Siddartha Bank
Prabhu Mahalaxmi

माइजोगमाईका नागरिकको आर्थिक सुरक्षा र जोखिम न्यूनीकरणका लागि बीमा सचेतना कार्यक्रम

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 24 21:10
माइजोगमाईका नागरिकको आर्थिक सुरक्षा र जोखिम न्यूनीकरणका लागि बीमा सचेतना कार्यक्रम
United Ajod

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले इलामको माइजोगमाई गाउँपालिकामा बीमाको महत्व, पहुँच र प्रभावकारी कार्यान्वयनका विषयमा बीमासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

Siddartha Bank
EBL
Nepal Life

मंगलबार गाउँपालिकामा आयोजित कार्यक्रममा बीमाको आवश्यकता, कृषि तथा पशुपन्छी बीमा, बीमा दाबी प्रक्रिया, बीमितको अधिकार तथा बीमा सेवाको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको थियो। नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख राजेन्द्र महर्जनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि माइजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले बीमालाई स्थानीय नागरिकको आर्थिक सुरक्षा र जोखिम न्यूनीकरणको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताए। उनले गाउँपालिकाका भवन, सवारीसाधन तथा अन्य सम्पत्तिको बीमा गर्नुका साथै स्थानीय नागरिक, कृषक र पशुपालकलाई बीमाको दायरामा ल्याउन गाउँपालिकाले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद आचार्यले बीमाको आवश्यकता र स्थानीय तहबाट बीमा कार्यक्रमको प्रवर्द्धन तथा कार्यान्वयनमा गर्न सकिने सहयोगका विषयमा धारणा राखे।

त्यस्तै, गाउँपालिकाका उपाध्यक्ष प्रविना राईले नागरिकको आर्थिक सुरक्षासँग बीमालाई जोड्दै विशेषगरी कृषि तथा पशुपन्छी बीमाको पहुँच विस्तार गर्नुपर्ने बताइन्। उनले ग्रामीण क्षेत्रसम्म बीमासम्बन्धी जानकारी र सेवा प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याइन्।

कार्यक्रममा सहभागीका जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले आगामी दिनमा माइजोगमाई गाउँपालिकासँग समन्वय गरी गाउँपालिकाका सम्पत्ति, कर्मचारी तथा स्थानीय नागरिकको दुर्घटना बीमालगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए।

उनले स्थानीय तहलाई क्रमशः बीमाको पहुँचभित्र ल्याउने उद्देश्यले प्राधिकरणको कोशी प्रदेश कार्यालयले स्थानीय स्तरसम्म बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताए। स्थानीय सरकारसँगको समन्वयमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।

कार्यक्रमले स्थानीय तहमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै कृषि तथा पशुपन्छी बीमाको पहुँच विस्तार, बीमा दाबी प्रक्रियामा सहजीकरण र स्थानीय सरकार तथा बीमा क्षेत्रबीचको समन्वय सुदृढ गर्न सहयोग पुग्ने सहभागीले बताएका थिए।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि तथा कर्मचारी, कृषक, सहकारीकर्मी, स्थानीय उद्यमी र विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयकी सहायक निर्देशक सविता झाले गरेकी थिइन्।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया