NIMB Header 2
Nepal Life

गभर्नर अधिकारीले भने - राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन, हाम्रो प्रणाली धेरै हदसम्म राम्रो छ

Muktinath Bank
  • BFIS News
  • 2024 Feb 26 17:50
गभर्नर अधिकारीले भने - राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन, हाम्रो प्रणाली धेरै हदसम्म राम्रो छ
Everest Bank

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन्।

Shikhar
NIMB

नेपाल बैंकर्स सङ्घले आज काठमाडौंमा आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले बलियो नियामकीय संरचना र वित्तीय आधार भएका कारण कुनै पनि संस्था नडुब्ने दाबी गरे।

“राष्ट्र बैंकले कुनै संस्थालाई ढल्न दिँदैन। बैंक वित्तीय संस्था फेल हुने अवस्थामा छैनन्। साना संस्थामा केही समस्या आउनसक्छ। तर सर्वसाधारणको बचत रकम कुनै पनि हातलमा डुब्दैन”, गभर्नर अधिकारीले भने, “राष्ट्र बैंकले नियमन गरेका संस्थाहरु सजिलै डुब्दैनन्। हाम्रो प्रणाली धेरै हदसम्म राम्रो छ। हामीले लिएका नीति राम्रा छन्। बैंकहरुको खराब कर्जा केही प्रतिशत बढ्यो भन्दैमा समस्या हुँदैन। कर्जाको प्रोभिजनिङ निकै राम्रो छ।”

अहिले बैंकहरुले नाफा खोज्ने नभई आफू कसरी सुरक्षित रुपमा चलिरहने भनेर सोच्नुपर्ने पनि गभर्नर अधिकारीले बताए। पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी भइरहेका नकारात्मक प्रचारबाजीले पनि समस्या सिर्जना गरेको उनले दाबी गरे। “लाभांश कम लिनुस तर संस्था चल्नुपर्छ। बैंक तथा वित्तीय संस्थालाई बलियो बनाउनकै लागि मर्जरको नीति लिइएको हो”, उनले भने, “बैंक तथा वित्तीय संस्था भनेको संवेदनशील क्षेत्र हो। तर हाम्रो समाज र अहिलेकाले बैंकिङ क्षेत्र नै नबुझी गाली गर्ने चलन छ।”

एउटा बैंकमा समस्या आउँदा अर्को बैंक खुसी हुने खराब प्रवृत्तिले भोलिका दिनमा समग्र बैंकिङ क्षेत्रलाई नै समस्यामा पार्नसक्ने भएकाले सबैले मिलेर अहिलेको समस्या समाधान गर्नतर्फ केन्द्रित हुनुपर्नेमा अधिकारीले जोड दिए।

समग्र अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंक तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्यमा परेको भएपनि उनीहरु डुब्ने अवस्थामा भने नपुगेको गभर्नर अधिकारीले स्पष्ट पारे। कोभिड महामारीयताका ठूलो रकम कर्जा प्रवाह भएको र उक्त कर्जा नउठ्दा बैंकहरु थप कर्जा दिन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ।

ठूलो रकममा कर्जा लिएका ऋणीहरुले आफ्नो व्यवसायबाट लक्षित नाफा लिन नसक्दा पनि साँवा ब्याज तिर्न मुस्किल भएको उनले बताए। कोभिड महामारीका कारण नेपाल मात्र होइन विश्वभर नै  आर्थिक वृद्धिदर घट्ने र मुद्रास्फीति बढेको देखिएकोमा अहिले बिस्तारै सुधार हुँदै गएको पनि गभर्नर अधिकारीले उल्लेख गरे। विगतमा बैंकहरुले धेरै सोचबिचारबिनै ठूलो रकम कर्जा प्रवाह गरेको र ऋणीहरुले पनि आफ्नो तिर्न सक्ने क्षमता विश्लेषण बिनै ऋण लिएको उनको भनाइ छ।

“आफ्नो क्षमता अनुसारको ऋण लिएको भए अहिले समस्या हुँदैनथ्यो। उहाँहरूलाई समस्या पर्नुमा हामी पनि दोषी छौं”, गभर्नर अधिकारीले भने। सहकारी क्षेत्र समस्यामा पर्दा त्यसको असर बैंकिङ क्षेत्रमासमेत परेको उनले बताए।

सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि नियामकीय अधिकारसहितको विशिष्टीकृत संस्था बनाएर जान आवश्यक रहेको उनले उल्लेख गरे। त्यस्तै, निर्माण क्षेत्रमा देखिएको समस्याका कारण पनि त्यसको असर समग्र अर्थतन्त्रमा देखिएको गभर्नर अधिकारीको दाबी छ। “निजी क्षेत्र र सरकारी क्षेत्रबाट हुने विकास निर्माण कमजोर छ। निर्माण उद्योग समस्यामा पर्दा सिमेन्ट छडलगायत क्षेत्र समस्यामा पर्‍यो। यसरी बहुआयामिक असर देखिए”, उनले भने।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया