आज बिहान नेप्सेमा आएका चार प्रमुख सूचना, लाभांशदेखि शेयर बिक्रीसम्म
- BFIS News
- 2026 Oct 01 11:24
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार बजार खुल्नुअघि विभिन्न सूचीकृत कम्पनीसँग सम्बन्धित चारवटा महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ।
सूचनामा आइसिएफसी फाइनान्सको लाभांश पारित, त्रिशुली जलविद्युतका सञ्चालक परिवर्तन, मिड सोलु हाइड्रोपावरका आधारभूत शेयरधनीबाट शेयर बिक्रीको जानकारी तथा पोखरा फाइनान्सको संस्थापक शेयर बिक्रीसम्बन्धी विवरण छन्।
आइसिएफसी फाइनान्सको १०.५२६३ प्रतिशत नगद लाभांश पारित
आइसिएफसी फाइनान्स लिमिटेडको असोज १३ गते सम्पन्न १३औँ वार्षिक साधारण सभाले १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले चुक्ता पुँजीको आधारमा १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ ६६ पैसा नगद लाभांश वितरण गर्नेछ। उक्त रकममा लाभांश करसमेत समावेश छ।
सभाले सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्दै अध्यक्षलाई प्रतिबैठक १५ हजार रुपैयाँ र अन्य सञ्चालकलाई १३ हजार रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि एस.एस.ए.आर. एसोसिएट्सलाई बाह्य लेखापरीक्षकमा पुनः नियुक्त गरिएको छ।
त्रिशुली जलविद्युतमा दुई नयाँ सञ्चालक
त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा संस्थापक शेयरधनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रतिनिधित्व गर्ने दुई सञ्चालक परिवर्तन भएका छन्।
कम्पनीका अनुसार तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रेमप्रसाद सिलवालको स्थानमा हालका प्रमुख प्राविधिक अधिकृत डिल्ली राम अधिकारी र तत्कालीन प्रमुख वित्तीय अधिकृत राजेन्द्र अर्यालको स्थानमा हालका प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेललाई सञ्चालकमा मनोनयन गरिएको हो।
कम्पनीको असोज ६ गते बसेको २४१औँ सञ्चालक समिति बैठकले उनीहरूलाई सञ्चालकमा मनोनयन गरी शपथ ग्रहण गराएको जनाएको छ।
मिड सोलु हाइड्रोपावरका आधारभूत शेयरधनीले एक लाख कित्ता बिक्री गर्ने
मिड सोलु हाइड्रोपावर लिमिटेडका आधारभूत शेयरधनी दिपेन्द्रबहादुर साउदले आफ्नो स्वामित्वमा रहेको एक लाख कित्ता शेयर बिक्री गर्ने जानकारी दिएका छन्।
धितोपत्र बोर्डको व्यवस्थाअनुसार ५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका आधारभूत शेयरधनीले शेयर बिक्री गर्नुअघि १५ दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ। सोहीअनुसार साउदले आगामी तीन महिनाभित्र उक्त शेयर बिक्री गर्ने मनसायसहित कम्पनीमार्फत नेप्सेलाई जानकारी गराएका हुन्।
पोखरा फाइनान्सको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
पोखरा फाइनान्स लिमिटेडले दुई संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर सर्वसाधारण व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरेको छ।
कम्पनीका अनुसार मनबहादुर गुरुङको नाममा रहेको १ लाख ६६ हजार ५६.८५ कित्ता र नारायणबाबु लोहनीको नाममा रहेको ५७ हजार ५११.१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।
यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिनको समय दिइए पनि सो अवधिमा पर्याप्त आवेदन नपरेपछि सर्वसाधारणका लागि शेयर बिक्री खुला गरिएको कम्पनीले जनाएको छ। इच्छुक व्यक्ति तथा संस्थाले सात दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा सम्पर्क गरी आवेदन दिनुपर्नेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)











प्रतिक्रिया