Nepal Life

बजेटको चटारो : कसरी जुटाउँदैछ सरकारले १८ खर्ब ?

NMB Bank
  • BFIS News
  • 2024 Feb 20 13:39
बजेटको चटारो : कसरी जुटाउँदैछ सरकारले १८ खर्ब ?
United Ajod

काठमाडौं । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्बको बजेट सीमा (सिलिङ) तोकेको छ। चालु आवको शुरुवाती विनियोजन भन्दा रु ५० अर्ब र अर्धवार्षिक समीक्षापछिको खर्चको अनुमान भन्दा रु दुई खर्ब ७० अर्ब ठूलो आकारको खर्चको सीमा निर्धारण गरिएको हो। ठूलो आकारको बजेट ल्याउने तर लक्ष्यअनुसार राजस्व सङ्कलन र खर्च गर्न नसक्ने विद्यमान परिस्थितिमा आगामी आवका लागि रु १८ खर्बको स्रोत कहाँबाट जुट्छ र खर्च कसरी हुन्छ भन्नेमा प्रश्न छ।

Shikhar
Nepal Life
NIMB

सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड ५१ लाख बराबरको बजेट विनियोजन भएको थियो। बजेटको अर्धवार्षिक समीक्षामार्फत् स्रोत र खर्चको अनुमान संशोधन गरेर रु १५ खर्ब ३० अर्ब २६ करोडमा झारिएको छ। गत जेठमा बजेट ल्याउँदा तय भएको आम्दानी र खर्चको प्रक्षेपण माघ मसान्तसम्म आइपुग्दा करिब सवा दुई खर्बले आकार घटेको छ। अर्धवार्षिक समीक्षालगत्तै तयार भएको बजेट सिलिङ भने रु १८ खर्बको छ।

आगामी आर्थिक वर्षका लागि राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्दा रु १२ खर्ब ४५ अर्ब बराबर सरकारी राजस्वको अनुमान गरिएको छ। जबकि चालु आवको बजेटका लागि सरकारले रु १२ खर्ब ४८ अर्ब ६२ करोड बराबर आन्तरिक राजस्व उठाउने गरी स्रोत देखाएको थियो। अर्थात्, चालु आर्थिक वर्षको शुरुवाती लक्ष्यभन्दा आगामी आर्थिक वर्षको राजस्व सङ्कलनको अनुमान करिब रु तीन अर्बले न्यून हो।

त्यस्तै, आगामी आवमा रु दुई खर्ब ६० अर्ब बराबर वैदेशिक सहायता लिने अनुमान गरिएको छ। वैदेशिक सहायताको रकममध्ये रु ५० अर्ब अनुदान र रु दुई खर्ब १० अर्ब बाह्य ऋण उठाइनेछ। चालु आर्थिक वर्षमा सरकारले रु दुई खर्ब १२ अर्ब बराबर बाह्य ऋण उठाउने गरी बजेट स्रोत देखाएको थियो।

आगामी आर्थिक वर्षमा आन्तरिक ऋणको सीमा रु दुई खर्ब ९५ अर्ब तोकिएको छ। चालु आवको बजेटमा आन्तरिक ऋण रु दुई खर्ब ४० अर्ब बराबर उठाउने उल्लेख छ। राष्ट्रिय स्रोत अनुमान समितिले मध्यमकालिन खर्च संरचनाको अनुमान गर्दा आव २०८२/८३ का लागि रु २१ खर्ब र आव २०८३/८४ का लागि रु २४ खर्ब ५५ अर्ब बराबर खर्चको सीमा निर्धारण गरेको छ। आव २०८२/८३ को रु २१ खर्बको बजेटका लागि रु १४ खर्ब ५३ अर्ब आन्तरिक राजस्व, रु तीन खर्ब १२ अर्ब वैदेशिक सहायता र रु तीन खर्ब ३५ अर्ब आन्तरिक ऋण उठाइने अनुमान गरिएको छ। आर्थिक वर्ष २०८३/८४ का लागि रु २४ खर्ब ५५ अर्बको बजेट ल्याउँदा रु १७ खर्ब तीन अर्ब आन्तरिक राजस्व उठाउने, रु तीन खर्ब ७४ अर्ब वैदेशिक सहायता लिने र रु तीन खर्ब ७७ अर्ब आन्तरिक ऋण लिने लक्ष्य राखिएको छ।

राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण गर्दा समितिले आगामी तीन आर्थिक वर्षको आर्थिक वृद्धिदरको पनि अनुमान गरेको छ। आगामी आर्थिक वर्षमा ६ प्रतिशत, आर्थिक वर्ष २०८२/८३ मा साढे ६ प्रतिशत, र आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरिएको हो। त्यस्तै, मुद्रास्फीति आगामी तीन आर्थिक वर्षमा समान साढे पाँच प्रतिशतको वाञ्छित सामीभित्र राख्ने अनुमान गरिएको छ।

राजस्व वृद्धिदर आर्थिक वर्ष २०८१/२ मा १६ दशमलव चार, आर्थिक वर्ष २०८२/८३ मा १६ दशमलव ८ र आर्थिक वर्ष २०८३/८४ मा १७ दशमलव तीन प्रतिशत रहने अनुमान गरिएको छ। कुल गार्हस्थ्य उत्पादनको तुलनामा राजस्वको अनुपात आगामी तीन आर्थिक वर्षमा क्रमशः २१ दशमलव एक प्रतिशत, २२ प्रतिशत र २२ दशमलव नौ प्रतिशत रहने अनुमान गरिएको छ।

आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रम तथा बजेट र त्रिवर्षीय मध्यमकालीन खर्च संरचना तर्जुमाको लागि समष्टिगत तथा विषय क्षेत्रगत खर्चको सीमा निर्धारण तथा स्रोत अनुमान तयार गर्दा विभिन्न विषयवस्तुलाई प्रमुख आधारका रूपमा लिएको छ। जसमध्ये, नेपालको संविधानमा उल्लेखित मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू, आगामी सोह्रौँ योजनाका सोच, उद्देश्य, समष्टीगत तथा रूपान्तरणकारी रणनीति र प्रमुख हस्तक्षेपकारी कार्यक्रमहरू, नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ तथा चालु वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमका निरन्तरता दिनुपर्ने र राष्ट्रिय प्राथमिकताका कार्यक्रमहरू छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया