सरकारको रबैयाबाट लगानीकर्ता उदासिन, नियुक्तिमा हुने भ्रष्टाचार बाहिरिदा 'पारदर्शी अध्यक्ष आउनेमा संका'
- BFIS News
- 2024 Jun 30 14:54
काठमाडौं । अर्थतन्त्रको ऐनाका रुपमा चिनिएको र कुल गार्ह्यस्थ उत्पादनमा ५६ प्रतिशतको आकारमा रहेको पूँजी बजार प्रति सरकार उदासिन देखिएको छ । देशमा लगानी जुट्न सकेन भनेर अन्तर्राष्ट्रिय जगतमा हार गुहार गर्ने सरकारले पूँजी जुटाउने सबैभन्दा शक्तिशाली निकायको प्रमुख नियुक्तिको विषयमा देखाएको रवैयाले लगानीकर्ताहरु निरास भएका छन् । सरकारले ६ महिनासम्म पूँजी बजारको अध्यक्ष नियुक्त गर्न नसकेर प्रक्रिया नै रद्द गर्नुले सरकार नालायक देखिएको लगानीकर्ताहरुले आरोप लगाएका छन् ।
सरकार पूँजी बजार प्रति कतिसम्म उदासिन छ भन्ने कुरा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरणले प्रमाणित भएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । उनले भने ‘सरकार पूँजी बजार प्रति कतिसम्म अचेत छ भन्ने कुरा ६/६ महिनासम्म अध्यक्ष नियुक्त गर्न नसक्नु र नियुक्ति प्रकृयालाई नै रद्द गर्नुले प्रष्ट देखिन्छ ।’
सरकारको यतिसम्मको रवैया पछि अव लगानीकर्ताहरु सरकार प्रति आश्वस्थ हुने अवस्थाको अन्त्य भएको शेयर लगानीकर्ता संघका कार्यवहाक अध्यक्ष तारा फुलेलले बताए । प्रक्रियामा गएर पनि यसै गरि प्रक्रिया नै रद्द गर्ने परिपाटी बन्दै गयो भने भोलिका दिनमा पनि अप्ठ्यारो स्थिति आउने उनको भनाइ छ । ६ महिनासम्म पद नै रिक्त राखेर प्रकृया गद्द गर्दै अर्थमन्त्रालयको प्रतिनिधिको भरमा बोर्ड चलाउनुले अव धितोपत्र बोर्डले आगामी दिनमा पनि राम्रो नेतृत्व पाउनेमा संका पैदा भएको उनले आशंका व्यक्त गरे ।
सरकारले छिटो भन्दा छिटो राजनीति भन्दा माथि उडेर अर्थतन्त्र बुझेको, पूँजी बजारका सबै कुराहरु जानेको र पूँजी बजारमा आउने जुनसुकै समस्यालाई समाधान गर्न सक्ने नेतृत्वलाई ल्याउनु पर्ने नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पौडेलको भनाइ छ । सरकारको अहिलेको कदमले नेपालको पूँजी बजारमा कोहि पनि सक्षम र पूँजी बजारलाई न्याय गर्न सक्ने व्यक्ति आउने बाटो बन्द भएको विश्लेषकहरु बताउछन् ।
हिजोका दिनसम्म धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुँदा यति रकम बुझायो उति रकम बुझायो भन्ने हल्ला हुन्थ्यो तर अहिलेको कदमले सरकारले पैसाका लागि कतिसम्म खुलेआम वार्गेनिङ गर्न सक्दो रहेछ भन्ने कुराको प्रमाणित भएको बजार विश्लेषक नवराज दाहाल बताउछन् ।
धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता सुरु हुनु भन्दा अगाडी नै सन्तोष नारायण श्रेष्ठले ठुलो रकम बुझाएर अध्यक्ष बन्न लागेको भन्ने कुरा संसदमै उठ्यो । सञ्चार माध्यमले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरणमा करोडौंको चलेखल भन्दै समाचार बनाए । यसरी सञ्चार माध्यममै को अध्यक्ष बन्ने कुरा खुलेआम सार्वजनिक भए पनि सरकारको चलखेल रोक्न आफुहरु अन्तर्वातामै समावेश नभएको एक अनुपस्थित उम्मेद्वारले बताए । उनले भने ‘धितोपत्र बोर्ड जस्तो प्राविधिक ठाउँमा शेयर बजारको विषयमा केहि पनि थाहा नभएको व्यक्तिलाई ठुलो आर्थिक चलखेल सहित नियुक्त गर्न थालिएको कुराहरु बाहिए पछि हामीले सल्लाह गरेरै प्रकृयाँ रोक्ने उद्देश्य सहित अन्तर्वार्तामा नजाने निर्णय गरेका हौ ।’
प्रतिस्पर्धीमध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ मात्रै अन्तर्वार्ताका लागि पुगेका थिए। बाँकी तीन प्रतिस्पर्धी नवराज अधिकारी, चिरञ्जिवी चापागाई र कृष्णबहादुर कार्की अन्तर्वार्ताका लागि गएनन् । त्यसपछि छनोट प्रक्रिया विवादित बने सँगै सरकारले प्रकृया नै रद्द गर्यो ।
सरकारले पूँजी बजार जस्तो लगानी जुटाउने सबैभन्दा राम्रो र ठुलो माध्यमलाई सिध्याएर आगामी दिनका लागि पनि लगानी जुटाउने ढोका नै बन्द गरेको दाहालको विश्लेषण छ । सरकारले प्रकृया नै रद्द गरेर कानमा तेल हालेर बस्ने देखिएको छ ।
विगतका सरकारले पनि राम्रो भन्दा हाम्रा मान्छेलाई नियुक्ति गर्दा त्यसले धेरै असर पुर्याएको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको विश्लेषण छ । यसरी नियुक्त भएका व्यक्तिहरुले बाहिर देखिने गरि एउटा काम गर्ने र भित्र भित्रै अर्कै काम गर्ने परिपाटीले नेपालको पूँजी बजारलाई पछाडी धकेलेको पोखरेल बताउछिन् ।
यस भन्दा अगाडीका अध्यक्ष रमेश हमालले प्रिमियममा शेयर जारी गर्न दिएको विषयलाई लिएर अख्तियारमा उजुरी परेका छन् । बोर्डले खुले आम सार्वजनिक निष्काशनको अनुमतिमा गरेका वार्गेनिङका कुराहरुले राम्रै चर्चा पाएका थिए । अझ भिष्म ढुङ्गानाले सर्वोत्तम सिमेन्टको गोल्डेन शेयर पाएको विषय बाहिरिए सँगै पदबाटै हात धुनुपरेका घटनाले राजनीतिक नियुक्तिमै आम लगानीकर्ताले संका पैदा गर्ने वातावरण बनेको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया