शिखर इन्स्योरेन्सका ब्याकबोन 'उदित काफ्ले', कम्पनीको हरेक सूचकलाई नम्बरवान बनाउन 'डे वान'देखि अथक मेहनत
- अरुण सापकोटा
- 2025 May 29 08:23
काठमाडौं । निर्जीवन बीमा कम्पनीको सफलता र असफलता बीमा शुल्क आर्जनले मात्रै निर्धारण गर्दैन । यसका पछाडि यति धेरै प्राविधिक पक्ष हुन्छन् जसले कम्पनी कति स्वस्थ छ र कतिसम्मको उचाइ हासिल गर्न सक्छ भन्ने कुरालाई निर्धारण गर्दछ । यहि प्राविधिक पक्षलाई आम्मसाथ गर्ने कम्पनीहरुले आजका दिनमा ठुलो उपलब्धी हासिल गरेका छन् । यसको एउटा ज्वलन्त उदाहरण हो 'शिखर इन्स्योरेन्स कम्पनी' ।
स्थापनाको दुई दशकमा शिखर १४ पटक बीमा शुल्क आर्जनमा पहिलो देखियो । बीमा शुल्क आर्जनमा अगाडी देखिनुको पहिलो कारण हो कम्पनीको बलियो प्राविधिक पक्ष र आक्रामक बजार विस्तार । कम्पनीलाई यो उचाइमा ल्याउने मध्ये उदित काफ्ले पनि एउटा 'पिल्लर' हुन् । जसले कम्पनी स्थापना हुनु भन्दा अगाडीदेखि प्राविधिक पक्षमा काम गरे । साइन्स पृष्ठभुमीका काफ्ले अध्ययन अनुसन्धान र परीक्षण मन पराउछन् । उनको यहि स्वभावले शिखरको सफलतामा धेरै ठुलो बल पुगेको छ ।
काठमाडौं बालाजुका काफ्ले शान्तिविद्या गृहबाट एसएलसी उत्तीर्ण गरेर ओभरसियरको अध्ययन गरे । सुरुमा उनको जागिर ओभरसियमै थियो । जागिर सँगै उनले आइएससी गरे । विभिन्न संघ संस्था तथा प्रोजेक्टहरुमा काम गर्दै पढ्दै जाने सिलसिलामा उनले बिएससी र एमएससीसम्मको अध्ययन पुरा गरे ।
एमएससी उत्तीर्ण गरे पछि भने उनले अलि राम्रो क्षेत्रमा काम गर्नु पर्छ भन्ने सोच बनाए । उनको नजिकका एक जना नातेदारले बीमा क्षेत्रमा राम्रो स्कोप रहेको बताइदिए । अनुसन्धान गर्नेहरुका लागि यो एकदमै राम्रो फिल्ड हुने भन्दै काम गर्न सुझाव दिए । तर उनलाई बीमा क्षेत्रको बारेमा केहि पनि थाहा थिएन । यसले गर्दा अन्य क्षेत्रमा पनि जागिरको लागि आवेदन दिएका थिए ।
यतिकैमा उनले २०५२ सालमा एभरेष्ट इन्स्योरेन्स कम्पनीमा जागिरको लागि आवेदन दिए । कम्पनीले उनलाई २०५२ साल माघदेखि नियुक्ति दियो । जवकी उनि बीमा क्षेत्रमा आउनु अगाडी बैकल्पिक उर्जाको क्षेत्रमा काम गर्ने संस्थामा निवेदन दिएर बसेका थिए । उनको जीवनमा यस्तो संयोग बन्यो तत्कालिन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा नियुक्त भएको ११ दिन पछि आफ्नै पढाइको क्षेत्रबाट जागिरका लागि बोलाइयो । यसरी आफ्नै क्षेत्रबाट जागिरका लागि बोलाउदा पनि उनले बीमा क्षेत्रमै भविष्य देखे । जतिवेला बीमा नेपालमा इमर्जिङ क्षेत्र थियो । यसरी ११ दिनको फरकमा उनलाई भाग्यले बीमा क्षेत्रमा भित्र्यायो ।
