Nepal Life

ईभीमा लगानी : व्यवसायी भन्छन्, ‘बैंकको किस्ता तिर्न कुनै समस्या छैन’ किस्ता खै भनेर कहिल्यै फोन गर्नुपरेको छैन : बैंक

RBB
  • BFIS News
  • 2025 May Sat 16:03
ईभीमा लगानी : व्यवसायी भन्छन्, ‘बैंकको किस्ता तिर्न कुनै समस्या छैन’ किस्ता खै भनेर कहिल्यै फोन गर्नुपरेको छैन : बैंक
Shikhar detail

काठमाडौं । समयसँगै व्यवसायीहरू लगानीका नयाँ माध्यमको खोजीमा छन्। कोही एउटै क्षेत्रमा केन्द्रित छन् भने कोही फरक–फरक प्रकृतिका व्यवसायमा हात हालीरहेका छन्। पछिल्ला वर्षमा यातायात क्षेत्रमा लगानी गर्ने धेरै व्यवसायीले आफ्नो लगानी विद्युतीय सवारी (ईभी) तर्फ सारिरहेका छन्।

NIMB

सरकारले ईभीलाई प्राथमिकता दिएपछि पेट्रोलियम सवारीमा लगानी गर्नेहरूले सोही क्षेत्रको फरक विकल्पका रूपमा ईभी रोजेका छन्। अपेक्षित प्रतिफल र बचतका कारण व्यवसायी सन्तुष्ट छन् भने बैंकहरू पनि ऋणको किस्ता समयमै भुक्तानी हुने भएकाले खुसी छन्।

कोरोनापछि सुस्ताएको बजारमा ईभीप्रतिको आकर्षण बढेसँगै बैंकको ऋण प्रवाह पनि बढेको छ। यसले बैंकिङ क्षेत्रलाई थप लगानी गर्न उत्साहित बनाएको छ भने व्यवसायीहरू पनि नयाँ लगानीमा होमिएका छन्। तर, कहिले कर नीतिमा, कहिले ऋण–मूल्य अनुपात (लोन टु भ्यालु) मा आउने सरकारी परिवर्तनले व्यवसायी र बैंक दुवैलाई चुनौती पारेका छन्।

सहज किस्ता, सन्तोषजनक प्रतिफल

सबै व्यवसायीले आफ्नै पूँजीबाट मात्रै लगानी गरेका हुँदैनन्। कसैले साथीभाइ वा आफन्तबाट, कसैले बैंकबाट ऋण लिएर व्यवसाय थाल्छन्। व्यवसायबाट अपेक्षित आम्दानी नआए किस्ता तिर्न गाह्रो पर्न सक्छ। तर, ईभीमा लगानी गरेका धेरै व्यवसायीले राम्रो प्रतिफल पाइरहेका छन्, जसले नाफा मात्र होइन, किस्ता तिर्न सहजता र थप व्यवसाय विस्तारको सम्भावना पनि देखाएको छ।

एनएमबी बैंक बट्टार शाखाका शाखा प्रबन्धक जीवन बोगटीका अनुसार, धेरै व्यवसायीले व्यावसायिक कर्जा लिएर ईभीमा लगानी गरेका छन् र किस्ताको कुनै समस्या छैन। उनी भन्छन्,

‘हाम्रो बैंकबाट ऋण लिएर ईभीमा लगानी गर्ने धेरै ग्राहक छन्। उनीहरूबाट प्राप्त फिर्ती राम्रै भएको देखिएको छ। अहिलेसम्म कसैलाई किस्ता नबुझाएको भनेर फोन गर्नुपरेको छैन।’

बोगटीका अनुसार, कतिपय व्यवसायीले समयभन्दा अगावै ऋण चुक्ता गरेका उदाहरणसमेत छन्। ईभीमा एनएमबी मात्र होइन, अन्य धेरै बैंक तथा वित्तीय संस्थाहरूले पनि लगानी गरेका छन्। तर बोगटी भन्छन्,

‘हाम्रो शाखाबाट ऋण लिएका सबैले समयमै किस्ता बुझाएका छन्। कोही ईभीलाई मुख्य व्यवसाय बनाएका छन् भने कोहीले साइड बिजनेसको रूपमा चलाइरहेका छन्।’

ईभीमा लगानी : बैंक र व्यवसायी दुवै उत्साहित

कसैले रहरले त कसैले बाध्यताले यातायात व्यवसाय रोज्छन्। धेरैजसोले अरूको सफलताबाट प्रेरित भएर पनि लगानी गर्छन्। पछिल्ला वर्षमा ईभीप्रति सर्वसाधारणको आकर्षण बढेको छ। पुराना लगानीकर्ता डीजेल–पेट्रोल सवारीबाट ईभीतर्फ सरेका छन् भने नयाँले पनि यही क्षेत्र रोजेका छन्।

शाखा प्रबन्धक बोगटी भन्छन्,

‘पहिले इन्धन सवारीमा लगानी गरेका धेरै व्यवसायी अहिले ईभीतर्फ सरेका छन्। हामी बैंकहरूले जोखिमयुक्त व्यवसायमा लगानी गर्दैनौँ। तर ईभीमा भविष्य देखिएको हुनाले हामी पनि लगानी बढाइरहेका छौँ। व्यवसायीहरू पनि उत्साहित छन्।’

व्यवसायी भन्छन्, ‘किस्ता तिर्न कुनै समस्या छैन’ ईभीमा कोही व्यवसायी बन्न, कोही स्वरोजगारका लागि लगानी गरिरहेका छन्। सबैको उद्देश्य भनेको राम्रो आम्दानी हो। एनएमबी बैंकमार्फत ऋण लिएर ईभीमा लगानी गरेका नुवाकोटका श्रीराम खतिवडाका अनुसार,

‘ईभीमा सुरुमा लगानी अलि धेरै गर्नुपर्छ। तर, मर्मत र इन्धन खर्च नगन्य भएकाले किस्ता तिर्न समस्या छैन। हामी मासिक ७०–८० हजार बचत गरिरहेका छौँ। पाँच वर्षमै गाडी आफ्नै हुन्छ।’

धादिङका जीवन श्रेष्ठले पनि ऋण लिएर स्वरोजगार व्यवसाय सुरु गरेका छन्। पहिले इन्धन सवारी सञ्चालन गरेका उनी डेढ वर्षदेखि ईभीमा सक्रिय छन्। उनले झन्डै ३५ प्रतिशत मूलधन र ब्याज घटाइसकेका छन्। श्रेष्ठ भन्छन्,

‘ईभी गाडी कति वर्ष टिक्छ भन्न सकिँदैन। तर अहिलेका लागि यो वरदानजस्तै भएको छ। इन्धन र मर्मत खर्च नगन्य भएकाले आम्दानीजति सबै बचत भइरहेको छ। पाँच वर्षमै लगानी फिर्ता हुने देखिएको छ। त्यसपछि मर्मत खर्च ठुलो नभए आम्दानी पुरै आफ्नै हुनेछ।’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार