NIMB Header 2
Prabhu Mahalaxmi

सिद्धार्थ बैंकले जोखिम व्यवस्थापन र गुणस्तरीय कर्जा विस्तारलाई प्राथमिकता दिने: अध्यक्ष अग्रवाल

United Ajod
  • BFIS News
  • 2026 Oct 14 12:21
सिद्धार्थ बैंकले जोखिम व्यवस्थापन र गुणस्तरीय कर्जा विस्तारलाई प्राथमिकता दिने: अध्यक्ष अग्रवाल
Sanima Reliance Life Insurance Company

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको ३ अर्ब ३७ करोड रुपैयाँको तुलनामा बैंकको खुद नाफा ३.३२ प्रतिशतले बढेको हो। चुनौतीपूर्ण आर्थिक तथा व्यावसायिक वातावरणका बाबजुद बैंकले नाफा वृद्धि गर्दै साधारण शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश पारित गरेको छ। 

Nepal Life
NIMB

बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालले समीक्षा वर्षमा बैंकले विवेकपूर्ण जोखिम व्यवस्थापन, सन्तुलित व्यवसाय विस्तार, लागत नियन्त्रण र गुणस्तरीय सम्पत्ति व्यवस्थापनमा जोड दिएको थियो। अर्थतन्त्रमा देखिएको सुस्तता, कर्जाको मागमा आएको संकुचन तथा ब्याजदर र तरलतासम्बन्धी चुनौतीका बाबजुद बैंकले वित्तीय प्रगति हासिल गरेको अध्यक्ष अग्रवालले बताए।

वि.सं. २०५९ पुस १० गतेदेखि वित्तीय कारोबार सुरु गरेको सिद्धार्थ बैंकले ग्राहकको विश्वास, सुशासन, व्यावसायिक उत्कृष्टता, नवप्रवर्तन र दिगोपनलाई प्राथमिकतामा राख्दै आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ।

अध्यक्ष अग्रवालका अनुसार ‘एसबीएल डिबेन्चर २०८२’ परिपक्व भएपछि ऋणपत्र भुक्तानी कोषमा सञ्चित रकममध्ये २ अर्ब १६ करोड २५ लाख ५९ हजार रुपैयाँ फिर्ता भएको छ। उक्त रकममध्ये १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी, समीक्षा वर्षको खुद नाफाबाट वैधानिक तथा नियामकीय जगेडा कोषमा आवश्यक रकम छुट्याएपछि कायम रहेको वितरणयोग्य मुनाफामध्येबाट चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको उनले बताए। उक्त नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ।

बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई पनि चुक्ता पूँजीको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यो लाभांश शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको १३६ दिनका लागि समानुपातिक रूपमा वितरण गर्ने प्रस्ताव हो।

निक्षेप र कर्जा दुवै विस्तार

समीक्षा वर्षमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ। बैंकको निक्षेप अघिल्लो आर्थिक वर्षको २ खर्ब ८३ अर्ब ४१ करोड रुपैयाँबाट बढेर ३ खर्ब ३१ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। यो १६.९६ प्रतिशतको वृद्धि हो।

त्यस्तै, कर्जा प्रवाह २ खर्ब २५ अर्ब ५४ करोड रुपैयाँबाट बढेर २ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। यसमा १०.०१ प्रतिशतको वृद्धि भएको छ। बैंकको लगानी पनि ८४ अर्ब १८ करोड रुपैयाँबाट बढेर १ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।

बजारमा अधिक तरलता कायम रहेकाले तरलता व्यवस्थापनका लागि बैंकले अल्पकालीन लगानी बढाएको अध्यक्ष अग्रवालले उल्लेख गरेका छन्। यससँगै बैंकको कुल सम्पत्ति अघिल्लो आर्थिक वर्षको ३ खर्ब ३८ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ३ खर्ब ८९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी ७.२४ प्रतिशत बढ्यो

बैंकको खुद ब्याज आम्दानीमा भएको वृद्धिले नाफा बढाउन सहयोग गरेको छ। समीक्षा वर्षमा कुल ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको २२ अर्ब ३१ करोड रुपैयाँबाट घटेर करिब २१ अर्ब ५ करोड रुपैयाँमा झरेको छ। तर, ब्याज खर्च पनि १३ अर्ब ८७ करोड रुपैयाँबाट घटेर करिब १२ अर्ब रुपैयाँमा सीमित भएपछि खुद ब्याज आम्दानी बढेको हो।

बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँबाट बढेर ९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन मुनाफा ४ अर्ब ९७ करोड रुपैयाँबाट बढेर ५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफामा २.६२ प्रतिशतको वृद्धि भएको बैंकले जनाएको छ।

बैंकको प्रति शेयर आम्दानी पनि सामान्य बढेको छ। अघिल्लो आर्थिक वर्षमा २२ रुपैयाँ ७६ पैसा रहेको प्रति शेयर आम्दानी समीक्षा वर्षमा २२ रुपैयाँ ७८ पैसा पुगेको छ। यसैगरी, प्रति शेयर नेटवर्थ २१९ रुपैयाँ ७७ पैसाबाट बढेर २२४ रुपैयाँ ८९ पैसा पुगेको प्रतिवेदनमा उल्लेख छ।

निष्क्रिय कर्जा बढे पनि असुलीमा जोड

बैंकको निष्क्रिय कर्जा अनुपात भने बढेको छ। अघिल्लो आर्थिक वर्षमा २.६२ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात समीक्षा वर्षमा ३.५२ प्रतिशत पुगेको छ। प्रतिकूल बजार अवस्थाका बाबजुद निष्क्रिय कर्जालाई नियन्त्रणमा राख्न पर्याप्त जोखिम व्यवस्था गरिएको र कर्जा असुलीलाई प्राथमिकता दिइएको अध्यक्ष अग्रवालले बताए। 

बैंकले अघिल्लो आर्थिक वर्षमा २४ करोड ३१ लाख रुपैयाँ बराबरको कर्जा अपलेखन गरेकोमा समीक्षा वर्षमा कर्जा अपलेखन गरेको छैन। साथै, यस अवधिमा अपलेखित कर्जामध्ये १ करोड १ लाख रुपैयाँ असुली गरेको छ। बाँकी अपलेखित कर्जा असुलीको प्रक्रिया पनि निरन्तर अघि बढाइएको बैंकले जनाएको छ।

डिजिटल बैंकिङ र प्रविधिमा लगानी विस्तार

सिद्धार्थ बैंकले डिजिटल रूपान्तरणलाई रणनीतिक प्राथमिकतामा राख्दै ग्राहकलाई सहज, सुरक्षित र छरितो बैंकिङ सेवा उपलब्ध गराउने प्रयास गरेको छ। बैंकले ‘Bank Smart XP’ तथा ‘EasyBank’ प्लेटफर्ममार्फत डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गरेको छ।

समीक्षा वर्षमा ‘Bank Smart XP’ मा विभिन्न नयाँ सुविधा थप गरिएको छ। यसैगरी, ‘सिद्धार्थ ईजी लोन’ सेवामार्फत योग्य ग्राहकलाई न्यून प्रक्रियागत झन्झटमा डिजिटल माध्यमबाट कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

बैंकले ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’, ‘सिद्धार्थ गोल्ड लोन’ र ‘सिद्धार्थ मेरो चित्र’ लगायतका सेवा पनि सञ्चालनमा ल्याएको छ। कर्जा प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन Loan Management System, Loan Origination System, Collateral Management System तथा Credit Recovery Application जस्ता प्रविधिमा आधारित प्रणालीलाई थप परिमार्जन गरिएको छ।

त्यसैगरी, खुद्रा कर्जामा Retail Scorecard Model को प्रयोग, ऋण स्वीकृति प्रक्रियाको स्वचालन र ग्राहक विश्लेषण प्रणालीमार्फत कर्जा मूल्याङ्कन तथा वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउने प्रयास गरिएको बैंकले जनाएको छ।

जोखिम व्यवस्थापन, सुशासन र दिगो बैंकिङमा जोड

बैंकले पूँजी पर्याप्तता, तरलता व्यवस्थापन, सञ्चालन जोखिम, बजार जोखिम तथा वातावरणीय र सामाजिक जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। अन्तर्राष्ट्रिय अभ्यासअनुरूप जोखिम पहिचान, मूल्याङ्कन र नियन्त्रणका प्रणालीलाई सुदृढ बनाउँदै लगिएको अध्यक्ष अग्रवालले बताए। 

यसका साथै, वातावरणीय, सामाजिक तथा संस्थागत सुशासन (ईएसजी) का सिद्धान्तलाई व्यावसायिक रणनीति र सञ्चालन प्रक्रियासँग एकीकृत गर्दै हरित वित्त, जलवायु वित्त, वातावरणमैत्री लगानी तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकता दिइएको उनले जानकारी दिए। 

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपन्न समुदायको उत्थानका क्षेत्रमा पनि विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। पारदर्शिता, उत्तरदायित्व, नैतिक आचरण तथा नियामकीय अनुपालनलाई संस्थागत सुशासनका आधारका रूपमा अघि बढाइएको बैंकको भनाइ छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त

सिद्धार्थ बैंकले समीक्षा अवधिमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको अध्यक्ष अग्रवालले उल्लेख गरेका छन्। बैंकले Infosys Finacle Innovation Awards 2026 अन्तर्गत ‘Maximizing Customer Engagement–Digital First Banking’ विधामा गोल्ड अवार्ड प्राप्त गरेको छ।

यसका अतिरिक्त Awards for Corporate Excellence 2025 तथा Visa Leadership Conclave अन्तर्गत पनि विभिन्न पुरस्कार प्राप्त गरेको बैंकले जनाएको छ। यी उपलब्धिले डिजिटल नवप्रवर्तन, ग्राहक सेवा र संस्थागत उत्कृष्टतामा बैंकको प्रयासलाई थप प्रोत्साहन गरेको अध्यक्ष अग्रवालको भनाइ छ।

गुणस्तरीय कर्जा विस्तार र निक्षेप आधार सुदृढ गर्ने लक्ष्य

आगामी दिनमा बैंकले डिजिटल रूपान्तरणलाई तीव्रता दिने, ग्राहक अनुभव सुधार गर्ने, जोखिम व्यवस्थापन सुदृढ बनाउने, गुणस्तरीय कर्जा विस्तार गर्ने र निक्षेपको आधार मजबुत बनाउने लक्ष्य लिएको छ।

मानव संसाधन विकास, प्रविधिमा आधारित बैंकिङ सेवा, दिगोपन, सुशासन र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै बैंकलाई थप सबल, प्रतिस्पर्धी र भविष्यउन्मुख संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि अध्यक्ष अग्रवालले व्यक्त गरेका छन्।

उनका अनुसार पछिल्लो समय आर्थिक गतिविधिमा सुधारका संकेत देखिन थालेका छन्। राजनीतिक स्थायित्व, नीतिगत निरन्तरता, निजी क्षेत्रको बढ्दो आत्मविश्वास तथा आर्थिक क्षेत्रप्रतिको सकारात्मक अपेक्षाले आगामी दिनमा लगानी, उत्पादन र रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

अध्यक्ष अग्रवालले सरकार, निजी क्षेत्र र वित्तीय संस्थाबीचको सहकार्यले आर्थिक पुनरुत्थानलाई गति दिने विश्वास व्यक्त गर्दै बैंकिङ क्षेत्रले वित्तीय समावेशीकरण र दिगो आर्थिक विकासमा अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।

उनले देशका विभिन्न भागमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

सिद्धार्थ बैंकको निरन्तर प्रगति र स्थायित्वका लागि शेयरधनी, ग्राहक, नियामक निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष अग्रवालले आगामी दिनमा पनि सबै सरोकारवालासँगको सहकार्य र विश्वासलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार