मुक्तिनाथ कृषि कम्पनीद्वारा आधुनिक कृषि बजारसम्बन्धी कार्यशाला सम्पन्न, कृषि क्षेत्रमा सुधारको आवश्यकता : मन्त्री अधिकारी
- BFIS News
- 2025 Aug Sat 11:51

काठमाडौं, भदौ १३ गते। मुक्तिनाथ कृषि कम्पनीले शुक्रवार आधुनिक कृषि बजारसम्बन्धी कार्यशाला कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रमको समुद्घाटन कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकरीले गरेका थिए।
कार्यक्रममा कृषि विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै कृषि क्षेत्र सँग सरोकारवाला पक्षहरु विच अन्तर्क्रिया समेत गरिएको थियो। कृषि विज्ञ डा. पारस खरेलले कृषि व्यापार सम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। त्यस्तै आधुनिक कृषि बजार सम्बन्धी कार्यशाला प्यानल छलफलमा उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयका सहसचिव शिवराम पोखरेल, कृषि विभागका उप महानिर्देशक ललनकुमार सिंह, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र कृषि उद्यम केन्द्रका सभापती डि.बि. बस्नेत सहभागी थिए भने सुगरीका केसीले सहजकर्ताको भुमिका निर्वाह गरेकी थिइन्।
कार्यक्रमलाई सबंधोन गर्दै कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले कृषकलाई व्यवासयिक बनाउनु पर्नेमा जोड दिएका छन्। यसका लागि मुक्तिनाथ कृषि कम्पनी जस्ता संस्थाको पहल धेरै सर्हानायोग्य रहेको बताए।
उनले नेपालको कृषि प्रणालीमा तीन प्रकारका किसान रहेको बताएका छन् – गरिबीमा जीवन यापन गर्ने, आत्मनिर्भर र व्यावसायिक किसान। उनले यी तिनै तहका किसानलाई व्यवस्थापन गर्ने प्रयासमा सरकार लागेको स्पष्ट पारेका छन्।
मुक्तिनाथ कृषि कम्पनीको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले निमुखा किसानलाई व्यावसायिक तहमा पुर्याउन आग्रह गरे। उनले मुक्तिनाथ कम्पनीलाई आग्रह गर्दै भने, "म मन्त्रीको हैसियतले मात्र होइन, व्यक्तिगत रूपमै पनि सहयोग गर्न तयार छु।"
उनले थपे, "नेपाल सरकारको कृषि मन्त्रालयले सबै किसानलाई एउटै सुत्रमा बाँधेर तिनीहरूको हैसियत अनुसार उत्पादन गर्न सकून् भन्ने उद्देश्य राखेको हो। तर व्यवहारिक कठिनाइका कारण यो सम्भव हुन सकेको छैन।"
मन्त्री अधिकारीले वर्तमान राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलाई उदाहरण दिँदै भने, “पहिलेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अहिले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम बनेको छ, तर यो पनि हाल ४८ जिल्लामा मात्रै कार्यान्वयनमा छ। यद्यपि ७७ वटै जिल्लालाई समेट्ने प्रयास जारी छ, तर अझै देशभरी पुग्न सकिएको छैन।”
कृषि उत्पादनभन्दा आयात धेरै भएकोमा गहिरो चिन्ता व्यक्त गर्दै उनले भने, “सरकार चिन्तित छ। हामीले उत्पादन नगरेसम्म आत्मनिर्भर हुन सक्दैनौं।” उनले बजार मूल्यका बारेमा दुखेसो व्यक्त गर्दै भने, "सरकारले धानको समर्थन मूल्य २६ सय रुपैयाँ तोक्दा पनि बजारमा १५–१६ सयमा झर्छ, यसो हुँदा किसानलाई नोक्सान हुन्छ।"
मन्त्री अधिकारीले मौसमीभन्दा बेमौसी उत्पादनतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै भने, "मौसमी उत्पादनले मात्रै बजार मूल्य पाउन सक्दैनौं। बेमौसी उत्पादन र रैथाने बालीको विकास गरेर उत्पादन वृद्धि गर्नुपर्छ। मुक्तिनाथ कृषि कम्पनीले पनि यसतर्फ कदम चाल्नुपर्छ।"
उनको भनाइमा सरकारले प्रयास त गरिरहेको छ, तर अझै धेरै काम गर्न बाँकी रहेको छ। कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउँदै देशको आर्थिक सुधारमा योगदान पुर्याउन सरकार, निजी क्षेत्र र किसानहरूबीच समन्वय आवश्यक रहेको उनको धारणा थियो।
कृषिमा बजार र संरचना सुदृढ नगरी समस्या समाधान सम्भव छैन
"नेपाल कृषि सम्भावनाले भरिएको देश हो, तर यथार्थमा यो क्षेत्र अनेकौं समस्यासँग जुधिरहेको छ," मुक्तिनाथ कृषि कम्पनीका प्रवन्ध सञ्चालक भरतनाथ ढकालले आधुनिक कृषि बजारसम्बन्धी कार्यशाला कार्यक्रममा मन्तव्य व्यक्त गर्दै भने।
कार्यक्रममा बोल्दै ढकालले खासगरी कृषिमा लगानीको अभाव, बजारको सुनिश्चितता र संरचनागत कमजोरीका कारण कृषि क्षेत्र पछाडि परेको उल्लेख गरे। उनले विगतमा किसानहरू बैंक तथा वित्तीय संस्थाबाट कर्जा नपाएको गुनासो गर्दा मुक्तिनाथ विकास बैंकले भने समूहमा आबद्ध गराई बिना धितो ऋण प्रदान गर्ने कार्य आरम्भ गरिसकेको जानकारी दिए।
तर केवल ऋण दिँदैमा समस्याको समाधान नहुने भन्दै उनले थपे, "किसानले उत्पादनको सुनिश्चित बजार नपाउँदा, ऋणको किस्ता तिर्न पनि नसक्ने अवस्था आउँछ। त्यसैले, वित्तीय लगानीसँगै गैर-वित्तीय सेवा संरचना पनि अत्यावश्यक छ।"
यसै सोचका आधारमा, २०७५ सालमा मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना गरिएको उनले बताए। कम्पनी स्थापना पश्चात कृषिमा विद्यमान समस्याहरूको गहिरो अध्ययन गरियो र समाधानका लागि नेपाल सरकारसमक्ष सुझावहरू पनि पेश गरिएको उनको भनाइ थियो।
ढकालले सबैभन्दा जटिल समस्या नेपालमा अन्तर्राष्ट्रिय स्तरको थोक बजारको अभाव भएको उल्लेख गर्दै भने, "थोक बजार बिना कृषि प्रशोधन उद्योगहरू स्थापना हुन सक्दैनन्, जसले गर्दा कृषिजन्य वस्तुको मूल्य अभिवृद्धि हुँदैन र किसानले उचित मूल्य पाउँदैनन्।"
उनले बजारको अभावका कारण युवाहरू कृषिमा आकर्षित नहुने तथ्य औंल्याउँदै भने, "कुनै युवा उद्यमीले आफ्नै पूँजी लगानी गरेर महिनौं मेहनत गरेपछि पनि बजार र मूल्य नपाउँदा ऊ विकल्प खोज्न बाध्य हुन्छ। जबसम्म हामी उत्पादनदेखि बजारसम्मको संरचना मजबुत बनाउन सक्दैनौं, तबसम्म युवाले कृषि रोज्दैनन्।"
ढकालले कृषिलाई मर्यादित बनाउन र युवालाई आकर्षित गर्न कृषि वस्तुको मूल्य र बजार सुनिश्चित हुनु पर्नेमा जोड दिए। "नीति नियम बनाउनु मात्र होइन, कार्यान्वयन गर्न सक्नुपर्छ। बजार र उद्योगको सुनिश्चितता गरिएमा, नेपालका कृषि क्षेत्रका धेरै समस्या समाधान गर्न सकिन्छ," उनले भने।
कार्यक्रमको अन्त्यमा उनले कृषकका उत्पादनको मूल्यांकन र विश्वसनीय बजारको ग्यारेन्टी नभएसम्म कृषि दिगो नहुने स्पष्ट पारे। युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न बजार र उद्योगको संरचना निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो।
कार्यपत्र प्रस्तुत गर्दै डा. खरेलले नेपालले विश्व बजारमा कृषि सामाग्री निर्यात गर्ने धेरै स्पेस रहेको भन्दै यस क्षेत्रमा अथाह सम्भावना रहेको बताएका छन्। पाम आयलको हिस्सालाई नगन्ने हो भने नेपालको कृषि निर्यात धेरै नै नाजुक अवस्थामा रहेको उनले बताए। नेपालले भारत र चीनका अतिरिक्त विश्वका धेरै देशमा आफ्नो कृषि उत्पादन निर्यात गर्न सक्ने अवस्था रहेको हुँदा उत्पादन बृद्धिमा सम्बन्धित सरोकारवाला सबैले ध्यान दिनु पर्ने उल्लेख गरेका छन्।
प्यानल छलफलमा सहभागीहरुले सरकारले कार्यक्रम ल्याउने र प्रभावकारी रुपमा कार्यन्वयन नगरेको भन्दै गुनासो व्यक्त गरेका थिए। त्यस्तै सहभागीहरुले बैंकहरुको कृषि कर्जा प्रवाहमा देखिएको समस्याका विषयमा पनि उठान गरेका थिए। सहभागीको गुनासो संबोधन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले कृषि क्षेत्रमा लगानी बढाउन राष्ट्र बैंकले सहुलियतका नीतिगत व्यवस्था गरेको प्रष्ट पारेका थिए। उनले व्यक्ति वा धितो मात्रै हेरेर भन्दा पनि परियोजना हेरेर कर्जा प्रवाह गर्ने क्रम बढेको बताए।
कार्यक्रम समापनमा वक्ताहरूले कृषि क्षेत्रमा दीगो सुधारका लागि बजार, संरचना, र नीति कार्यान्वयनमा सुधार गर्नुपर्नेमा जोड दिए। सबै सरोकारवालाहरूबीच सहकार्य र जिम्मेवारी बाँडफाँडको खाँचो औंल्याउँदै, कार्यक्रमले आधुनिक कृषि बजार विकासका लागि एक साझा सोच प्रस्तुत गरेको थियो।
प्रतिक्रिया