आइपिओ निष्काशन गर्दाको वित्तीय प्रक्षेपणमा कडाइ गर्न लगानीकर्ता अग्रवालको माग
- BFIS News
- 2026 Oct 05 10:45
काठमाडौं । शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवालले प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) मार्फत सर्वसाधारणबाट पूँजी संकलन गर्ने कम्पनीहरूले विवरणपत्रमा प्रस्तुत गर्ने वित्तीय प्रक्षेपणलाई थप जिम्मेवार र विश्वसनीय बनाउन सरकार तथा सम्बन्धित नियामक निकायसमक्ष आग्रह गरेका छन्।
अग्रवालका अनुसार आइपिओ निष्काशनअघि कम्पनीहरूले सार्वजनिक गर्ने विवरणपत्रमा आगामी तीन वर्षका लागि अपेक्षित नाफा, आम्दानी तथा अन्य वित्तीय सूचकहरूको Forecast/Projection प्रस्तुत गर्ने गरेका छन्। सर्वसाधारण लगानीकर्ताले समेत यिनै प्रक्षेपणलाई कम्पनीको भविष्यको सम्भावना मूल्याङ्कन गर्ने आधारका रूपमा लिएर आफ्नो मेहनतले कमाएको रकम लगानी गर्ने गरेको उनको भनाइ छ।
तर, आइपिओ निष्काशनका क्रममा जानाजानी अवास्तविक, भ्रामक वा आधारहीन वित्तीय प्रक्षेपण प्रस्तुत गरी सर्वसाधारणबाट पूँजी उठाउने र त्यसपछि प्रक्षेपणको विपरीत ठूलो घाटा देखिने अवस्था सिर्जना भएमा प्रभावकारी कानुनी जवाफदेहिता आवश्यक रहेको अग्रवालले बताएका छन्।
उनले यस्तो अवस्थामा आइपिओ विवरणपत्रमा प्रस्तुत गरिएको Forecast/Projection र पछि देखिएको वास्तविक वित्तीय परिणामबीच ठूलो तथा अस्वाभाविक अन्तर देखिएमा स्वतन्त्र छानबिन गर्ने स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्। उनका अनुसार कम्पनीको वास्तविक वित्तीय अवस्था र सार्वजनिक निष्काशनका क्रममा प्रस्तुत गरिएको प्रक्षेपणबीचको अन्तरको कारणसमेत नियामक तहबाट परीक्षण गरिनुपर्छ।
अग्रवालले जानाजानी गलत, आधारहीन वा महत्वपूर्ण तथ्य लुकाएर वित्तीय प्रक्षेपण प्रस्तुत गरिएको प्रमाणित भएमा त्यसमा संलग्न प्रमोटर तथा सञ्चालकलाई व्यक्तिगत रूपमा कानुनी जवाफदेही बनाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
त्यस्तै, गलत विवरण वा जानाजानी गरिएको गलत वित्तीय प्रक्षेपणका कारण सर्वसाधारण शेयरधनीलाई वास्तविक आर्थिक क्षति पुगेको प्रमाणित भएमा सम्बन्धित प्रमोटर तथा सञ्चालकको व्यक्तिगत सम्पत्तिबाट समेत कानुनबमोजिम क्षतिपूर्ति भराउने व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
अग्रवालका अनुसार यस्तो अवस्थामा कम्पनीलाई मात्र जरिवाना गरेर विषय टुंग्याउनेभन्दा गलत विवरण प्रस्तुत गर्ने निर्णयमा प्रत्यक्ष रूपमा जिम्मेवार व्यक्तिसम्म कानुनी जिम्मेवारी पुर्याउने प्रणाली आवश्यक छ। यसले कम्पनी र त्यसका जिम्मेवार पदाधिकारीबीचको उत्तरदायित्वलाई स्पष्ट पार्ने उनको तर्क छ।
यद्यपि, कम्पनी घाटामा गएको मात्र आधारमा यस्तो कानुनी कारबाही गर्न नहुनेमा उनले जोड दिएका छन्। उनको मागअनुसार जानाजानी गलत वा आधारहीन Forecast/Projection प्रस्तुत गरी सर्वसाधारण लगानीकर्तालाई प्रभावित पारिएको तथ्य प्रमाणित भएको अवस्थामा मात्र यस्तो व्यवस्था लागू हुनुपर्छ।
लगानीकर्ताले कम्पनीले सार्वजनिक गरेको विवरण र त्यसमा आधारित भविष्यको वित्तीय प्रक्षेपणमाथि विश्वास गरेर IPO मा लगानी गर्ने भएकाले लगानीकर्ताको हित संरक्षण, पारदर्शिता र जिम्मेवार पूँजी बजारका लागि स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको अग्रवालको भनाइ छ।
यसै सन्दर्भमा उनले नेपाल सरकार तथा सम्बन्धित नियामक बोर्डलाई आइपिओ विवरणपत्रमा प्रस्तुत हुने वित्तीय प्रक्षेपणको विश्वसनीयता, त्यसको अनुगमन तथा गलत विवरण प्रमाणित भएको अवस्थामा हुने व्यक्तिगत जवाफदेहिताबारे आवश्यक कानुनी संशोधन तथा प्रभावकारी व्यवस्था तत्काल अघि बढाउन आग्रह गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)









प्रतिक्रिया