पहिलो काम अण्डराइटिङमा थियो । म्यानेजमेन्ट ट्रेनिबाट प्रवेश गरेका उनको पहिलो पोष्टिक जुनियर अफिरमा भयो । सुरुका दिनमा उनलाई यो क्षेत्र एकदमै नौलो लाग्यो । फिजिक्स पढेका काफ्लेका लागि सुरु सुरुका दिनमा बीमाका सामान्य कुराहरु पनि बुझ्न हम्मे हम्मे पर्यो । हरेक दिनको सिकाइ सँगै अनुभवको संगालो बन्दै गयो । उनलाई टाइपराइटरबाट पोलिसी निर्माण गरेको हिजो जस्तो लाग्छ ।
प्रारम्भिक दिनमा विस्तारै विस्तारै कोटेशन बनाउन थाले । छोटो अवधिमा उनले आफुले जानेका सिकेका बुझेका कुराहरु अरुलाई सिकाउनुका साथै तालिम दिन थाले । यसरी उनि बीमा क्षेत्रको प्राविधिक पाटोमै पुर्ण रुपमा फिट भए । एभरेष्ट इन्स्योरेन्समा उनले करिव ८ वर्ष भन्दा लामो समय काम गरे । यस पछि उनको जीवनमा एउटा ठुलो टर्निङ प्वाइन्ट आयो ।
तत्कालिन एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे लगायत बीमा क्षेत्रका अनुभवी व्यक्तित्व र व्यवसायिक घरानाका व्यवसायिक व्यक्तिहरु विचमा बीमा क्षेत्रमा नयाँ सोचका साथ वास्तविक रुपमा बीमाको अभ्यास गर्ने अठोट बनाएर बीमा कम्पनी स्थापना गर्ने अवधारणाको विकास भयो ।
यहि अवधारणालाई आत्मसाथ गर्दै उनले २०६१ सालको बैशाखमा एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट विदा लिए । उनलाई एभरेष्टमा काम गर्दा गर्दै नेपालमा बीमाको क्षेत्रमा काम गर्ने धेरै ठाँउ छ भन्ने लाग्यो । यस पछि उनि सहित बीमालाई प्राविधिक रुपमा बुझ्नेहरुको विचमा ट्युनिङ मिल्यो । जसले गर्दा शिखर इन्स्योरेन्स कम्पनी स्थापनाका लागि उनि सहितको एउटा टिम तयार भयो ।
काफ्ले जागिर छाडेर कम्पनीको प्राविधिक पाटोको तयारीमा जुटे । यसै क्रममा २०६१ साल जेठ १५ गते शिखर इन्स्योरेन्स कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा 'कम्पनी दर्ता' गराउन सफल भयो । यस सँगै असार एक गते कम्पनीले तत्कालिन बीमा समितिमा निवेदन दियो ।
तर अनुमति आउन केहि समय लाग्यो । बीमा समितिले कम्पनीलाई २०६१ साल कार्तिक २६ गते मात्रै सञ्चालन अनुमति प्रदान गर्यो । पुर्ण रुपमा तयारी अवस्थामा रहेको शिखरले सञ्चालन अनुमति पाएको एक हप्तामै अर्थात मंसिर २ गते पहिलो बीमालेख जारी गर्दै निर्जीवन बीमा व्यवसायको शुभारम्भ गर्यो ।
प्रारम्भिक ६ महिनामा उनि सहितको समुहले एउटा निर्णय गर्यो, पुराना कम्पनीबाट कर्मचारी तान्नु भन्दा नयाँ कर्मचारी नै नियुक्त गरेर ग्रुमिङ गर्ने । यहि सल्लाह बमोजिम बैशाख ३१ गतेदेखि फ्रेस मानिसहरुलाई नै बोलाएर तालिम दिन सुरु गरियो ।
यसले गर्दा शिखरमा अहिलेसम्ममा पुरानो कम्पनीबाट अनुभव लिएर आउने कर्मचारी करिव २० जना मात्रै छन् । बरु उनिहरुलाई राम्ररी तालिम दिने तर अन्य कम्पनीबाट नतान्ने कम्पनीले नीति लियो । यसले गर्दा शिखरमा अन्य कम्पनीको भन्दा फरक कल्चर छ । जुन कल्चर अन्य कुनै पनि कम्पनी सँग मेल खादैन ।
कम्पनीलाई नेतृत्व गर्ने उच्च व्यवस्थापन तहमा प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे सहितको एउटा बलियो टिम तयार भयो । प्रारम्भिक चरणमा काफ्लेले तालिम दिन सुरु गरे । उनि तालिम सँग सँगै नयाँ पोलिसी डिजाइन गर्नेदेखि लिएर अण्डराइटिङमा खटिए । उनि भन्छन् 'मार्केटिङको रणनीति बनाउनेदेखि लिएको यसका लागि टिम बनाउन दिप सर नै खटिनु भयो ।'
शिखरले बजारमा अलग पहिचाहन बनाउने उद्देश्य सहित दाबी भुक्तानीलाई सबैभन्दा धेरै प्राथमिकता दियो । यसको मेरुदण्डको रुपमा थियो पुनर्बीमा पोलिसी । जति राम्रो पुनर्बीमा गर्न सकियो त्यतिनै सजिलो सँग दाबी भुक्तानी गर्न सकिने कुरामा यो टिम चनाखो थियो ।
काफ्लेले प्रारम्भिक दिनमा अण्डराइटिङ, दाबी, पोलिसी डिजाइनदेखि लिएर सबै विभागलाई हेरे । बीमा क्षेत्रमै करिअर बनाउनु छ भने यसका सबै क्षेत्रको बारेमा जान्नु पर्छ पर्ने भन्ने उनको स्पष्ट दृष्टिकोण थियो । साइन्स पृष्ठभुमिका काफ्लेलाई अन्य क्षेत्र भन्दा बीमा केहि चुनौतीपुर्ण लाग्यो ।
उनि यस क्षेत्रमा यति रमाए कि कहिल्यै पनि अन्यत्र क्षेत्रमा काम गर्न जाने सोच पनि बनेन । उनले यहि क्षेत्रबाट काम, नाम, इज्जत सँगै राम्रो आम्दानी पनि गर्न सफल भए । नेपालको कर्पोरेट क्षेत्रमा प्रायः कसैले पनि लामो समयसम्म एउटै कम्पनीमा काम गर्दैनन् । तर उनि शिखरको स्थापना भन्दा अगाडीदेखि काम सुरु गरेर आजका दिनसम्ममा यहि छन् ।
उनलाई कहिल्यै पनि शिखर छाड्ने सोचै बनेन । उनि भन्छन् 'शिखर छाडेर अन्य कम्पनीमा काम गर्न जादा त्याहीको कल्चरमा घुल्नु पर्यो । तर शिखरमा हामी आफैले आफ्नो कल्चर निर्माण गर्यौ । यसरी आफुले तयार पारेको कल्चरलाई छाडेर अन्यन्त्र जाने सोच कहिल्यै पनि आएन ।'
उनले थपे, आफैले तालिम दिएर विकास गरेका भाइबहिनीहरु सँग आत्मियता बढ्यो । शिखरबाट अन्य कम्पनीमा जाने कर्मचारी निकै कम छ । उनि भन्छन् 'शिखर छाड्नेहरु कित विदेश गएका छन् कित बीमा क्षेत्रलाई नै छाडेर अन्यन्त्र गएका छन् ।' सुरुको तालिममा सहभागी हुने मध्ये अझै पनि ६ जनाले निरन्तर काम गरिरहेकै छन् । ८ जनाले भने कम्पनी छाडेर अन्यन्त्र गए । काफ्ले भन्छन् 'यस मध्ये धेरै जसो विदेश गए ।'
यस अवधिमा उनि आफैलाई धेरै वटा कम्पनीबाट आकर्षक अफर पनि आए । पछिल्लो समय प्रमुख कार्यकारी अधिकृतकै लागि पनि अफर आयो । तर उनले शिखर छाडेर अन्यन्त्र कम्पनीमा जाने सोच कहिल्यै बनाएनन् ।
शिखर इन्स्योरेन्स सञ्चालन हुनुभन्दा अगाडि सुरुका दिनमा तत्कालिन सञ्चालक समितिका अध्यक्ष विकास जंगबहादुर राणाको घरमा बसेर काम गरेको उनलाई अझै पनि ताजै लाग्छ । उनि भन्छन्, यसरी आफैले हुर्काएको संस्था छाडेर जान मनले दिदै दिदैन ।
शिखरले सुरुमा बानेश्वरको एभरेष्ट बैंकको तत्कालिन केन्द्रिय कार्यालय रहेको भवनबाट कारोबार सुरु गरेको थियो । बीमा क्षेत्रलाई राम्रो सँग बुझेको यस समुहले सुरुवातिदिनमै केन्द्रिय भवन आफ्नै बनाउनु पर्छ भन्ने सोच बनाएको थियो । शिखरको यो टिमको लगाव अथक मिहिनेतले गर्दा २०६६ साल चैत एक गतेदेखि आफ्नै भवनमा कार्यालय राख्न सफल भयो । जतिवेला यस भवनमा अहिलेको जस्तो सबै सेवा सुविधा थिएन । राम्रो सँग भर्याङ लिफ्ट समेत निर्माण भएको थिएन ।
आरोह अवरोह
हरेक संस्थामा आरोह अवरोह आउछन् । शिखरको २० वर्षको यात्रामा धेरै वटा आरोह अवरोध आए । कम्पनी स्थापना हुनु भन्दा अगाडी नै कम्पनीले एउटा ठुलो अवरोध बेहोर्नु पर्यो जसले गर्दा सोचे भन्दा ढिला लाइसेन्स प्राप्त भयो ।
शिखरमा जुन किसिमको नेतृत्व तयार भएको थियो यस नेतृत्वलाई सुरुवाति दिनमै रोक्न प्रयास नभएको होइन । जसले गर्दा सोचे भन्दा ढिला लाइसेन्स प्राप्त भयो । सबैको प्रयत्न पछि २०६१ कार्तिकमा लाइसेन्स प्राप्त भयो ।
सुरुवाति दिनमा नयाँ कर्मचारी नियुक्त गरेर बजारमा बीमा शुल्क संकलन गर्नु आफैमा ठुलो चुनौती थियो । सुरुवाति दिनमा मानिसहरुलाई बुझाउनै गाह्रो थियो । यसले गर्दा कम्पनीले केहि अनुभवी व्यक्तित्वलाई लिएर बाँकी सबै कर्मचारी नयाँ अनुभव नभएकालाई नियुक्ति गर्यो । जुन प्रारम्भिक चरणमा सबैभन्दा जटिल कार्य थियो ।
पहिलो वर्ष ८ महिना व्यवसाय गर्दा १३ करोड रुपैयाँको बीमा शुल्क आर्जन भयो । दोस्रो आर्थिक वर्षमा कम्पनीले २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्यो । त्यस पछि तेस्रो वर्षमा ३३ करोडको भयो । चौथो वर्षमा ४२ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्दै इन्ड्रष्ट्रिमै पहिलो बन्न सफल भयो ।
काफ्ले भन्छन् 'यति छोटो समयमै इन्ड्रष्ट्री टप हुनुको पछाडी उच्च व्यवस्थापन तहका अनुभवी व्यक्तिहरुको अथक मिहिनेत र उहाँहरुले कमाउनु भएको गुडविल नै थियो । जसले बजारमा आफ्नो व्यक्तिगत छाप छाड्न सफल थिए ।'
अर्को तर्फ कम्पनीले फ्रेसरलाई ट्रेन गराएको थियो । यहि ट्रेनरको आक्रामक कार्यशैलीले कम्पनीलाई छिटो भन्दा छिटो सफलताको बाटोमा डोहोर्याएको काफ्ले बताउछन् । उनले थपे, उहाँहरुले यस्तो दुख गरिदिनु भयो जसले हामीलाई धेरै ठुलो राहात मिल्यो ।
त्यस पछिका दुई वर्षमा कम्पनी दोस्रो स्थानमा झर्नु पर्यो । त्यस पछिको तेस्रो वर्षमा तेस्रो स्थानमा झर्यो । तर पहिलो कम्पनी सँग खासै ठुलो ग्याप थिएन । ग्रोथ रेट भने घटेको थिएन बढेकै थियो । त्यस पछि कम्पनीले रणनीति परिवर्तन गर्यो । जुन रणनीतिले २०६८/६९ देखि आजसम्म लगातार प्रथम स्थान हासिल गर्दै आइरहेको छ । २० वर्षको यात्रामा कम्पनीले बीमा शुल्क आर्जनमा १४ पटक प्रथम स्थान हासिल गर्यो ।
कम्पनीले काफ्लेलाई १० औं र २० औं वार्षिकोत्सवको अवसरमा सम्मान गर्यो । यस अवधिमा काफ्लेले बीमा बजारमा राम्रो गुडविल कमाउन सफल भएका छन् । कुनै पनि प्राविधिक विषयमा छलफल गर्नु पर्यो भने नियामक निकाय बीमा प्राधिकरणको उनि प्राथमिकताका साथ रोजाइमा पर्छन् । निर्देशिका बनाउनेदेखि लिएर पोलिसी डिजाइनका पाटोमा उनले आफुले सकेको सहयोग तथा विज्ञता प्रस्तुत गरिरहेका हुन्छन् । यति मात्रै होइन उनलाई विदेशी संस्थाहरुले पनि बीमाको प्राविधिक कुराहरु बुझ्नु पर्यो भने बोलाउने तथा छलफल गर्ने गर्छन् ।
यसरी व्यक्ति तथा संस्थाले ठुलो विश्वासका साथ बुझ्ने तथा सल्लाह लिने गर्छन् त्यतिवेला उनलाई जीवनको सबैभन्दा सुखद क्षण महशुस हुन्छ । उनि भन्छन् 'अरुले विश्वास गर्नु नै सबैभन्दा ठुलो कुरा हो ।'
जोखिम मूल्याङ्कन गर्ने क्रममा उनि मुलुकका धेरै ठाउँमा पुगिसकेका छन् । बीमामै काम गर्ने क्रममा जलविद्युत आयोजनाको मूल्याङ्कनका क्रममा साढे दुई घण्टासम्म हिडेका अनुभवदेखि बीमा पोलिसी तयार पार्न हिमाली जिल्ला हुम्ला लगायतका केहि स्थानमा कयौ दिन अनुसन्धान गरेका धेरै पलहरु उनले संगालेर राखेका छन् ।
उनले जतिसमयसम्म बीमा क्षेत्रमा काम गरिन्छ त्यतिवेलासम्म शिखरमै बस्ने अठोट बनाएका छन् । त्यस पछि अवकास लिएर घरमै बस्ने उनको योजना छ । उनि भन्छन् 'शिखरमा आजका दिनमा ५४ वर्षदेखि बीमा क्षेत्रमा काम गर्दै आउनु भएको व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुलाई हेर्दा बीमा क्षेत्रमा काम गर्न उमेरले छेक्दैन ।' काफ्ले उमेरले ६२ वर्षका भए । बीमा क्षेत्रमा मात्रै २९ वर्षको अनुभव बटुलिसके । शिखरले जुनदिनसम्म आफुलाई खोज्छ त्यस दिनसम्म आफु काम गर्न तयार रहेको उनि बताउछन् ।
अनुभवका आधारमा बीमा
काफ्लेका अनुसार बीमा भएकै कारण मानिसहरुले ढुक्क सँग व्यापार व्यवसाय गरिरहेका छन् । बीमा नभएको भए मेरो केहि होला कि ? ठुलो क्षति भयो भने के गर्ने ? भन्ने डरमै बाच्नु पर्थ्यो । बीमा क्षेत्रले लगानीका लागि रकम जुटाइरहेको उनको दाबी छ । बीमा कम्पनीहरुले आफ्नो जगेडालाई बैंकमा राख्नुका साथै जलविद्युत लगायत उत्पादनशिल क्षेत्रमा लगानी गरिहरेका हुन्छन् । राज्यले प्राप्त गर्ने करकै कुरा गर्ने हो भने बीमा क्षेत्र पनि सबैभन्दा धेरै कर बुझाउने क्षेत्र भित्र पर्छ ।
सबैभन्दा ठुलो कुरा २०७२ सालको भुकम्पमा जसले बीमा गरेका थिए उनिहरुले दाबी पाए । जसले बीमा गरेका थिएनन् उनिहरुले राज्यबाट अनुदान प्राप्त गर्न वर्षौसम्म कुर्नु पर्यो, उनि थप्छन् 'यदि सबैले बीमा गरेको भए सरकारी क्षेत्रलाई अतिरिक्त भार नै पर्दैन थियो । मानिसहरुलाई पनि क्षतिपुर्ती लिन धेरै समय कुर्नै पर्दैन थियो ।
बीमालाई पनि क्रमिक रुपमा बीमालाई अनिवार्य गर्दै जानु पर्ने उनको सुझाव छ । विदेशमा सरकारले निजी क्षेत्रमा हुने कुनै पनि क्षतिको लागि राहात दिदैन । सबै बीमाबाट कभर गराइन्छ र राज्यले सरकारी संरचनाको मात्रै पुनर्निर्माण गर्दछ । तर हाम्रोमा त्यस्तो व्यवस्था नरहेको उनि बताउछन् ।
सरकारले बीमालाई जति धेरै प्रवर्द्धन गर्दै जान सक्छ त्यति नै आफ्नो दायित्वहरुलाई घटाउन सक्ने उनले बताए । बीमा प्रति सबैले सकारात्मक दृष्टिकोण बनाउनु पर्ने उनको सुझाव छ । बीमालाई खर्चको रुपमा हेर्ने प्रवृत्ती हटाउनु पर्ने उनि बताउछन् ।
उनले थपे 'दाबी लिइएन भने बीमा खेर गयो भन्ने सोच हामीमा धेरै छ । यसलाई हटाउनु पर्छ । बीमा यस्तो क्षेत्र हो आफुले बीमा गर्दा तिरेको रकमबाट अरु कसैले दाबी पाइरहेको हुन्छ । भोलि आफुले पाउदै गर्दै अरु कसैले बीमा गर्दा तिरेको रकमबाटै पाउने हो ।'
दाबी भुक्तानीमा समस्या
दाबी झण्झटिलो प्रक्रिया होइन । बीमा गर्दा सबैले बुझेर गर्नु पर्छ । बीमा गर्दा कसैले पनि बीमालेख नपढ्दा बुझाइमा ठुलो समस्या रहेको उनि बताउछन् । उनले थपे 'हामीले त्यतिवेला मात्रै बीमालेख पढ्छौ जति बेला हामीलाई दाबी चाहिन्छ । यसले गर्दा दाबी भुक्तानीमा धेरै कम्युनिकेसन ग्याप छ ।'
जवकी दाबी भुक्तानीमा जति ढिलाइ हुन्छ कम्पनीले त्यतिनै प्रोभिजनिङ गर्नु पर्छ । यदि १०० रुपैयाँको दाबी पर्यो भने ११५ रुपैयाँ प्रोभिजनिङ गर्नु पर्छ । उनले भने 'यदि कम्पनीले समयमा दाबी तिर्यो भने हाम्रो मुनाफा धेरै देखिन्छ । त्यसैले कुनै पनि कम्पनीले दाबी भुक्तानी गर्न ढिलाइ गर्दैनन् । ढिला हुनुको एक मात्रै कारण भनेको आवश्यक कागजातको अभावले नै हो ।' यदि बीमा गर्ने बेलामै सबै कुराहरु बुझेर, कस्तो कस्तो अवस्थामा दाबी पाइन्छ भन्ने जानकारी राखेर अगाडी बढ्ने हो भने समयै दाबी पाउन सकिन्छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया