नेपाल लाइफको गण्डकीमा तारा अवार्ड सम्पन्न, ६८ अभिकर्ता सम्मानित
- BFIS News
- 2026 Oct 01 19:43
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशका विभिन्न प्रदेशमा सञ्चालन गरेको ‘तारा अवार्ड २०८२–८३’ कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशको सम्मान कार्यक्रम सम्पन्न गरेको छ। पोखरास्थित ग्राण्ड होटलमा असोज १५ गते बिहीबार आयोजित कार्यक्रममा करिब २०० जनाको सहभागितामा ६३ जना उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै यस वर्षको प्रदेशस्तरीय तारा अवार्ड कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मानसँगै आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्न उत्प्रेरित गरिएको थियो। कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई व्यावसायिक क्षमता विकास, बिक्री वृद्धि र बीमा सेवाको विस्तारमा केन्द्रित भएर अघि बढ्न आग्रह गरिएको थियो।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले तारा अवार्ड कार्यक्रमलाई आगामी दिनमा थप व्यवस्थित र परिस्कृत बनाउँदै लैजाने बताए। उनले अभिकर्ता र कर्मचारीलाई समान रूपमा हेरेर काम गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
पराजुलीले अभिकर्ता सहायता कोषलाई तत्काल २ करोड रुपैयाँ पुर्याउने योजना समेत अघि सारे। अभिकर्ताहरूलाई सहज रूपमा काम गर्ने वातावरण निर्माणका लागि कम्पनीले आवश्यक पहल गर्ने उनको भनाइ थियो।

आठ स्थानमा १,०६४ जना सम्मानित
नेपाल लाइफले असोज ४ गते इटहरीदेखि सुरु गरेको तारा अवार्ड कार्यक्रम असोज १५ गते पोखरामा पुगेर सम्पन्न गरेको हो। कम्पनीका अनुसार इटहरी, बर्दिबास, बुटवल, नारायणगढ, काठमाडौं, धनगढी, सुर्खेत र पोखरामा कार्यक्रम आयोजना गरिएको थियो।
ती आठ कार्यक्रममार्फत कुल २,५८१ उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए भने १,०६४ जनालाई तारा अवार्डबाट सम्मान गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रमहरूमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी सर्भिसिङ विभाग प्रमुख सुनिता पोखरेल, सेल्स तथा मोटिभेसन प्रशिक्षक किसु झा लगायतको सहभागिता रहेको थियो।
प्रत्येक शाखामा उत्कृष्ट तीन अभिकर्तालाई सम्मान गर्ने
कार्यक्रमका क्रममा कम्पनी व्यवस्थापनले सबै शाखामा उत्कृष्ट प्रदर्शन गर्ने पहिलो, दोस्रो र तेस्रो स्थानका अभिकर्तालाई सम्मान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ। साथै प्रदेशको समन्वयमा प्रत्येक महिना दुईवटा तालिम सञ्चालन गर्ने व्यवस्था अघि बढाउने भएको छ। यसबाट अभिकर्ताको क्षमता विकाससँगै शाखास्तरमा प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ।
बीमा नियमावली संशोधनका लागि पहल
पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसीले अभिकर्तासँग सम्बन्धित विषयलाई समेटेर बीमा नियमावली संशोधनका लागि पहल भइरहेको बताए।
उनले नियमावली संशोधनका क्रममा अभिकर्ताका सरोकारका विषय समेट्ने प्रयास भइरहेको जानकारी दिए। केही कम्पनीले हालको व्यवस्थालाई कार्यान्वयन गर्न खोजेको विषयमा समेत पुनर्विचारका लागि पहल गरिएको उनको भनाइ थियो।
पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कार्यक्रममा विगतको कार्यसमितिसँग सम्बन्धित आर्थिक विषय उठाएका थिए। उनले विगतको कार्यसमितिमा रहेर आर्थिक अनियमितता गरेको आरोप लागेका केही व्यक्तिहरू वर्तमान शाखा समितिमा समेत रहेर उस्तै गतिविधि गर्न खोजेको भन्दै टिप्पणी गरे। उनले विगतमा उठेको आर्थिक अपचलनसम्बन्धी दायित्व र त्यसको जवाफदेहिताको विषयमा समेत प्रश्न उठाए।
अभिकर्तालाई काम गर्ने वातावरण बनाउन जोड
कार्यक्रममा अभिकर्ताहरूलाई थप उत्साहित बनाएर व्यावसायिक रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको थियो। मोटिभेसन तथा सेल्स प्रशिक्षक किसु झाले अभिकर्ताहरूलाई आफ्नो लक्ष्यअनुसार काम गर्न र प्राप्त अवसरलाई परिणाममा रूपान्तरण गर्न प्रेरित गरेका थिए।
कम्पनी व्यवस्थापनले पनि अभिकर्तालाई आवश्यक सहयोग, तालिम र अवसर उपलब्ध गराउँदै काम गर्ने वातावरण निर्माणमा जोड दिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)











प्रतिक्रिया