नेपाली बजारमा सुनको भाउ अधिकतम विन्दुबाट ९६ हजार ७०० रुपैयाँले घट्यो, प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ
- BFIS News
- 2026 Nov 22 11:49
काठमाडौं, मंसिर ६ । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको हो। विगत एक वर्षको अवधिमा सुनको भाउ अधिकतम विन्दुबाट प्रतितोला ९६ हजार ७०० रुपैयाँ घटेको छ। यस अवधिमा सुनको भाउ अधिकतम तीन लाख ३९ हजार ६०० रुपैयाँसम्म पुगेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम थियो। दुई दिनको अवधिमा सुनको मूल्यमा २ हजार ८०० रुपैयाँको गिरावट आएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार ६५ रुपैयाँमा झरेको छ। यसअनुसार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको हो।
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्नुमा अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभाव देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पछिल्ला पाँच कारोबार दिनदेखि निरन्तर दबाबमा परेको छ। उपलब्ध बजार विवरणअनुसार सुनको मूल्य प्रतिऔंस ३ हजार ५२४.८ अमेरिकी डलरमा झरेको छ। यो १५९.५४ डलर अर्थात् ४.३३ प्रतिशतको गिरावट हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नुको प्रमुख कारण अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको मौद्रिक नीतिसम्बन्धी संकेतलाई मानिएको छ। अक्टोबरमा बसेको फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) बैठकको विवरण सार्वजनिक भएपछि ब्याजदर थप बढ्न सक्ने अनुमान बलियो बनेको छ। बैठकमा सहभागी अधिकांश अधिकारीले मुद्रास्फीतिको दबाब नियन्त्रण गर्न थप ब्याजदर वृद्धि आवश्यक पर्न सक्ने धारणा राखेका थिए।
यसैबीच, फेडरल रिजर्भका गभर्नर क्रिस्टोफर वालरले मुद्रास्फीतिमा उल्लेख्य सुधार नदेखिए डिसेम्बरमा ब्याजदर ०.५० प्रतिशत विन्दुले बढाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए। यसले पनि सुनको मूल्यमा थप दबाब सिर्जना गरेको छ।
अमेरिकी डलर बलियो हुनु र अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल बढ्नुले पनि सुनको आकर्षण कमजोर बनाएको छ। त्यस्तै, अक्टोबर महिनाको अमेरिकी खुद्रा बिक्री अपेक्षाभन्दा राम्रो देखिएपछि अमेरिकी अर्थतन्त्र उच्च ब्याजदरको दबाब थेग्न सक्ने आकलन गरिएको छ। ब्याजदर बढ्ने अपेक्षाले प्रतिफल नदिने सम्पत्ति मानिने सुनमा लगानीकर्ताको आकर्षण घटाएको हो।
अन्तर्राष्ट्रिय बजारमा आगामी साता सार्वजनिक हुने अमेरिकी व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकांकलाई सुनको मूल्यको दिशाका लागि महत्त्वपूर्ण रूपमा हेरिएको छ। अमेरिकामा थ्याङ्क्सगिभिङ बिदाका कारण अन्य आर्थिक तथ्यांक र फेडरल रिजर्भका अधिकारीहरूको सार्वजनिक अभिव्यक्ति भने सीमित हुन सक्ने देखिन्छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया