुपर्ने बताएका छन्।
भट्टराईका अनुसार कारोबार हुनुअघि नै सेयर बिक्रीको सूचना सार्वजनिक गर्दा लगानीकर्ताले वास्तविक कारोबार हुनुभन्दा पहिल्यै प्रतिक्रिया जनाउन सक्ने भएकाले बजारको स्वाभाविक माग–आपूर्ति र मूल्य निर्माण प्रक्रियामा असर पर्न सक्छ। उनले यस्तो व्यवस्थाले बजार विकास, पारदर्शिता र स्वच्छ मूल्य निर्माणको उद्देश्यसँग कति मेल खान्छ भन्ने विषयमा पुनर्विचार आवश्यक रहेको बताए।
उनले पारदर्शिता कायम गर्ने वैकल्पिक उपायका रूपमा कम्पनीका प्रमुख पदाधिकारी, सञ्चालक, संस्थापक तथा आधारभूत सेयरधनीले गरेको कारोबारलाई बिक्रीपछि अनिवार्य रूपमा ट्र्याक गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। त्यस्ता कारोबारको विवरण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमार्फत सर्वसाधारणले सहज रूपमा हेर्न सक्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
भट्टराईले सेयर बिक्री गरेको तीन दिनभित्र, अर्थात् सेटलमेन्ट पूरा भएपछि, सम्बन्धित कम्पनीमार्फत तोकिएको प्रणालीमा कारोबारको विवरण अनिवार्य रूपमा अद्यावधिक गर्ने व्यवस्था गर्न सकिने बताए। निर्धारित समयभित्र विवरण अद्यावधिक नगरेमा सम्बन्धित कम्पनी र जिम्मेवार पक्षलाई कडा जरिवाना गर्ने व्यवस्था गर्नुपर्ने उनले सुझाव दिएका छन्।
उनका अनुसार यसरी ट्र्याक गरिएका कारोबारको व्यवस्थित प्रतिवेदन तयार गर्दै गएमा सेयर बिक्रीअघि र बिक्रीपछिको बजार मूल्यमा आएको परिवर्तन, कारोबार परिमाणमा परेको प्रभाव तथा कम्पनीको व्यवसाय र वित्तीय अवस्थामा देखिएको परिवर्तनलगायतका विषयमा तथ्यमा आधारित अध्ययन गर्न सकिन्छ।
यसबाट लगानीकर्ताले ‘कसले कति सेयर बेच्यो?’ भन्ने जानकारी मात्र नभई त्यस्तो कारोबार र बजार तथा कम्पनीको अवस्थाबीच देखिएको सम्बन्धबारे समेत विश्लेषण गर्न सक्ने भट्टराईको भनाइ छ।
कारोबार हुनुअघि सूचना सार्वजनिक गर्दा बजार प्रभावित हुने सम्भावना घटाउँदै कारोबार भइसकेपछि सम्बन्धित सेयरधनीले कसले, कहिले र कति सेयर बिक्री गरे भन्ने विवरण सार्वजनिक गर्नुपर्ने उनको सुझाव छ। यस्तो व्यवस्थाले बजारमा पारदर्शिता बढाउनुका साथै प्रमुख पदाधिकारी, संस्थापक तथा ठूला सेयरधनीको कारोबारलाई लगानी विश्लेषणको आधारका रूपमा विकास गर्न सकिने उनले बताए।
‘पारदर्शिता आवश्यक छ, तर पारदर्शिताको नाममा कारोबार हुनुअघि नै बजारको स्वाभाविक मूल्य निर्माण प्रक्रियालाई प्रभावित गर्नु हुँदैन,’ भट्टराईले भने।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)





.jpeg)




प्रतिक्रिया