निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त, यस्तो छ अनुभव
- BFIS News
- 2026 Nov 04 22:26
काठमाडौं। सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नियुक्तिपछि बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गरे। सो अवसरमा मन्त्री वाग्लेले उनलाई सफल कार्यकालको शुभकामना दिँदै संस्थाको गरिमा कायम राख्न र नागरिकको निक्षेप सुरक्षासम्बन्धी जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिए।
नेपाल राष्ट्र बैंकमा २५ वर्षभन्दा बढी अनुभव
गुल्मीको धुर्कोट गाउँपालिका–६ स्थायी ठेगाना भएका भण्डारीसँग नेपालको वित्तीय तथा मौद्रिक क्षेत्रको नीति निर्माण, अनुसन्धान र नियमनमा लामो अनुभव छ। उनले नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन्।
भण्डारीले सन् २०१८ अप्रिलदेखि २०२५ अप्रिलसम्म नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा काम गरेका थिए। यस अवधिमा उनले गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, मौद्रिक व्यवस्थापन विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, मानव संसाधन व्यवस्थापन विभाग तथा संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको नेतृत्व गरेका थिए।
त्यसअघि उनले सन् २०१२ देखि २०१८ सम्म राष्ट्र बैंकमा निर्देशक र सन् २००७ देखि २०१२ सम्म उपनिर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए। सन् २००० देखि २००७ सम्म सहायक निर्देशकका रूपमा समेत काम गरेका भण्डारीले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा लामो समय बिताएका छन्।
उनले राष्ट्र बैंकको जनकपुर र नेपालगञ्ज कार्यालयमा समेत जिम्मेवारी सम्हालेका थिए। साथै, सन् २०१९ जुलाईदेखि २०२० अगस्टसम्म निक्षेप तथा कर्जा सुरक्षण कोषकै सञ्चालक समिति सदस्यका रूपमा काम गरेको अनुभव पनि उनीसँग छ।
सेयर बजारदेखि ग्रामीण विकास बैंकसम्मको अनुभव
भण्डारीले सन् २०२५ डिसेम्बरदेखि २०२६ मेसम्म नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यका रूपमा काम गरेका थिए। यसबाहेक नेपाल ग्रामीण विकास बैंकको सञ्चालक समिति सदस्य, पाँचवटा क्षेत्रीय ग्रामीण विकास बैंकको संयुक्त मर्जर समितिका सदस्य तथा मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंकको व्यवस्थापन टोलीको संयोजकका रूपमा समेत काम गरिसकेका छन्।
उनको कार्यअनुभव मौद्रिक नीति, समष्टिगत विवेकशील नीति (म्याक्रोप्रुडेन्सियल पोलिसी), मुद्रा तथा पुँजी बजार, आर्थिक वृद्धि तथा विकास, अन्तर्राष्ट्रिय व्यापार र वित्तीय क्षेत्रसम्म फैलिएको छ।
अर्थशास्त्रमा स्नातकोत्तर, दुई स्वर्ण पदक
भण्डारीले सन् २००६ मा बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डबाट अन्तर्राष्ट्रिय अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले सन् १९९६ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर र सन् १९९४ मा बुटवल बहुमुखी क्याम्पसबाट स्नातक तह पूरा गरेका हुन्।
स्नातकोत्तर तहमा त्रिभुवन विश्वविद्यालयमा सर्वाधिक अंकसहित प्रथम स्थान हासिल गरेका उनले महेन्द्र विद्याभूषण 'ख', तारापद चौधरी स्वर्ण पदक र खगेन्द्रमान सिंह प्रधान स्वर्ण पदक प्राप्त गरेका छन्।
उनका नेपाल राष्ट्र बैंकको आर्थिक समीक्षा तथा अन्तर्राष्ट्रिय आर्थिक प्रकाशनमा अनुसन्धानमूलक लेखहरू प्रकाशित छन्। नेपालमा सम्भावित उत्पादन तथा उत्पादन अन्तर (Potential Output and Output Gap in Nepal) र आर्थिक संकटपछिको अवधिमा नेपालको लगानीसम्बन्धी अनुसन्धान उनका प्रमुख प्रकाशनमध्ये पर्छन्।
केन्द्रीय बैंकको क्षमता विकास, मौद्रिक नीति, समष्टिगत आर्थिक व्यवस्थापन तथा वित्तीय क्षेत्रका विषयमा उनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), फेडरल रिजर्भ बैंक अफ न्युयोर्क, एसियाली विकास बैंक, बैंक इन्डोनेसिया र विभिन्न अन्तर्राष्ट्रिय संस्थाले आयोजना गरेका तालिम तथा सेमिनारमा सहभागिता जनाएका छन्।
वित्तीय क्षेत्रको नियमन, मौद्रिक व्यवस्थापन, पुँजी बजार र निक्षेप सुरक्षणसम्बन्धी अनुभव भएका भण्डारीको नियुक्तिलाई कोषको नेतृत्वमा वित्तीय क्षेत्रको अनुभवी व्यक्तिको आगमनका रूपमा हेरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)




 (3) (1).gif)


.gif)
.gif)







प्रतिक्रिया