United Ajod

कर्णाली राजमार्ग अवरुद्ध : १३ करोड बराबरको स्याउ कुहिने चिन्ता

Everest Bank
  • BFIS News
  • 2025 Sep Tue 13:39
कर्णाली राजमार्ग अवरुद्ध : १३ करोड बराबरको स्याउ कुहिने चिन्ता

कर्णाली । निरन्तर वर्षाका कारण कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध हुँदा यातायात तथा व्यापारिक गतिविधि प्रभावित भएका छन् ।

विशेषगरी जुम्लाबाट विभिन्न स्थानमा पठाइएको ठूलो परिमाणको स्याउ राजमार्गमै रोकिएर कुहिने अवस्था सिर्जना भएको छ ।

कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । राजमार्ग बन्द भएपछि सुर्खेत, नेपालगञ्ज र काठमाडौंतर्फ स्याउ बोकेर गएका मालवाहक ट्रक बाटोमै थन्किएका छन् । यसले व्यापारीसँगै यात्रुहरूलाई समेत ठूलो समस्या परेको छ ।

जुम्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार राजमार्गमा स्याउ बोकेका २३ ट्रक रोकिएका छन् । ती ट्रकमा झण्डै १३ करोड रुपैयाँ बराबरको १८४ मेट्रिक टन स्याउ रहेको उनले जानकारी दिए । समयमै गन्तव्यमा पुग्न नसक्दा स्याउ कुहिने डर व्यापारीहरूलाई सताएको छ ।

यात्रु बालाराम नेपालीले सडक खुलाउने पहल अझै नभएको गुनासो गरेका छन् । किसानहरूले समेत छिट्टै बाटो खुलाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र चौधरीले सडकमा खसेका ठूलो ढुङ्गा फुटाउन नसकिएको बताए । उनका अनुसार नेपाली सेनाको टोली मान्मबाट घटनास्थलतर्फ पठाइएको छ । लगातारको वर्षाले सडक खुलाउने काममा कठिनाइ भइरहेको छ ।

यसैबीच, कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीसहितको टोली पहिरो पन्छाउन खटिएको जानकारी दिएका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया