राजनीतिमा पुस्तान्तरणको आवाज : २२ वर्षमै नेपाली कांग्रेस केन्द्रीय सदस्य बन्ने उषा सापकोटाको आकांक्षा
- BFIS News
- 2026 Oct 04 22:07
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागलुङ क्षेत्र नम्बर १ की उषा सापकोटाले खुला महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। २२ वर्षीया सापकोटाले आफूलाई युवा पुस्ताको प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै पार्टीको नेतृत्व तहमा युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएकी छन्।
कानुन अध्ययनरत सापकोटाको राजनीतिक यात्रा भने औपचारिक रूपमा सुरु भएको धेरै भएको छैन। तर, कांग्रेसको राजनीति उनको लागि नयाँ विषय भने होइन। पारिवारिक वातावरणदेखि लोकतान्त्रिक विचारप्रतिको आकर्षणसम्मले उनलाई राजनीतितर्फ डोर्याएको हो।
उनी १८ वर्षकै उमेरमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा गण्डकी प्रदेश प्रतिनिधिका रूपमा सहभागी भएकी थिइन्। त्यतिबेला प्रतिनिधिका रूपमा मतदान गर्ने जिम्मेवारी पाएकी उनले त्यसैलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण सुरुवातका रूपमा लिएकी छन्।
‘लोकतन्त्रमा विश्वास गर्ने मान्छे रहेछु’ भन्ने चेतना विकास भएपछि कांग्रेसको राजनीतिमा प्रवेश गरेको उनी बताउँछिन्।
सापकोटाका अनुसार उनका बुबाहरू कांग्रेसको राजनीतिमा आबद्ध थिए। घरमै लोकतान्त्रिक विचार, राजनीति र त्यसका आधारभूत विषयबारे छलफल सुन्दै हुर्किएकी उनले विस्तारै लोकतन्त्रप्रति आफ्नो रुचि पहिचान गरिन्। त्यसपछि कांग्रेसको आन्तरिक राजनीतिमा सक्रिय हुने निर्णय लिइन्।
विद्यार्थी राजनीति भन्दा पार्टीको आन्तरिक राजनीतिबाट सुरु
कानुन अध्ययनसँगै राजनीतिलाई अघि बढाइरहेकी सापकोटा नेपाल विद्यार्थी संघमा भने आबद्ध भइनन्। काठमाडौं युनिभर्सिटी स्कुल अफ लमा अध्ययनरत उनले त्यहाँ विद्यार्थी राजनीति नगर्ने सर्तसहित अध्ययनमा प्रवेश गरेको बताइन्।
त्यसैले उनको राजनीतिक सक्रियता विद्यार्थी संगठनभन्दा कांग्रेसको आन्तरिक राजनीतिमा केन्द्रित रह्यो। प्रदेशस्तरको पार्टी राजनीतिमा सक्रिय हुँदै उनले आफ्नो राजनीतिक आधार विस्तार गर्दै आएकी छन्।
हाल उनी काठमाडौं युनिभर्सिटी स्कुल अफ लमा बीबीए एलएलबीअन्तर्गत बिजनेस ल तथा कर्पोरेट ल अध्ययनको अन्तिम वर्षमा छिन्। अध्ययन र राजनीतिलाई अलग–अलग विषयका रूपमा नहेर्ने उनको दृष्टिकोण छ।
उनका लागि कानुन अध्ययन र सामाजिक–राजनीतिक गतिविधि एकअर्कासँग जोडिएका विषय हुन्। ‘रूल अफ ल’ र संविधानको कार्यान्वयनदेखि सरकारका काममाथि प्रश्न उठाउने विषयसम्मलाई उनले आफ्नो अध्ययनसँग जोडेर हेर्ने गरेकी छन्।
त्यसैले पढाइ र राजनीतिबीच सन्तुलन मिलाउन आफूलाई कठिन नभएको उनी बताउँछिन्। राजनीतिमा उनको रुचि र अध्ययनको मूल विषय कानुन भएकाले दुवै पक्ष एकअर्काका पूरक बनेको उनको बुझाइ छ।
‘युवालाई झण्डा बोक्ने भूमिकामा मात्रै सीमित गर्नुहुँदैन’
नेपाली कांग्रेसमा लामो समयदेखि स्थापित नेतृत्व र पुस्ताबीच नयाँ पुस्तालाई स्थान दिने बहस चलिरहेका बेला सापकोटाले आफ्नो उम्मेदवारीलाई त्यसै बहससँग जोडेर हेरेकी छन्।
उनका अनुसार उनको पुस्ताले राजनीतिलाई करिअरका रूपमा रोज्न सहज वातावरण पाएको थिएन। युवालाई राजनीतिमा लाग्नु राम्रो विकल्प होइन भन्ने धारणा समाजमा रहेको अवस्थामा आफू भने लोकतान्त्रिक विचारसँगको सामीप्यका कारण कांग्रेसमा आएको उनी बताउँछिन्।
१४औँ महाधिवेशनमा पनि उनले युवालाई कोटा मात्र नभई अधिकारका रूपमा राजनीतिक सहभागिता दिनुपर्ने मागसहित उम्मेदवारी दिएकी थिइन्। त्यसबेला प्रदेश प्रतिनिधिमा निर्वाचित भएपछि उनको राजनीतिक आत्मविश्वास थप बढ्यो।
यसपटक भने उनले युवा महिला वा युवा कोटामा सीमित भएर उम्मेदवारी नदिई खुला महिलातर्फबाट केन्द्रीय सदस्य बन्ने आकांक्षा राखेकी छन्।
उनको मुख्य तर्क छ—युवालाई सधैँ झण्डा बोक्ने, कार्यकर्ता बन्ने वा नेतृत्वका पछाडि हिँड्ने भूमिकामा मात्र सीमित राख्नुहुँदैन। नीति निर्माण र नेतृत्व तहसम्म पुग्ने अवसर पनि युवाले पाउनुपर्छ।
‘लोकतन्त्र’को अर्थ सहभागिता पनि भएकाले आफूहरू इच्छा र क्षमता राखेर अगाडि आउँदा नेतृत्वमा पुग्ने अवसर पाउनुपर्ने उनको भनाइ छ।
कोटाभन्दा माथि अर्थपूर्ण सहभागिताको खोजी
सापकोटाको उम्मेदवारीको अर्को प्रमुख आधार महिला सहभागिता हो। पार्टीभित्रदेखि राज्यका विभिन्न संरचनासम्म महिलाको उपस्थिति अझै पनि कोटामा सीमित रहेको उनको बुझाइ छ।
महिलाका लागि निश्चित प्रतिशत सुनिश्चित गर्नु सकारात्मक कदम भए पनि सहभागितालाई त्यही सीमाभित्र मात्र राख्न नहुने उनी बताउँछिन्। उनको जोड महिलालाई कोटामार्फत प्रतिनिधित्व गराउनेभन्दा पनि नेतृत्व र नीति निर्माणको मूलधारमा स्थापित गर्ने विषयमा छ।
त्यसैले उनले आफूलाई महिला खुला समूहबाट अघि सारेकी हुन्। उनका अनुसार युवा महिलाका लागि छुट्टै स्थान खोज्नु मात्र पर्याप्त हुँदैन, खुला प्रतिस्पर्धामा पनि युवालाई आउने वातावरण बनाउनुपर्छ।
यसै सोचअनुसार उनले यसपटक युवा महिला वा युवा खुला समूहमा सीमित नभई खुला महिलाबाट उम्मेदवारी दिने निर्णय गरेकी हुन्।
जलवायु न्याय पनि राजनीतिक एजेन्डा
महिला र युवा सहभागितासँगै सापकोटाले जलवायु न्यायलाई पनि आफ्नो राजनीतिक एजेन्डाका रूपमा अघि सारेकी छन्।
कानुनकी विद्यार्थी भएकाले वातावरणीय कानुन पनि उनको अध्ययनको हिस्सा हो। पछिल्ला वर्षमा विपद्का कारण भइरहेको मानवीय तथा आर्थिक क्षतिले जलवायु परिवर्तनको विषयलाई नीतिगत बहसको केन्द्रमा ल्याउनुपर्ने आवश्यकता देखाएको उनको भनाइ छ।
पहिलेका नीतिगत बहसमा पर्याप्त प्राथमिकता नपाएको जलवायु न्यायलाई अब राजनीतिक दलको नीति निर्माणको तहमा समेत समेटिनुपर्ने उनको धारणा छ।
उनका लागि महिला सहभागिता, युवा सहभागिता र जलवायु न्याय अलग–अलग विषय होइनन्। बदलिँदो समाजका आवश्यकतालाई नीति निर्माणमा समेट्ने प्रक्रियाका महत्वपूर्ण पक्ष हुन्।
‘हाम्रो पुस्ताले देखेको आवश्यकता अर्को पुस्ताले नदेख्न सक्छ’
सापकोटाको राजनीतिक तर्कको केन्द्रमा पुस्ताबीचको अनुभव र आवश्यकताको भिन्नता पनि छ।
उनका अनुसार समाजका आवश्यकता समयसँगै परिवर्तन हुन्छन्। एउटा पुस्ताले आफ्नो समयका समस्या र सम्भावना देख्छ भने अर्को पुस्ताले त्यसै समाजका नयाँ आवश्यकता पहिचान गर्न सक्छ। त्यसैले नीति निर्माणमा नयाँ पुस्ताको प्रत्यक्ष सहभागिता आवश्यक हुन्छ।
युवालाई केवल ‘युवा कोटा’मा सीमित गर्दा उनीहरूको भूमिका सीमित हुने उनको बुझाइ छ। बरु नेतृत्व र नीति निर्माणमै युवालाई सहभागी गराउँदा बदलिँदो सामाजिक आवश्यकतालाई राजनीतिक दलले थप प्रभावकारी रूपमा सम्बोधन गर्न सक्ने उनको दाबी छ।
यही कारण आफूले केन्द्रीय सदस्यको जिम्मेवारी लिन योग्य ठानेर उम्मेदवारीको आकांक्षा राखेको उनी बताउँछिन्। अन्तिम निर्णय भने महाधिवेशनका प्रतिनिधिले गर्ने उनको स्पष्ट धारणा छ।
आलोचना होइन, समाधान बोकेर नेतृत्वमा युवा
सापकोटाले युवालाई विगतमा राजनीतिमा आलोचना गर्ने पुस्ताका रूपमा हेरिएको प्रसंग पनि उठाएकी छन्। तर अब युवाले आलोचनासँगै समाधानको प्रस्तावसमेत लिएर नेतृत्वमा आउनुपर्ने उनको धारणा छ।
उनका अनुसार नयाँ पुस्ताले समाजका बदलिँदा आवश्यकता आफ्नै अनुभवबाट देखेको हुन्छ। त्यसैले युवालाई नेतृत्वको जिम्मेवारी दिँदा उनीहरूले आफ्नै पुस्ताले भोगेका समस्या र देखेका सम्भावनालाई नीतिगत तहमा लैजान सक्छन्।
उनको उम्मेदवारीको मूल सन्देश पनि यही हो 'राजनीतिमा पुस्तान्तरण केवल उमेर परिवर्तन होइन, विचार, अनुभव र जिम्मेवारी हस्तान्तरणको प्रक्रिया हो।'
कांग्रेसको १५औँ महाधिवेशनमा २२ वर्षको उमेरमा केन्द्रीय सदस्यका लागि उम्मेदवारीको आकांक्षा राखेकी सापकोटाका लागि यो प्रयास केवल एउटा पदको प्रतिस्पर्धा होइन। आफूजस्तै नयाँ पुस्तालाई पार्टीको मूल नेतृत्व संरचनासम्म पुग्ने बाटो खोल्ने प्रयासका रूपमा उनले यसलाई प्रस्तुत गरेकी छन्।
‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई राजनीतिक आधार मान्दै आएको कांग्रेसभित्र आफ्नो पुस्ताको आवाजलाई नीति र नेतृत्वको तहसम्म पुर्याउने उद्देश्यसहित सापकोटाले उम्मेदवारी अघि सारेकी हुन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)









प्रतिक्रिया