नेपाल लाइफमा राजु भण्डारीको नयाँ सफलता, ७३ वर्षिय बुबा सहितको तीन कोडबाट १ करोड ७८ लाखको बीमा व्यवसाय
- BFIS News
- 2026 Jul 19 21:33
काठमाडौं । ताप्लेजुङको दुर्गम भूगोललाई कार्यक्षेत्र बनाएर जीवन बीमा व्यवसायमा निरन्तर सफलता हासिल गर्दै आएका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर राजु भण्डारीले आर्थिक वर्ष २०८२/८३ मा नयाँ कीर्तिमान कायम गरेका छन्। यस वर्ष उनले आफ्नै नेतृत्वमा सञ्चालन भएका तीन वटा कोडमार्फत कुल १ करोड ७८ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गर्दै कम्पनीभित्र उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्।
यस वर्षको उपलब्धिलाई अझ विशेष बनाउने पक्ष भनेको उनले आफ्नो परिवारलाई समेत व्यवसायिक यात्रामा जोड्नु हो। उनले ७३ वर्षीय बुबा रोमनाथ भण्डारी, भाइ युनिक भण्डारी तथा बुहारीलाई समेत अभिकर्ताको रूपमा सक्रिय बनाउँदै तीनै जनालाई कम्पनीको ‘समृद्धि पदक’का लागि योग्य बनाएका छन्। यसअघि व्यक्तिगत रूपमा सम्मानित हुँदै आएका भण्डारीले यसपटक परिवारसहित राष्ट्रिय स्तरको सम्मान प्राप्त गर्ने अवस्था सिर्जना गरेका छन्।
भण्डारीका अनुसार कम्पनीले समृद्धि पदकका लागि तोकेको करिब ५५ लाख रुपैयाँको लक्ष्य प्रत्येक कोडबाट पूरा भएको छ। त्यसैले यस वर्ष उनी मात्र नभई उनका बुबा, भाइ र बुहारीसमेत समृद्धि पदकबाट सम्मानित हुने भएका छन्।
सामाजिक सञ्जाललाई बनाए व्यवसाय विस्तारको माध्यम
यस वर्षको उनको यो सफलता परम्परागत बजारबाट मात्रै सम्भव भएको होइन। बदलिँदो प्रविधिसँगै भण्डारीले फेसबुक लाइभ र टिकटक लाइभलाई प्रभावकारी मार्केटिङ माध्यमका रूपमा प्रयोग गरे। उनले सामाजिक सञ्जालमार्फत मात्रै करिब २० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गर्न सफल भएको बताए।
डिजिटल माध्यमसँगै प्रत्यक्ष भेटघाटलाई पनि उनले उत्तिकै प्राथमिकता दिए। आवश्यक परे झापा लगायतका जिल्लामा एक सातासम्म बसेर ग्राहकसँग भेटघाट गर्ने, उनीहरूलाई बीमाबारे जानकारी दिने तथा आवश्यकता अनुसार ताप्लेजुङ वा नजिकको शाखाबाट बीमा पोलिसी जारी गर्ने अभ्यासले उनको व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ।
सेवा केन्द्रित कार्यशैलीले बढायो विश्वास
भण्डारीको कार्यशैली केवल बीमा पोलिसी बिक्रीमा सीमित छैन। बीमितलाई घरमै पुगेर सेवा दिने, दाबी प्रक्रिया, सर्भाइभल बेनिफिट लगायतका सेवामा प्रत्यक्ष सहयोग गर्ने अभ्यासले उनलाई ग्राहकमाझ विश्वसनीय अभिकर्ताका रूपमा स्थापित गरेको छ।
उनले बिक्री गरेका अधिकांश बीमित कार्यालय नै नआइकन आवश्यक सेवा प्राप्त गरिरहेको बताइन्छ। यही सेवा संस्कृतिका कारण ताप्लेजुङ शाखामा आउने बीमितका समस्या समाधानमा उनी अग्रपंक्तिमा रहने गरेका छन्।
करिब १५० वटा नयाँ पोलिसी
आर्थिक वर्ष २०८२/८३ मा उनले करिब १५० वटा नयाँ जीवन बीमा पोलिसी जारी गरेका छन्। वर्षभरि नियमित फिल्ड भ्रमण, सामाजिक सञ्जालमार्फत जनचेतना, शाखा व्यवस्थापनको सहयोग र परिवारको साथले लक्ष्यभन्दा माथि पुग्न सम्भव भएको उनको अनुभव छ।
उनले शाखा प्रमुखसहितको टिमसँग राति १०–११ बजेसम्म पनि बजार व्यवस्थापन र ग्राहक भेटघाटमा सक्रिय रूपमा काम गरेको स्मरण गर्छन्। यही निरन्तरता र मेहनतले यस वर्षको लक्ष्य हासिल गर्न सहज भएको उनले बताए।
एमडीआरटीभन्दा व्यवसाय विस्तारमा केन्द्रित
५ पटक एमडीआरटी (MDRT) बन्न सफल भइसकेका भण्डारीले यस वर्ष भने एमडीआरटीभन्दा व्यवसाय विस्तारलाई प्राथमिकतामा राखेका छन्। अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन सहज अवस्था नरहेकाले उनले एमडीआरटी दर्तालाई प्राथमिकता नदिई कम्पनीको व्यवसाय वृद्धि र ग्राहक सेवामै ध्यान केन्द्रित गरेका हुन्।
उनका अनुसार नेपालमा एमडीआरटीको मापदण्ड पूरा गरेर पनि विभिन्न कारणले दर्ता नगर्ने अभिकर्ताको संख्या उल्लेख्य रहेको छ। यस विषयमा उद्योगभित्र छलफल भइरहेको उनी बताउँछन्।
जागिर र व्यापार छाडेर रोजेको अभिकर्ता पेशा
ताप्लेजुङ जिल्लाको साविक हाङदेवा गाविस–९ बुङ्कुलुङमा जन्मिएका भण्डारीको जीवनयात्रा संघर्षपूर्ण छ। आमा कमला भण्डारी र बुबा रोमनाथ भण्डारीका दोस्रो सन्तान उनले २०६४ सालमा अक्सफोर्ड बोर्डिङ स्कुल, ताप्लेजुङबाट एसएलसी उत्तीर्ण गरेका थिए। त्यसपछि झापाको कन्काई मल्टिपल क्याम्पसबाट उच्च माध्यमिक शिक्षा पूरा गरी व्यापार व्यवसायमा लागेका थिए।
वि.सं. २०७३ चैत २७ र २८ गते नेपाल लाइफ इन्स्योरेन्सले आयोजना गरेको दुईदिने अभिकर्ता तालिममा सहभागी भएपछि उनले जीवन बीमा क्षेत्रलाई आफ्नो दीर्घकालीन पेशाका रूपमा रोजे। कोड प्राप्त गरेलगत्तै उनले आफ्नै नाममा २ लाख रुपैयाँको जीवन बीमा गरे र गाउँ–सहरमा बीमाको महत्व बुझाउने अभियान सुरु गरे।
सुरुआती दिन सहज थिएनन्। एउटै व्यक्तिलाई बीमाको आवश्यकता बुझाउन छ पटकसम्म भेट्नुपरेको अनुभव उनले गरेका छन्। तर निरन्तर प्रयास, धैर्यता र सेवा भावका कारण उनले ग्राहकको विश्वास जित्दै व्यवसाय विस्तार गरे।
दोस्रो वर्षमै एजेन्सी म्यानेजर
अभिकर्ता बनेको दोस्रो वर्षमै उनी एजेन्सी म्यानेजर बन्न सफल भए। यसबीच उनले सरकारी सेवामा करार जागिरको अवसर पनि पाए। करिब डेढ वर्ष जागिर गरेपछि उनले स्थायी रूपमा अभिकर्ता पेशामै भविष्य देखे र पूर्ण रूपमा बीमा क्षेत्रमा सक्रिय भए।
उनको विश्वासमा, पैसा कमाउनु मात्रै सफलता होइन, समाजमा सम्मान कमाउनु अझ ठूलो उपलब्धि हो। अभिकर्ता पेशाले उनलाई सम्मान, आम्दानी र आत्मसन्तुष्टि तीनै कुरा दिएको उनी बताउँछन्।
नेपाल लाइफप्रतिको प्रतिबद्धताको प्रतीक
नेपाल लाइफप्रतिको आफ्नो प्रतिबद्धतालाई उनले फरक शैलीमा पनि प्रस्तुत गरेका छन्। कम्पनीमा आबद्ध भएपछि उनले सुरुमा २ लाख र पछि ४५ लाख रुपैयाँको व्यक्तिगत जीवन बीमा गराए। त्यसपछि आफ्नै हातमा नेपाल लाइफको लोगो ट्याटु खोपे।
उनका अनुसार त्यो ट्याटु केवल कम्पनीप्रतिको लगावको प्रतीक मात्र होइन, बीमाबारे जानकारी दिँदा ग्राहकसँग संवाद सुरु गर्ने प्रभावकारी माध्यमसमेत बनेको छ। यस सफलताका पछाडी कम्पनीको साथ सहयोगलाई पनि उनले आभार व्यक्त गरेका छन्। उने भने 'शाखा प्रवन्धक मिलन राईका साथै शाखामा कार्यरत फुपुछेतेन शेर्पा, बिराजन पुलामि मगर, रोसा मास्केलाई विशेष धन्यवाद दिन चाहन्छु।'
ताप्लेजुङबाट राष्ट्रिय पहिचान
ताप्लेजुङजस्तो दुर्गम जिल्लाबाट निरन्तर उच्च व्यवसाय गर्दै आएका भण्डारी अहिले कम्पनीको केन्द्रीय कार्यालय कमलादीसम्म परिचित नाम बनेका छन्। कम्पनीका उच्च व्यवस्थापन तहदेखि शाखा कर्मचारीसम्म उनको कार्यशैलीको चर्चा हुने गरेको बताइन्छ।
भण्डारी पेशागत बीमा अभिकर्ता संघ नेपालको केन्द्रिय सदस्य हुन्। भण्डारीका अनुसार बीमा व्यवसायमा सफलता केवल बिक्रीको परिणाम होइन; निरन्तर सेवा, विश्वास निर्माण, नयाँ प्रविधिको प्रयोग, परिवारको साथ र ग्राहकसँगको दीर्घकालीन सम्बन्धले नै वास्तविक उपलब्धि दिलाउँछ। यही विश्वासलाई व्यवहारमा उतार्दै उनले ताप्लेजुङबाट राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया