सूर्यज्योति लाइफको बीमा शुल्क आर्जन २१ प्रतिशतले बृद्धि, जीवन बीमा कोष ५४ अर्ब २३ करोड नाघ्यो
- BFIS News
- 2026 Nov 09 10:02
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल बीमा शुल्क आर्जन २०.९३ प्रतिशतले बढे पनि चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा भने १५.९५ प्रतिशतले घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा ३ अर्ब ५७ करोड ६ लाख ८१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९५ करोड २७ लाख ६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो।
बीमा शुल्क आर्जनमा सुधार देखिए पनि कम्पनीको खुद नाफा १० करोड २९ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १२ करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार कम्पनीको नाफा १५.९५ प्रतिशतले घटेको हो।
प्रिमियम आर्जनमा सुधार
कम्पनीको प्रथम वर्ष प्रिमियम (सिंगल प्रिमियमसहित) ३८.४ प्रतिशतले बढेर ९४ करोड ३३ लाख ७५ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो प्रिमियम ६८ करोड १६ लाख ७७ हजार रुपैयाँ थियो। यसले नयाँ बीमालेख बिक्रीबाट हुने प्रिमियम आर्जनमा सुधार भएको देखाउँछ।
त्यस्तै, कम्पनीको कुल आम्दानी ४ अर्ब ६४ करोड ९२ लाख ७६ हजार रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ३ अर्ब ९५ करोड ५० लाख ५३ हजार रुपैयाँ थियो। यस अवधिमा लगानी तथा कर्जाबाट हुने आम्दानी ९४ करोड ३६ लाख ३६ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ८९ करोड १६ लाख ५१ हजार रुपैयाँभन्दा बढी हो।
खर्च वृद्धि हुँदा नाफामा दबाब
प्रिमियम तथा कुल आम्दानी बढे पनि खर्चमा भएको वृद्धिले कम्पनीको नाफामा दबाब परेको देखिन्छ। कम्पनीको कुल खर्च १९.१७ प्रतिशतले बढेर ४ अर्ब ४९ करोड ९४ लाख ९५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ३ अर्ब ७७ करोड ५५ लाख १३ हजार रुपैयाँ थियो।
विशेषगरी अभिकर्ताले पाउने कमिसन खर्चमा उल्लेख्य वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ करोड ८४ लाख ९७ हजार रुपैयाँ कमिसन खर्च गरेको छ। अघिल्लो वर्ष यस्तो खर्च २१ करोड ८४ लाख ४६ हजार रुपैयाँ थियो।
त्यसैगरी, कुल लाभ तथा दाबी भुक्तानी ७२ करोड ८३ लाख ४२ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो भुक्तानी ७० करोड ५६ लाख ४१ हजार रुपैयाँ थियो। कर्मचारी लाभ खर्च भने १८ करोड ६४ लाख ५६ हजार रुपैयाँ रहेको छ।
कम्पनीको व्यवस्थापन खर्च कुल प्रिमियमको ७.६८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ९ प्रतिशत थियो। यसले व्यवस्थापन खर्च नियन्त्रणमा सुधार भएको देखाउँछ। तर, प्रथम प्रिमियमको तुलनामा अभिकर्तासम्बन्धी खर्च २.९७ प्रतिशतबाट बढेर ३.१६ प्रतिशत पुगेको छ।
जीवन बीमा कोष र लगानीमा उल्लेख्य वृद्धि
कम्पनीको कुल सम्पत्ति २.५१ प्रतिशतले बढेर ६२ अर्ब ४७ करोड ८४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा कम्पनीको कुल सम्पत्ति ६० अर्ब ९४ करोड ८८ लाख रुपैयाँ थियो।
त्यस्तै, कुल लगानी २०.९३ प्रतिशतले बढेर ५२ अर्ब ५० करोड ८८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो लगानी ४३ अर्ब ४१ करोड ९० लाख रुपैयाँ थियो। कम्पनीको कुल सम्पत्तिमा लगानीको हिस्सा करिब ८४ प्रतिशत रहेको छ।
जीवन बीमा कोष पनि २३.७१ प्रतिशतले बढेर ५४ अर्ब २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कोष ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ थियो। बीमा कोषमा भएको वृद्धिले कम्पनीको दीर्घकालीन बीमा दायित्वसँग सम्बन्धित वित्तीय आधार विस्तार भएको देखाउँछ।
त्यस्तै, कम्पनीको कुल इक्विटी ४.५७ प्रतिशतले बढेर ६ अर्ब ९० करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कुल इक्विटी ६ अर्ब ६० करोड ११ लाख रुपैयाँ थियो।
सोल्भेन्सी अनुपातमा सुधार, प्रतिसेयर आम्दानी घट्यो
कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात २.९८७ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात २.४७ थियो। यसअनुसार कम्पनीको सोल्भेन्सी अनुपातमा सुधार देखिएको छ।
तर, नाफा घटेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७८ पैसाबाट घटेर ८ रुपैयाँ २२ पैसामा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा र प्रतिसेयर सम्पत्ति १ हजार २४६ रुपैयाँ ५२ पैसा रहेको छ।
नेप्सेमा कम्पनीको सेयर मूल्य समीक्षा अवधिमा अधिकतम ४२७ रुपैयाँ ९० पैसा र न्यूनतम ३९० रुपैयाँ २० पैसा कायम भएको थियो। अन्तिम कारोबार मूल्य ४२६ रुपैयाँ रहेको छ। उक्त अवधिमा कम्पनीको सेयरमा ६१ कारोबार दिनमा ७ हजार ९९९ कारोबार भएको वित्तीय विवरणमा उल्लेख छ।
अन्य आयमा सुधार
कम्पनीको अन्य व्यापक आय २३ करोड ५९ लाख २२ हजार रुपैयाँ सकारात्मक रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ४० करोड ३० लाख ९६ हजार रुपैयाँ ऋणात्मक थियो।
यससँगै कम्पनीको कुल व्यापक आय ३३ करोड ८८ लाख ७९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कुल व्यापक आय २८ करोड ६ लाख ५ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।
कम्पनीले जोखिम व्यवस्थापनका लागि नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि र मलेसियास्थित ह्यानोभर रेसँग पुनर्बीमा सम्झौता गरेको जनाएको छ। चालु अवधिमा कम्पनीविरुद्ध वा कम्पनीले अन्य पक्षविरुद्ध कुनै कानुनी कारबाही नरहेको पनि वित्तीय विवरणमा उल्लेख छ। कम्पनीले नेपाल बीमा प्राधिकरणको कर्पोरेट गभर्नेन्स निर्देशिका, २०७५ लगायत प्रचलित नियामकीय व्यवस्था पालना गरेको जनाएको छ।
चुनौतीबीच विस्तारको अवसर
कम्पनीले जीवन बीमा क्षेत्रमा सर्वसाधारणमा बीमासम्बन्धी चेतनाको कमी, नयाँ बीमा उत्पादन तथा पोलिसी विकासका लागि विश्वसनीय तथ्यांकको अभाव र विश्वव्यापी आर्थिक संकटलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ।
सूर्य लाइफ र ज्योति लाइफको मर्जरबाट स्थापित कम्पनीका लागि बढ्दो प्रिमियम आर्जन, विस्तारित जीवन बीमा कोष, लगानीमा भएको वृद्धि र सुधारिएको सोल्भेन्सी अनुपात सकारात्मक पक्षका रूपमा देखिएका छन्। यद्यपि, बढ्दो कमिसन तथा दाबीसम्बन्धी खर्च नियन्त्रण गर्दै नाफा वृद्धि गर्नु कम्पनीको प्रमुख चुनौती देखिन्छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया