दशैं खर्च र ब्याज किस्ताको दबाबमा शेयर बजार, लगानीकर्ताको कन्फिडेन्स अझै फर्किएन
- BFIS News
- 2026 Oct 05 15:47
काठमाडौं । दशैं नजिकिँदै गर्दा चाडपर्वको खर्च जुटाउनुपर्ने दबाब र असोज मसान्तमा ब्याज तथा किस्ता भुक्तानीको तयारीले शेयर बजारमा बिक्री चाप बढेको छ। लगातारको गिरावटका बीच सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.४८ अंकले घटेर २ हजार ५६६.७६ अंकमा झरेको छ।
सोमबार कारोबारमा आएका कम्पनीमध्ये २४२ वटाको शेयर मूल्य घटेको छ भने ३२ कम्पनीको शेयर मूल्यमा मात्रै सुधार आएको छ। बजारमा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। व्यापार उपसमूहमात्रै बढ्दा अन्य अधिकांश सूचकमा गिरावट आएको छ।
शेयर बजार सुधारका लागि लगानीकर्ता तथा सरकारबाट विभिन्न प्रयास भइरहे पनि बजारले अपेक्षित गति लिन सकेको छैन। यसअघि पनि बजार २५१३ अंकको तहबाट बढेर २६५४ अंकसम्म पुगेको थियो। नयाँ सरकार गठनपछि पनि नेप्से २७३४ अंकसम्म पुगे पनि त्यसपछि निरन्तरता पाउन सकेन।
दशैंअघि बिक्री चाप बढ्नु स्वाभाविक
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार अहिले बजारमा देखिएको गिरावटलाई तत्कालीन रूपमा हेर्दा चाडपर्व र वित्तीय दायित्वको दबाब प्रमुख कारणमध्ये हुन्।
उनका अनुसार दशैं–तिहार नजिकिँदै गर्दा लगानीकर्तालाई घरायसी खर्चको जोहो गर्नुपर्ने हुन्छ। त्यसैगरी असोज मसान्तमा ब्याज तथा ऋणको किस्ता बुझाउनुपर्ने भएकाले कतिपय लगानीकर्ताले शेयर बिक्री गरेर रकम व्यवस्थापन गर्ने अवस्था आउँछ।
“बजारलाई अहिले चाडबाडले छोपेको छ। लगानीकर्तालाई दशैंको खर्च जुटाउनुपर्ने अवस्था छ। अर्कोतर्फ असोज मसान्तमा ब्याज र किस्ता बुझाउनुपर्ने हुन्छ,” ढकालको विश्लेषण छ, “यी कारणले गर्दा अहिले लगानीकर्तामा बिक्रीको दबाब केही बढी भएको देखिन्छ।” त्यसैले दशैंअघि बजारले गति लिन नसकेको उनको विश्लेषण छ।
राज्यले गर्नुपर्ने काम गरिसकेको
ढकालका अनुसार बजारको दीर्घकालीन सुधारका लागि आवश्यक नीतिगत कामका सन्दर्भमा सरकारले धेरै विषय सम्बोधन गरिसकेको छ। तर त्यसको प्रतिफल बजारमा देखिन लगानीकर्ताको विश्वास अर्थात् कन्फिडेन्स निर्णायक बन्ने उनको भनाइ छ।
उनले करका दरमा गरिएको सुधार, बैंकिङ प्रणालीमा घटेको ब्याजदर र वित्तीय प्रणालीमा पर्याप्त तरलता रहे पनि लगानीकर्ताको मनोबल पूर्ण रूपमा फर्किन नसकेको बताए।
“राज्यले गर्ने काम सबै गरिसकेको छ। नीतिदेखि लिएर धेरै कुरा भइसकेका छन्। करका दर घटेका छन्, फाइनल ट्याक्सको व्यवस्था छ। बैंकको ब्याज पनि करिब ६ प्रतिशतमा पाइने अवस्था आएको छ,” ढकालले भने।
उनका अनुसार बैंकिङ प्रणालीमा १६ खर्ब रुपैयाँभन्दा बढी नगद उपलब्ध रहेको अवस्थामा पनि शेयर बजारले अपेक्षित गति लिन नसक्नुको मुख्य विषय लगानीकर्ताको विश्वाससँग जोडिएको छ। “यस्तो अवस्थामा पनि बजार बढ्न नसक्नुको मुख्य कुरा लगानीकर्तामा कन्फिडेन्स आउन नसक्नु हो,” उनले भने।
दशैंपछि बजारले गति लिने अपेक्षा
ढकालले दशैंअघि बजारमा तत्काल ठूलो सुधार आउनेभन्दा दशैंपछिको अवस्थालाई महत्त्वपूर्ण रूपमा हेर्नुपर्ने बताएका छन्। उनका अनुसार अहिले चाडपर्वको खर्च, ब्याज तथा किस्ता भुक्तानी र लगानीकर्ताको मनोवैज्ञानिक अवस्थाले बजारलाई प्रभावित गरिरहेको छ। यी अस्थायी दबाबहरू कम भएपछि बजारले आफ्नो स्वाभाविक गति समात्न सक्ने उनको अपेक्षा छ।
“दशैं–तिहार अगाडि यी कारणले गर्दा बजार बढिहाल्छ जस्तो मलाई लाग्दैन। दशैंपछि भने बजारले आफ्नो गति लिन्छ भन्ने मलाई लाग्छ,” ढकालले भने।
प्रयास धेरै, तर बजारमा परिणाम किन देखिएन ?
शेयर बजार सुधारका लागि लगानीकर्ता संगठनदेखि सरकारसम्मबाट निरन्तर प्रयास हुँदै आए पनि बजारले स्थायी गति लिन नसक्नु अहिलेको मुख्य प्रश्न बनेको छ।
एकातर्फ लगानीकर्ताले बजार सुधारका लागि नीतिगत तथा संरचनागत माग अघि सार्दै आएका छन् भने अर्कोतर्फ सरकारले कर, ब्याजदर, तरलता तथा बजारसम्बन्धी विभिन्न नीतिगत कदम चाल्दै आएको छ। तर यी प्रयासले बजारमा अपेक्षित र दिगो विश्वास निर्माण गर्न सकेका छैनन्।
विशेषगरी नयाँ सरकार गठनपछि बजारमा सकारात्मक अपेक्षा गरिएको थियो। तर सरकार गठनपछिको अवधिमा पनि नेप्सेमा निरन्तर उतारचढाव देखिएको छ। यसैले गर्दा अहिले शेयर बजारको समस्या केवल ब्याजदर, तरलता वा कर नीतिमा मात्रै सीमित देखिदैन।
दशैंअघि देखिएको बिक्री चापलाई तत्कालीन मौसमी दबाबका रूपमा र त्यसपछि बजारले लिने दिशालाई लगानीकर्ताको विश्वास तथा बजारप्रतिको अपेक्षासँग जोडेर हेर्नुपर्ने अवस्था देखिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)









प्रतिक्रिया