NIMB Header 2
Prabhu Mahalaxmi

कर्जा विस्तारसँगै जोखिम नियन्त्रणमा एभरेष्ट बैंकको जोड, पूँजी बृद्धि नगरी लाभांशलाई निरन्तरता दिने नीति

United Ajod
  • BFIS News
  • 2026 Sep 30 14:55
कर्जा विस्तारसँगै जोखिम नियन्त्रणमा एभरेष्ट बैंकको जोड, पूँजी बृद्धि नगरी लाभांशलाई निरन्तरता दिने नीति
IME LIFE

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले बैंकले शेयरधनीलाई प्रतिफल दिने विषयमा दीर्घकालीन र सन्तुलित लाभांश नीति अवलम्बन गर्ने बताएका छन्।

Nepal Life
NIMB

बैंकको साधारणसभामा शेयरधनीले राखेका जिज्ञासा तथा सुझावको जवाफ दिँदै खालिङले लाभांश वितरणसँगै बैंकको पुँजी पर्याप्तता, व्यवसाय विस्तार र भविष्यको आम्दानी क्षमतालाई समेत ध्यान दिनुपर्ने बताए।

उनका अनुसार हरेक वर्ष फरक–फरक दरमा लाभांश घोषणा गर्नुभन्दा बैंकको वित्तीय अवस्था र भविष्यको आवश्यकतालाई आधार बनाएर निरन्तर र स्वस्थ लाभांश नीति कायम गर्ने प्रयास बैंकको रहनेछ। बोनस शेयरमार्फत पुँजी वृद्धि गर्दा तत्काल नगद बाहिरिने अवस्था कम हुने भए पनि भविष्यमा ठूलो पुँजीमा सोही अनुपातमा लाभांश दिनुपर्ने भएकाले दीर्घकालीन प्रभावलाई समेत विचार गर्नुपर्ने उनले बताए।

खालिङले नियामकीय आवश्यकताका कारण बैंकले पुँजी व्यवस्थापनमा थप ध्यान दिनुपर्ने अवस्था रहेको बताए। राष्ट्र बैंकले लागू गर्न सक्ने काउन्टरसाइक्लिकल बफरलगायतका व्यवस्थाले बैंकको पुँजीमा थप दबाब पार्न सक्ने भएकाले व्यवसाय विस्तार र प्रतिफलबीच सन्तुलन आवश्यक रहेको उनको भनाइ थियो।

जोखिम नियन्त्रणसँगै व्यवसाय विस्तारमा जोड

देशको आर्थिक अवस्था अपेक्षाकृत सन्तोषजनक नरहेको र कर्जाको मागमा कमी आएको अवस्थामा बैंकहरूबीच प्रतिस्पर्धा बढ्न सक्ने खालिङले बताए। कर्जा विस्तार गर्ने क्रममा जोखिमयुक्त क्षेत्रमा लगानी बढ्न सक्ने सम्भावना रहेकाले बैंकले कर्जा गुणस्तरलाई प्राथमिकतामा राखेको उनले बताए।

हाल बैंकको खराब कर्जा अनुपात न्यून रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि त्यसलाई कायम राख्दै व्यवसाय विस्तार गर्ने चुनौती रहेको बताए। व्यवसाय विस्तार नगरी आम्दानी बढाउन कठिन हुने भएकाले जोखिम व्यवस्थापनसँगै कर्जा व्यवसायलाई अघि बढाउने नीति बैंकले लिएको उनले स्पष्ट पारे।

आम्दानी वृद्धि गर्न व्यवसाय विस्तारसँगै खर्च नियन्त्रणमा पनि बैंकले ध्यान दिएको उनले बताए। आवश्यक र बाध्यकारी खर्चलाई निरन्तरता दिँदै अनावश्यक खर्च घटाउने नीति लिइएको उनको भनाइ थियो।

सीएसआर खर्च नियामकीय सीमाभित्र

शेयरधनीले उठाएको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) तथा मनोरञ्जन खर्चसम्बन्धी प्रश्नमा खालिङले बैंकले राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार मात्रै खर्च गर्ने बताए।

उनका अनुसार बैंकले सीएसआरमा नियामकले तोकेको प्रतिशतभन्दा बढी खर्च नगर्ने र तोकिएका क्षेत्र तथा वर्गलाई प्राथमिकता दिने गरेको छ। बैंकका खर्च विवरणमाथि राष्ट्र बैंकबाट नियमित निरीक्षण हुने भएकाले खर्च व्यवस्थापनमा पारदर्शिता कायम गरिएको उनले बताए।

मनोरञ्जन खर्च शीर्षकमा देखिएको रकमबारे स्पष्ट पार्दै खालिङले त्यसलाई फाइभ स्टार होटलमा गरिने अनावश्यक खर्चका रूपमा नबुझ्न आग्रह गरे। उक्त शीर्षकअन्तर्गत कर्मचारीलाई उपलब्ध गराइने दैनिक खाजा तथा चियालगायतका खर्च समेटिएको उनले बताए।

नयाँ लगानीका अवसर अध्ययन गर्ने

खालिङले बैंकिङको मूल व्यवसाय निक्षेप संकलन र कर्जा प्रवाह नै रहेको स्पष्ट पार्दै नयाँ लगानीका अवसरलाई पनि अध्ययन गरेर अघि बढ्ने बताए।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयरमा लगानी गर्न पाउने व्यवस्था गरेपछि त्यसतर्फ पनि सम्भावना अध्ययन गर्न सकिने उनले बताए। यद्यपि शेयरमा लगानी गर्दा रकम फिर्ता हुन समय लाग्न सक्ने र बजारको मूल्य निर्धारणका विभिन्न पक्ष रहेकाले पर्याप्त अध्ययन आवश्यक हुने उनको भनाइ थियो।

बैंकले शेयरमा लगानीसम्बन्धी आफ्नै नीति बनाइसकेको अवस्था नरहेको उल्लेख गर्दै उनले नियामकीय व्यवस्था थप स्पष्ट भएपछि निश्चित सीमाभित्र रहेर लगानी गर्न सकिने सम्भावना रहेको बताए।

खालिङले साधारणसभामा शेयरधनीले दिएका सुझावलाई बैंकले अध्ययन गरी व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकिने विषयलाई प्राथमिकताका साथ अघि बढाउने बताए। संस्थागत सुशासन, व्यवसाय विस्तार, खर्च नियन्त्रण र शेयरधनीलाई प्रतिफल दिने विषयमा बैंकले सन्तुलित दृष्टिकोण अपनाउने उनको भनाइ थियो।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया