रामायण सर्किटअन्तर्गत जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा, बालेन र मौदीले उद्घाटन गर्दै
- BFIS News
- 2026 Oct 30 12:14
काठमाडौँ । नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले रामायण सर्किटअन्तर्गत जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन शाहको आगामी भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने लक्ष्य राखिएको छ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीले रेल सेवा सञ्चालनका लागि नेपाल र भारतबीच आवश्यक तयारी भइरहेको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्रत्यक्ष रेल सेवा उद्घाटन गर्ने गरी छलफल अघि बढाइएको छ।
रेल सेवा सञ्चालनका लागि दुवै देशका रेल्वे, भन्सार तथा सुरक्षा अधिकारीहरूबीच छलफल भइरहेको छ। यसअघि जयनगर–जनकपुरधाम–कुर्था रेल खण्डमा दुवै देशका अधिकारीले सीमापार स्थलगत निरीक्षणसमेत गरिसकेका छन्।
सेवा सञ्चालनलाई व्यवस्थित र सहज बनाउन नेपाल र भारतबीच सुरक्षा व्यवस्थासम्बन्धी सहमति भएको छ। सहमतिअनुसार दुवै देशले आ–आफ्नो सीमाभित्र यात्रु तथा रेल पूर्वाधारको सुरक्षाको जिम्मेवारी सम्बन्धित राष्ट्रिय सुरक्षा निकायमार्फत व्यवस्थापन गर्नेछन्।
त्यस्तै, सीमापार रेल सञ्चालनका क्रममा हुन सक्ने ढिलाइ न्यूनीकरण गर्न यातायात व्यवस्थापन, रेलमार्गको मर्मतसम्भार तथा भन्सार जाँचसम्बन्धी प्रक्रियालाई समेत समन्वय गर्ने तयारी छ।
हाल नेपालमा भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म यात्रुवाहक रेल सेवा सञ्चालनमा छ। प्रस्तावित नयाँ सेवाले जनकपुरधामलाई भारतको अयोध्यासँग प्रत्यक्ष रूपमा जोड्नेछ।
सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई रेलमार्गबाट जोड्ने योजनाले धार्मिक पर्यटन तथा सांस्कृतिक आवागमनलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। यसबाट नेपाल र भारतका तीर्थयात्रीलाई आवतजावत सहज हुनुका साथै सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
विशेषगरी मधेश प्रदेशमा धार्मिक पर्यटनको विस्तार, स्थानीय व्यवसायको प्रवर्द्धन तथा क्षेत्रीय आर्थिक एकीकरणमा यो रेल सेवाले योगदान पुर्याउने स्थानीय व्यवसायीहरूको अपेक्षा छ।
प्रधानमन्त्री बालेन शाह आगामी मङ्सिर ६ गते भारत भ्रमणमा जाने कार्यक्रम छ। सोही भ्रमणका क्रममा जनकपुरधाम–अयोध्या प्रत्यक्ष रेल सेवाको संयुक्त उद्घाटन गर्ने तयारी गरिएको हो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)










प्रतिक्रिया