NIMB Header 2
Nepal Life

विज्ञहरुको सरकारलाई सुझाव - कार्यान्वयनमुखी बजेट ल्याइयोस्

Muktinath Bank
  • BFIS News
  • 2024 Apr 16 17:56
विज्ञहरुको सरकारलाई सुझाव - कार्यान्वयनमुखी बजेट ल्याइयोस्
Everest Bank

काठमाडौं । विज्ञहरुले आगामी आर्थिक वर्षका लागि कार्यान्वयनमुखी बजेट ल्याउन सुझाव दिएका छन्  ।

राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज सिंहदरबारमा भएको बैठकमा विज्ञहरुले सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायमा आधारित भई लैङ्गिक उत्तरदायी बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

Shikhar
NIMB

आव २०८१/०८२ को सम्बन्धमा पूर्वबजेट छलफलमा  विज्ञहरुको सुझाव लिइएको थियो । उनीहरुले दिगो कृषि विकास, ऊर्जा, पर्यटन क्षेत्रको विकासका साथै वातावरणमैत्री बजेट ल्याउन समितिमार्फत सरकारलाई सुझाव दिएका हुन्।

अर्थविद् डा गोविन्द नेपालले ठूलो बजेट ल्याउने र कार्यान्वयनमुखी नहुदाँ वित्तीय असन्तुलन बढेको भन्दै कार्यान्वयनमुखी बजेट ल्याइनुपर्ने खाँचो औँल्याए। उनले कृषि आधुनिकीकरण, सूचना प्रविधि, ऊर्जा, पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सुझाव दिए।

डा नेपालले सार्वजनिक खर्चको वित्तीय असन्तुलन न्यूनीकरण गर्न सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन गरेर बजेट ल्याइनुपर्ने धारणा राखे।
 
काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा डा अच्युत वाग्लेले नेपालको अर्थतन्त्रको संरचनालाई वातावरणमैत्री बनाउन जरुरी भएको उल्लेख गरे। उनले बजेटमा दिगो कृषिको विकास, दिगो उत्पादन र वातावरणमैत्री विषयलाई प्राथमिकता दिनुपर्ने बताए।

सामाजिक अभियन्ता एवं विज्ञ भारती सिलवाल गिरीले लैङ्गिक समानता र महिला सशक्तीकरणका मुद्दालाई आगामी बजेटले समेट्नुपर्ने सुझाव दिइन्। “लैङ्गिकमैत्री बजेट ल्याइनुपर्छ, यसले सामाजिक न्यायसहितको सुशासन प्रवर्द्धन हुने भएकाले सरकारलाई पनि सहयोग पुग्छ”, उनले भनिन्।

समितिका सभापति कमलादेवी पन्तले आगामी बजेट महिलामैत्री, वातावरणमैत्री, सुशासनमैत्री तथा सामाजिक न्यायमा आधारित दलित, पिछडिएका, सीमान्तकृत समुदायलाई सम्बोधन गर्ने हुनुपर्ने धारणा राखिन्।

बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले विज्ञहरुको राय सुझावले आगामी बजेटलाई समृद्ध बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।

समितिका सचिव डा रोजनाथ पाण्डेले विज्ञहरुबाट आएका राय सुझावको मस्यौदालाई समितिले पारित गरेर अर्थमन्त्रालयमा पठाउने जानकारी दिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया