गरिमा विकास बैंकको व्यवसाय विस्तारसँगै जोखिम व्यवस्थापनमा जोड
- BFIS News
- 2026 Oct 13 14:38
काठमाडौं । गरिमा विकास बैंकका सञ्चालक समितिका अध्यक्ष दिलिप प्रताप खाँडले बैंकले व्यवसाय विस्तार सँगै जोखिम व्यवस्थापनमा जोड दिएको बताएका छन्। बैंकको सोमबार सम्पन्न २० औं वार्षिक साधारणसभामा बोल्दै उनले चुनौतीपूर्ण आर्थिक परिवेशमा व्यवसायको आकार बढाउनुभन्दा गुणस्तरीय, सन्तुलित र दिगो रूपमा अघि बढ्नु महत्वपूर्ण रहेको बताएका हुन्।
आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको निष्क्रिय कर्जा अनुपात भने बढेर ४.७७ प्रतिशत पुगेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष दिलिप प्रताप खाँणले सोमबार सम्पन्न बैंकको २०औँ वार्षिक साधारणसभामा प्रस्तुत मन्तव्यमा यस्तो जानकारी दिएका हुन्।
अध्यक्ष खाँणका अनुसार बैंकले समीक्षा वर्षमा निक्षेप परिचालन र कर्जा लगानी दुवैमा वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप ९९ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप ७.७५ प्रतिशतले बढेको हो। त्यसैगरी, कर्जा लगानी १०.२२ प्रतिशतले वृद्धि भई ८४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।
तर, बैंकको निष्क्रिय कर्जा अनुपातमा सामान्य वृद्धि देखिएको छ। २०८२ असार मसान्तमा ४.६९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात २०८३ असार मसान्तमा बढेर ४.७७ प्रतिशत पुगेको अध्यक्ष खाँणले बताए। उनका अनुसार कर्जा विस्तारसँगै कर्जाको गुणस्तर कायम गर्ने, जोखिमको समयमै पहिचान गर्ने र कर्जा असुली प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा बैंकले निरन्तर काम गरिरहेको छ।
शेयरधनीलाई २० प्रतिशत लाभांश पारित
गरिमा विकास बैंकले शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ। सभाले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
उनका अनुसार बैंकको वित्तीय अवस्था, आगामी व्यवसाय विस्तारका लागि आवश्यक पूँजी, पूँजी पर्याप्तता र शेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यलाई सन्तुलित गर्दै लाभांश प्रस्ताव गरिएको हो। लाभांश बैंकको २०८३ असार मसान्तमा कायम सञ्चित मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरिएको छ।
सुस्त अर्थतन्त्रले कर्जा विस्तारमा चुनौती
अध्यक्ष खाँणले समीक्षा वर्षमा मुलुकको आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्दा बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए। अर्थतन्त्रमा देखिएको शिथिलता, लगानीको वातावरणमा आएको परिवर्तन, कर्जाको मागमा अपेक्षित वृद्धि हुन नसक्नु र बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जाको दबाबले बैंकिङ व्यवसाय प्रभावित भएको उनको भनाइ छ।
पर्याप्त लगानीयोग्य रकम उपलब्ध हुनुका साथै कर्जाको ब्याजदर ऐतिहासिक न्यून बिन्दुमा झरे पनि आर्थिक गतिविधिमा आएको सुस्तताका कारण समग्र बैंकिङ क्षेत्रमा कर्जा विस्तार अपेक्षाअनुसार हुन नसकेको उनले उल्लेख गरे।
यस्तो परिस्थितिमा व्यवसायको आकार बढाउनेभन्दा गुणस्तरीय, सन्तुलित र दिगो व्यवसाय विस्तारमा ध्यान दिनुपर्ने अध्यक्ष खाँणको भनाइ छ। सोहीअनुसार गरिमा विकास बैंकले व्यवसाय विस्तारसँगै जोखिम व्यवस्थापन, कर्जाको गुणस्तर, तरलता व्यवस्थापन र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेको उनले बताए।
डिजिटल बैंकिङ र जोखिम व्यवस्थापनमा जोड
अध्यक्ष खाँणले प्रविधिको तीव्र विकाससँगै बैंकिङ क्षेत्रको स्वरूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै डिजिटल रूपान्तरणलाई बैंकिङ व्यवसायको अपरिहार्य आवश्यकता बताए। ग्राहकको व्यवहार, अपेक्षा र सेवाप्रतिको दृष्टिकोण परिवर्तन भइरहेकाले बैंकले सेवा प्रवाहलाई आधुनिक र प्रविधिमैत्री बनाउने कामलाई प्राथमिकता दिएको उनको भनाइ छ।
बैंकले ग्राहकलाई प्रदान गरिने सेवाको डिजिटल रूपान्तरणसँगै आन्तरिक कार्यप्रणालीलाई पनि स्वचालित बनाउने नीति अवलम्बन गरेको छ। आगामी दिनमा प्रविधिको प्रयोग विस्तार गरी बैंकिङ सेवालाई थप सहज, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य रहेको अध्यक्ष खाँणले बताए।
उनले आर्थिक उतारचढाव, नियामकीय परिवर्तन, साइबर जोखिम, बढ्दो प्रतिस्पर्धा र ग्राहकका बदलिँदा आवश्यकतालाई बैंकिङ क्षेत्रका प्रमुख चुनौतीका रूपमा औँल्याए। यस्ता चुनौतीको सामना गर्न र संकटपछि अझ बलियो भएर अघि बढ्न बैंकले Resilient Banking अर्थात् प्रतिकूल परिस्थितिमा पनि स्थायित्व कायम राख्दै अनुकूलन हुन सक्ने बैंकिङ अवधारणालाई रणनीतिक प्राथमिकतामा राखेको उनले उल्लेख गरे।
संस्थागत सुशासन र पूँजीगत सुदृढीकरणमा प्राथमिकता
अध्यक्ष खाँणले बैंकको दीर्घकालीन सफलता नाफा र व्यवसायको आकारमा मात्र निर्भर नहुने बताए। पारदर्शिता, जवाफदेहिता, नैतिक व्यावसायिक अभ्यास, प्रभावकारी आन्तरिक नियन्त्रण र सुदृढ जोखिम व्यवस्थापन संस्थागत स्थायित्वका आधार भएको उनको भनाइ छ।
बैंकले नियामक निकायबाट जारी नीति, नियम, निर्देशन तथा परिपत्रको पालना गर्दै आएको छ। आन्तरिक नियन्त्रण र अनुगमनलाई प्रभावकारी बनाउन केन्द्रीय कार्यालयसँगै देशका विभिन्न स्थानमा रहेका १० वटा क्षेत्रीय कार्यालयमार्फत बैंकका गतिविधिको अनुगमन तथा सञ्चालन भइरहेको अध्यक्ष खाँणले जानकारी दिए।
बैंकको पूँजीगत आधार सुदृढ बनाउने उद्देश्यले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिएको थियो। उक्त ऋणपत्र हाल दोस्रो बजारमा कारोबार भइरहेको छ। व्यवसाय विस्तार र जोखिम वहन क्षमता बढाउन पर्याप्त तथा गुणस्तरीय पूँजीकोष आवश्यक रहेकाले आगामी दिनमा पनि पूँजीगत सुदृढीकरणलाई प्राथमिकता दिइने उनले बताए।
कर्मचारीको क्षमता विकासमा जोड
अध्यक्ष खाँणले बैंकको प्रगति र सेवा निरन्तरतामा कर्मचारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। चुनौतीपूर्ण परिस्थितिमा पनि ग्राहकको विश्वास कायम राख्न र बैंकका रणनीति कार्यान्वयन गर्न कर्मचारीले योगदान पुर्याएको भन्दै उनले धन्यवाद व्यक्त गरे।
आगामी दिनमा कर्मचारीको क्षमता विकास, नेतृत्व विकास, प्रविधिमैत्री सीप र व्यावसायिक दक्षता अभिवृद्धिलाई प्राथमिकता दिइने उनले बताए।
बैंकको प्रगति र सफलतामा शेयरधनी, नियामक निकाय, ग्राहक, सञ्चार क्षेत्र, सञ्चालक समिति, कर्मचारी तथा अन्य सरोकारवालाको योगदान रहेको उल्लेख गर्दै अध्यक्ष खाँणले आगामी दिनमा बैंकिङ सेवालाई थप परिष्कृत बनाउँदै गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)










प्रतिक्रिया