National Life

आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष ४२.९७ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी ११.६७ रुपैयाँ

  • BFIS News
  • 2025 Aug Sat 21:45
आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष ४२.९७ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी ११.६७ रुपैयाँ

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले जीवन बीमा कोषको आकार बढाएर १३ अर्ब १० करोड रुपैयाँ पुर्याउन सफल भएको छ । यसअघि अघिल्लो वर्षको सोही अवधिमा जीवन बीमा कोष नौ अर्ब १६ करोड रुपैयाँ थियो । यो वृद्धि ४२.९७ प्रतिशतले भएको हो । जीवन बीमा कम्पनीका लागि जीवन बीमा कोषलाई सबैभन्दा महत्वपूर्ण सूचक मानिन्छ ।

कम्पनीले यस अवधिमा जगेडा कोषमा ६५ करोड ५४ लाख रुपैयाँ र महाविपत्ती कोषमा २५ करोड ५३ लाख रुपैयाँ संचित गरेको छ । यी कोषहरूको दायरा अघिल्लो वर्षको तुलनामा ३२.१४ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

बीमा शुल्क संकलनमा पनि कम्पनीले सशक्त प्रगति देखाएको छ । चालु आर्थिक वर्षमा आइएमई लाइफले पाँच अर्ब ६ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको चार अर्ब १ करोड ३९ लाख रुपैयाँभन्दा २१.२१ प्रतिशतले बढी हो ।

त्यस्तै, कम्पनीको कुल आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा आइएमई लाइफको कुल आम्दानी २० प्रतिशतले वृद्धि भई सात अर्ब १८ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल आम्दानी पाँच अर्ब ९८ करोड ५५ लाख रुपैयाँ मात्र थियो ।

तर नाफाका हिसाबले भने कम्पनी केही पछि परेको छ । चालु वर्षमा कम्पनीको नाफा ५.५४ प्रतिशतले घटेर ५८ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष सोही अवधिमा नाफा ६१ करोड ७४ लाख रुपैयाँ थियो । यससँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ११.६७ रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा आइएमई लाइफले आफ्ना अभिकर्तालाई कमिशन शीर्षकमा ५७ करोड ७३ लाख रुपैयाँ वितरण गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढी हो । हाल कम्पनीसँग चार लाख ७४ हजार बीमा पोलिसी कायम रहेको जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया