NIMB Header 2
Prabhu Mahalaxmi

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ५% बोनस र १०% नगद लाभांश पारित

United Ajod
  • BFIS News
  • 2026 Sep 30 14:13
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ५% बोनस र १०% नगद लाभांश पारित
IME LIFE

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश पारित गरेको छ।

Nepal Life
NIMB

सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षित वित्तीय विवरण पारित गरेको छ। अध्यक्षको प्रतिवेदन, २०८३ असार ३२ गतेको वासलात, सोही आर्थिक वर्षको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गरिएको हो।

बैंकको २०८३ भदौ ११ गते बसेको सञ्चालक समितिको ४०२औँ बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने करसमेत समेटेर १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।

बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी विशेष प्रस्तावसमेत सभाले पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत भएको छ।

लाभांश नीतिमा निरन्तरतामा जोड

सभामा शेयरधनीहरूले लाभांश नीति, बैंकको पुँजी पर्याप्तता, व्यापार विस्तार, खराब कर्जा, खर्च व्यवस्थापन तथा संस्थागत सुशासनलगायत विषयमा जिज्ञासा र सुझाव राखेका थिए। ती जिज्ञासाको जवाफ बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले दिएका थिए।

खालिङले बैंकले तत्कालको लाभांश वितरणसँगै भविष्यको पुँजी आवश्यकता र व्यवसाय विस्तारलाई समेत ध्यानमा राखेर लाभांश नीति तय गर्दै आएको बताए। उनका अनुसार बोनस शेयरमार्फत पुँजी वृद्धि हुँदा भविष्यमा लाभांश वितरण गर्ने क्षमतामा समेत प्रभाव पर्न सक्ने भएकाले बैंकले दीर्घकालीन र निरन्तर लाभांश नीतिमा ध्यान दिएको छ।

उनले भने, “हामीले हाम्रो बजेट, प्लानिङ, फ्युचर र ग्रोथलाई हेरेर कस्तो पुँजी आवश्यक पर्छ भन्ने ध्यानमा राख्नुपर्छ। त्यसैले स्वस्थ र कन्सिस्टेन्ट किसिमको डिभिडेन्ड पोलिसीमा हामी कायम रहनेछौँ।”

खालिङले नेपाल राष्ट्र बैंकले तोक्ने काउन्टर–साइक्लिकल बफरलगायत पुँजीसम्बन्धी व्यवस्थालाई समेत ध्यानमा राखेर बैंकले व्यवसाय विस्तार र लाभांश वितरणबीच सन्तुलन कायम गर्नुपर्ने बताए।

कर्जा विस्तारमा जोखिम व्यवस्थापनलाई प्राथमिकता

खालिङले मुलुकको आर्थिक अवस्था अपेक्षाकृत चुनौतीपूर्ण रहेको र कर्जाको माग कमजोर हुँदा बैंकहरूबीच प्रतिस्पर्धा बढ्न सक्ने बताए। यस्तो अवस्थामा आक्रामक कर्जा विस्तारले भविष्यमा खराब कर्जाको जोखिम बढाउन सक्ने भएकाले बैंकले जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।

उनका अनुसार बैंकको खराब कर्जाको अनुपात हाल न्यून रहेको छ र आगामी दिनमा पनि त्यसलाई नियन्त्रणमा राख्दै व्यवसाय विस्तार गर्ने लक्ष्य छ। उनले कर्जा विस्तारसँगै आम्दानी वृद्धि गर्नुपर्ने र त्यसका लागि खर्च व्यवस्थापनमा समेत बैंकले ध्यान दिइरहेको बताए।

सीएसआर र खर्च व्यवस्थापनबारे स्पष्टीकरण

साधारणसभामा उठेको सीएसआर तथा मनोरञ्जन खर्चसम्बन्धी जिज्ञासामा खालिङले बैंकले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर सीएसआर खर्च गर्दै आएको बताए।

उनका अनुसार बैंकको ‘इन्टरटेनमेन्ट’ शीर्षकमा देखिएको खर्चलाई अन्य अर्थमा बुझ्न नहुने र त्यसअन्तर्गत कर्मचारीलाई उपलब्ध गराइने दैनिक खाजा तथा चियालगायत खर्चसमेत समावेश हुने गरेको छ। बैंकका खर्चहरूको नियमित नियामकीय निरीक्षण हुने भएकाले खर्च व्यवस्थापनमा बैंक सचेत रहेको उनले बताए।

नयाँ लगानीका अवसर अध्ययन गर्दै बैंक

खालिङले बैंकिङ व्यवसाय नै बैंकको मुख्य व्यवसाय रहेको स्पष्ट गर्दै निक्षेप संकलन र कर्जा प्रवाहमा केन्द्रित रहने बताए। साथै, नेपाल राष्ट्र बैंकले शेयरमा लगानी गर्न पाउने व्यवस्था गरेसँगै त्यस क्षेत्रमा समेत सम्भावना अध्ययन गरिरहेको उनले जानकारी दिए।

उनका अनुसार शेयरमा लगानी गर्दा रकम फिर्ता हुन समय लाग्न सक्ने तथा बजारमा मूल्य निर्धारणका विभिन्न पक्ष रहने भएकाले बैंकले यस विषयमा थप अध्ययन आवश्यक ठानेको छ। लगानीसम्बन्धी स्पष्ट नीति बनेपछि निश्चित सीमाभित्र रहेर शेयर बजारमा लगानी गर्न सकिने सम्भावना रहेको उनले बताए।

सभामा शेयरधनीहरूले संस्थागत सुशासन, खर्च व्यवस्थापन, व्यवसाय विस्तार र लगानीकर्तामैत्री नीतिका विषयमा दिएका सुझावलाई बैंकले अध्ययन गरी सम्भव भएसम्म कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि खालिङले व्यक्त गरे।

साधारणसभामा उठेका प्रश्न र सुझावलाई सम्बोधन गर्दै उनले बैंकको व्यवसाय विस्तार, जोखिम व्यवस्थापन, पुँजी पर्याप्तता र शेयरधनीलाई प्रतिफल दिने क्षमताबीच सन्तुलन कायम गर्ने नीति लिइने बताए।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया