NIMB Header 2
Nepal Life

नेपालमा ७ खर्ब ३६ अर्बको नोट चलनचल्तीमा, बाँकी ६२ खर्ब ५७ अर्ब डिजिटल प्रणालीमा सुरक्षित

Citizen Life
  • BFIS News
  • 2025 Jun 24 12:17
नेपालमा ७ खर्ब ३६ अर्बको नोट चलनचल्तीमा, बाँकी ६२ खर्ब ५७ अर्ब डिजिटल प्रणालीमा सुरक्षित
National Life

काठमाडौं, असार १० गते। बजारमा कति रकमका नोट चलनचल्तीमा छन् भन्ने प्रश्न धेरैलाई जिज्ञासाको विषय हुन सक्छ। तर यो तथ्यांक राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित निकायहरूलाई भने राम्ररी थाहा हुन्छ।

NIMB

राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार, हाल नेपालमा चलनचल्तीमा रहेका नोटको परिमाण ७ खर्ब ३६ अर्ब रुपैयाँ छ। यी नोटहरू सर्वसाधारण, संस्था तथा बैंकहरूमा रहेको जनाइएको छ। एक वर्षअघिको तुलनामा यो परिमाण उल्लेख्य रुपमा बढेको देखिन्छ – ११ महिनाअघि बजारमा ६ खर्ब ८० अर्ब रुपैयाँ बराबरका नोट मात्रै थिए।

यस्तै, भौतिक रूपमा रहेको वैदेशिक मुद्रा पनि बढेको छ। अहिले विदेशी मुद्रा २ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको रहेको छ, जुन ११ महिना पहिले १ खर्ब ३१ अर्ब रुपैयाँ मात्र थियो। वैदेशिक मुद्राको वृद्धि आयात घटेका कारण भएको बताइएको छ।

तर, बैंकिङ प्रणालीमा कुल ७० खर्ब २३ अर्ब रुपैयाँ भए पनि यो सबै नोटको रूपमा नभएको राष्ट्र बैंकले स्पष्ट पारेको छ। यसरी प्रणालीमा कुल निक्षेपको ११.९० प्रतिशत मात्रै नोटको रुपमा छ। बाँकी ६२ खर्ब ५७ अर्ब रुपैयाँ अभौतिक रुपमा बैंकिङ प्रणालीले सुरक्षित गरेका छन्। पछिल्लो समय डिजिटल भुक्तानीका कारण नोटको प्रयोगमा समेत व्यापक गिरावट हुँदै आइरहेको छ।

राष्ट्र बैंकलाई ‘बैंकहरूको बैंक’ मानिन्छ। यहाँ सरकार, विभिन्न बैंक तथा सरकारी संस्थाहरूका खाता सञ्चालन हुन्छन्। ती खातामा भएको रकम आवश्यक परेमा चेकमार्फत झिक्न सकिन्छ, जसअनुसार राष्ट्र बैंकले नोट निष्कासन गर्छ।

राष्ट्र बैंकले बजारमा चलनचल्तीमा ल्याउने नोटहरू पहिले नै छापेर सुरक्षित राखेको हुन्छ। संस्थाहरूको मागअनुसार ती नोटहरू बजारमा पठाइन्छन्।

नोट छपाइको प्रक्रिया पनि निश्चित मापदण्डअनुसार चल्छ। सरकारको तर्फबाट लिइएको ऋण, विदेशी मुद्रा सञ्चिति, तथा बैंकहरूद्वारा लिइने ऋणको आधारमा राष्ट्र बैंकले नोट छाप्ने गर्छ।

तर सरकारको खाता राष्ट्र बैंकमा हुने भएकाले राजस्व, विदेशी सहायता, वैदेशिक ऋण तथा आयात-निर्यातबाट आउने मुद्रा राष्ट्र बैंकमै केन्द्रित हुन्छ। यसरी राष्ट्र बैंकमा पैसा जानुलाई ‘नोट मर्नु’ भन्ने गरिन्छ, किनकि त्यो पैसा तत्काल बजारमा नचल्ने हुन्छ।

वाणिज्य बैंकहरूले समेत बजारबाट उठाएको पैसा राष्ट्र बैंकमा नै जम्मा गर्ने गर्छन्। त्यसैले कागजी रूपमा बैंकिङ प्रणालीमा धेरै रकम देखिए पनि वास्तविक रूपमा बजारमा कम नोट रहने अवस्था आउँछ।

नेपालमा हाल १, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५००, र १००० रुपैयाँ दरका नोट छन्। तर राष्ट्र बैंकले हाल १, २, २५ र २५० दरका नोट निष्कासन गरेको छैन।

राष्ट्र बैंकले नोट छाप्ने मात्र होइन, नष्ट पनि गर्ने गर्छ। च्यातिएका, मैलिएका वा नचल्ने नोटलाई राष्ट्र बैंकले संकलन गरेर ‘ब्रिकेट’ बनाएर जलाउने प्रक्रिया अपनाएको छ। यस्ता झुत्रा नोटहरू साट्न राष्ट्र बैंकले सहज सेवा दिने व्यवस्था गरेको छ।

यसरी नेपालको मुद्रा प्रणाली एक परिष्कृत चक्रमा आधारित छ, जसमा कागजी गन्ती, भौतिक नोट र डिजिटल कारोबारबीचको सन्तुलन कायम राखिन्छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया