NIMB Header 2
Prabhu Mahalaxmi

सिटिजन्स बैंकको २०औँ साधारणसभाबाट ४ प्रतिशत लाभांश पारित, अग्राधिकार शेयर पछि चुक्ता पुँजी १८ अर्ब नाघ्ने

United Ajod
  • BFIS News
  • 2026 Oct 14 14:13
सिटिजन्स बैंकको २०औँ साधारणसभाबाट ४ प्रतिशत लाभांश पारित, अग्राधिकार शेयर पछि चुक्ता पुँजी १८ अर्ब नाघ्ने
IME LIFE

काठमाडौं, असोज २८। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारणसभाले शेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बुधबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न सभाले ०.२० प्रतिशत नगद लाभांश र ३.८० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

Nepal Life
NIMB

बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांशअनुसार शेयरधनीले कर प्रयोजनका लागि ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ २३ पैसा बराबरको नगद लाभांश प्राप्त गर्नेछन्। त्यस्तै, ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ ३४ पैसा बराबरको बोनस शेयर वितरण गरिनेछ।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित बैंक तथा यसका सहायक कम्पनीहरूको एकीकृत वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू पनि स्वीकृत गरेको छ।

यसैगरी, सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव स्वीकृत गरिएको हो।

सभाले बैंकको प्रबन्धपत्र संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ। बोनस शेयर वितरणबाट पुँजी वृद्धि हुने भएपछि प्रबन्धपत्रको दफा ५(ख) र ५(ग) मा रहेको जारी तथा चुक्ता पुँजीसम्बन्धी व्यवस्था संशोधन गर्न लागिएको हो। संशोधित व्यवस्थाअनुसार बैंकको कुल जारी तथा चुक्ता पुँजी १८ अर्ब ९ करोड ६७ लाख ४७ हजार २३१ रुपैयाँ कायम हुनेछ। बैंकले प्रस्ताव गरेको अग्राधिकार शेयर जारी गरे सँगै चुक्ता पूँजी १८ अर्ब नाघ्नेछ। हाल बैंकको चुक्ता पूँजी १५ अर्ब ५० करोड रुपैयाँ रहेको छ। बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी १६ अर्ब ९ करोड पुगेको छ। यसमा २ अर्बको अग्राधिकार शेयर जारी भए सँगै चुक्ता पूँजी १८ अर्ब नाघ्नेछ।  

प्रबन्धपत्र संशोधनका क्रममा सम्बन्धित निकायबाट प्राप्त हुने निर्देशनअनुसार आवश्यक थपघट तथा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया