'बीमा अभिकर्ता पेशा मात्र होइन, समाजसेवाको माध्यम हो' गोमा कोइराला भण्डारीको दुई दशकको प्रेरणादायी यात्रा
- प्रभात कुईकेल
- 2025 Aug Thu 20:01

काठमाडौं। धरानकी गोमा कोइराला भण्डारी आजको दिनमा जीवन बीमा क्षेत्रमा परिचित नाम हो। नेपाल लाइफ इन्स्योरेन्समा झण्डै दुई दशकदेखि निरन्तर क्रियाशील गोमा सफल महिला अभिकर्ताको उदाहरण बनेकी छिन्। शिक्षिकाबाट बीमा क्षेत्रमा उदाएकी उनको यात्रा संघर्ष, परिश्रम र निरन्तरताले भरिएको प्रेरणादायी जीवन्त उदाहरण हो।
२०६० सालमै तत्कालीन बीमा समितिबाट अभिकर्ताको तालिम लिएर लाइसेन्स लिएकी गोमा भण्डारीले २०६१ साल पुषबाट नेपाल लाइफ इन्स्योरेन्समार्फत बीमा व्यवसाय सुरु गरिन्। बीमा क्षेत्रमा प्रवेश गर्नु अघिसम्म उनले स्वास्थ्य क्षेत्रमा केही समय काम गरिन् भने लामो समय शिक्षण पेशामा बिताइन्। शिक्षा सदन माविमा पढाउँदा उनका श्रीमान्ले बीमा क्षेत्रमा लाग्न प्रेरणा दिएपछि उनले यो पेशालाई अँगालिन्।
शिक्षण पेशाबाट बीमा क्षेत्रमा लाग्नु सजिलो निर्णय थिएन। तर श्रीमानको साथ र आफ्नो लगनशीलताका कारण उनले यो क्षेत्रलाई नछोड्ने अठोट गरिन्। आज उनी भन्छिन्, “शिक्षणभन्दा बीमा पेशा अझ प्रभावकारी लाग्यो, किनभने यसले व्यक्तित्व विकास मात्र होइन, वित्तीय स्वतन्त्रता पनि दिन्छ।”
मोरङमा वितेको वाल्यकाल
मोरङको गोविन्दपुरमा जन्मिएकी गोमाले स्कुल शिक्षा पूरा गर्न धेरै संघर्ष गरिन्। उनका लागि स्कुल पुग्न खोला तर्नु पर्थ्यो। सौँठा मा.वि.बाट एसएलसी उत्तीर्ण गरेकी गोमाको विवाह प्लस टु गर्दै गर्दा भयो। विवाहपछि पढाइ रोकिए पनि बीमा क्षेत्रमार्फत उनले आफूलाई पुनः स्थापित गरिन्।
विवाहपछि धरान पुगेकी गोमाले यहींबाट आफ्नो बीमाको यात्रा थालेकी हुन्। सुरुमा शिक्षण र बीमालाई सँगसँगै अघि बढाइन् तर पछि पूर्णकालीन रुपमा बीमामा समर्पित भइन्।
दुई दशकको समर्पण र सफलता
उनको बीमाको यात्राले २० वर्ष पूरा गरिसकेको छ। हरेक वर्ष करोडौँको बीमा व्यवसाय भित्र्याउने उनी अहिले धरान शाखाबाट काम गर्छिन्, यद्यपि जीवन बीमाको सुरुवात भने विराटनगर शाखाबाट गरेकी थिइन्।
उनी नेपाल अधिराज्यभर बीमा व्यवसायका लागि जान्छिन्। बीमितलाई जुन शाखाबाट सेवा लिन सजिलो हुन्छ, त्यहीँबाट पोलिसी जारी गरिदिन्छिन्। यो लचिलोपन र सेवाप्रतिको प्रतिबद्धताले नै उनलाई सफल बनाएको छ।
बीमामा लोअपको महत्त्व
गोमा भन्छिन्, "जुनसुकै पेशामा निरन्तरता र समर्पण भए असफल भइदैन।" उनी बीमा गरेर मात्रै छोड्दिनन्, हरेक बीमितलाई समयमै फलोअप गर्छिन्। उनी नजिक रहेका विमितसँग प्रत्यक्ष भेटघाट गर्ने प्रयास गर्छिन् र टाढा वा विदेशमा रहेकाहरूलाई बीमाको महत्वको बारेमा बुझाउँदै सामाजिक सञ्जाल मार्फत बीमा गराउँछिन्।
उनी भन्छिन्, “बीमाको प्रस्ताव लिएर जाँदा कसैले पनि सिधै ‘नाइँ’ भन्नुहुन्न। बरु पैसा छैन पछि गर्छु भन्नुहुन्छ तर अस्वीकार गरेको मेरो अनुभव छैन। मलाई त बीमितले नै बोलाएर बीमा गराउनु हुन्छ।”
बीमाबारे समाजमा अनेक भ्रमहरु छन्। धेरैले यसलाई नकारात्मक दृष्टिले हेर्ने गर्छन्। तर गोमाले जहिल्यै बीमालाई सकारात्मक रुपमा प्रस्तुत गर्दै आएकी छिन्। उनले बीमालाई सुरक्षा, बचत र जिम्मेवारीको प्रतीकका रुपमा बुझाएकी छिन्।
उनी भन्छिन्, “बीमा जन्म र मृत्युसँग जोडिएको साथी हो। विदेश गएका धेरै नेपाली बाकसमा फर्केका छन्। यदि समयमै बीमा गरिएको भए, आश्रित परिवारलाई ठूलो राहत मिल्थ्यो।”
उनलाई परिवारको पनि ठुलो साथ सहयोग रहदै आएको छ। सामाजिक सेवा क्षेत्रमा समेत सक्रिय रहेकी गोमा भण्डारीको सञ्जाल बलियो छ। यही सञ्जालले उनको व्यवसायलाई अझ बलियो बनाएको छ।
बीमा : दीर्घकालीन बचतको साधन
उनी बीमालाई केवल जोखिम व्यवस्थापन होइन, एक दीर्घकालीन बचतको माध्यम पनि मान्छिन्। उनी भन्छिन्, “महिनामा लाखौँ कमाउनेले पनि यदि बचत गर्न सकेन भने अर्थ छैन। बीमा गरेपछि भने निश्चित बचत हुन्छ। त्यो पनि सुरक्षासहित।”
नेपाल लाइफको प्राय: सबै राष्ट्रिय सम्मान कार्यक्रममा सहभागी हुने अवसर पाएकी गोमा भण्डारी हजारौँ बीमितको जीवनमा आर्थिक सुरक्षाको भरोसा बनेकी छिन्। उनका धेरै बीमितको पोलिसी परिपक्व भइसकेको छ। पहिले बीमालाई "ठग्ने धन्दा" भन्नेहरू अहिले नयाँ बीमा गर्न उनलाई खोज्दै आइरहेका छन्।
उनको अनुभवमा, १५–२० वर्षअघि सामान्य नागरिकले वार्षिक ८–१० हजार रुपैयाँ बीमामा लगानी गर्न पनि कठिन मानिन्थ्यो। तर, समयसँगै मूल्यवृद्धि र आर्थिक जीवनशैलीको परिवर्तनले गर्दा त्यसबेला निर्धारण गरिएका बीमाङ्कहरू अहिले साना लाग्न थालेका छन्। यही अनुभवका आधारमा गोमा कोइराला भन्छिन् “अहिले बीमा गर्दा आगामी १५–२० वर्षपछिको अवस्थासमेत सोचेर बीमाङ्क निर्धारण गर्नुपर्छ।”
"जसको बीमा पोलिसी परिपक्क भइसकेको छ, उहाँहरु नै नयाँ बीमा गर्नका लागि सबैभन्दा सजिलो लाग्छ। उहाँहरुलाई बीमाको महत्त्व बुझाउनै पर्दैन।" उनको अनुभव छ।
उनी सकेसम्म बीमितसँग प्रत्यक्ष भेटघाट गर्ने प्रयास गर्छिन्। “प्रत्यक्ष भेट गर्दा अरूले मलाई सम्झिनुहुन्छ, यसले मेरो प्रचार पनि हुन्छ,” उनको भनाइ छ। उनले जहिल्यै कम्पनीको ब्रान्डलाई उच्च स्थानमा राख्ने गरेकी छिन्। कम्पनीको बीमित सुहाउदा बीमा पोलिसी र आकर्षक बोनसदरले गर्दा काम गर्न धेरै सहज भएको उनी बताउछिन्।
५१ वर्ष पार गरेकी गोमा आफूलाई बीमा क्षेत्रमा भने अझै २१ वर्षको जस्तो जोसिलो महसुस गर्छिन्। शरीरले साथ दिएसम्म बीमालाई नै जीवनभरको पेशा बनाउने उनको लक्ष्य छ। “यो पैसा कमाउने मात्रै होइन, समाजसेवा गर्ने माध्यम पनि हो,” उनी भन्छिन्। उनी आफु मात्रै सक्रिय छैन। उनको टिममा अहिले ३०० भन्दा बढी सक्रिय अभिकर्ताहरू छन्। समय–समयमा तालिम प्रदान गर्दै उनले आफ्नो टिमलाई सशक्त बनाउँदै आएकी छन्।
सीएमए समेत पढेकी गोमा कोइराला भण्डारीले विभिन्न नगरपालिकाको स्वास्थ्य क्षेत्रमा र शिक्षकको भूमिकामा लामो समय बिताइसकेकी उनले अन्य पेशाभन्दा अभिकर्ता पेशामै आफूलाई थप प्रमाणित गर्न सफल भएकी छिन्। उनले हजारौ नागरिकलाई जीवन बीमाको सुरक्षामा आबद्ध गराइसकिन्।
कामप्रतिको जोश, लगाव र प्रतिबद्धताले गर्दा कम्पनी र परिवार दुवैबाट भरपूर समर्थन पाएकी उनी पटक पटक एमडिआरटी बन्न सफल भइसकेकी छिन्। उनी एमडिआरटीका मापदण्ड भन्दा फरक सेल्फ र टिम दुबैलाई अगाडी बढाउन रुचाउछिन्। यति मात्रै होइन भण्डारी नेपालभरिका सबै बीमा कम्पनीहरूको छाता संगठनको रुपमा रहेको "पेशागत बीमा अभिकर्ता सङ्घ, नेपाल"को सदस्यको रूपमा समेत सक्रिय रहेकी छिन् ।
यस कम्पनीका सिइओ, डिसिइओ, मार्केटिङ हेड, एजेन्सी हेडका साथै धरान शाखा लगायत अन्य नेपाल अधिराज्यभरिका शाखा प्रमुख तथा कर्मचारीहरूको प्रोत्साहनले उनीलाई थप ऊर्जा मिलेको बताउछिन्। “यस कम्पनीका विभिन्न स्थानमा रहेका शाखाका कर्मचारीहरू बीचको सामीप्यताको कारण म बीमा क्षेत्रमा सधैं सक्रिय भइरहेकी छु” गोमा भन्छिन्।
समाजमा 'बीमा गर्न सजिलो तर दाबी लिन गाह्रो' भन्ने आम बुझाइलाई तोड्न उनी अग्रसर छिन्। कतिपय निर्जीवन बीमामा दाबी नपाएको घटनाले समाजमा नकारात्मक धारणा बनेको भन्दै उनी जीवन बीमालाई सही ढंगले प्रचारप्रसार गर्न कम्पनी र अभिकर्ताले संयुक्तरूपमा लागि पर्नु पर्ने उनी बताउछिन्।
“यदि समाजमा बीमा प्रतिको सकारात्मक धारणा निर्माण गर्न सकियो भने बीमाको पहुँच व्यापक हुनेछ र अभिकर्ता पेशाबाट धेरैले स्वरोजगारको अवसर पनि पाउनेछन्,”
उनी जस्ता समर्पित अभिकर्ताहरूले नै बीमालाई केवल आर्थिक सुरक्षा होइन, समाज परिवर्तनको एक सशक्त माध्यम बनाइरहेका छन्। उनको कथा एउटा महिला अभिकर्ताको सफलता मात्र होइन, समाज परिवर्तनको पनि कथा हो। शिक्षण पेशाबाट बीमामा आउँदा उनले सोचेकी थिइन् 'यो क्षेत्र मेरो लागि अनुकूल छ।' आज उनी हजारौँ परिवारको भविष्यको सुरक्षा बनिसकेकी छिन्। “बीमा भनेको बिहान बेलुका खाना खाएजस्तै हो, जीवनमा अनिवार्य छ। जोखिम कहिल्यै बोलाएर आउदैन, त्यसको तयारी भने आजै गर्नुपर्छ।”
प्रतिक्रिया