सिटिजन लाइफ इन्स्योरेन्सको रेटिङमा सुधार, पायो ट्रिपल बि प्लस: वित्तीय दायित्व समयमै पुरा गर्ने क्षमता
- BFIS News
- 2025 Sep Wed 11:19

काठमाडौं, भदौ १८ गते। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको रेटिङमा थप सुधार देखिएको छ। इक्रा नेपाल लिमिटेडले गरेको रेटिङ अनुसार कम्पनीले इक्रा इनपी आइआर ट्रिपल बि प्लस प्राप्त गरेको छ। कम्पनीको यस अगाडीको रेटिङ ट्रिपल बि थियो।
सुधारिएको यस रेटिङले कम्पनीले आफ्नो वित्तीय दायित्वहरू समयमै पुरा गर्ने मामिलामा सुरक्षित रहेको देखाउँछ भने क्रेडिट जोखिम पनि मध्यम स्तरमा रहेको संकेत गर्दछ।
इक्राको रेटिङ स्केलमा “+” वा “–” को प्रयोगले सोही रेटिङ श्रेणी भित्र कम्पनीको सापेक्षिक स्थिति देखाउँछ। यसअन्तर्गत BBB+ को रेटिङ BBB भन्दा एक श्रेणी माथि पर्छ। यो रेटिङ कुनै विशिष्ट ऋण साधनसँग सम्बन्धित नभइ कम्पनीको समग्र क्रेडिट योग्यता (creditworthiness) सँग सम्बन्धित छ।
रेटिङमा स्तरोन्नतीका कारणहरु
सिटिजन लाइफ इन्स्योरेन्सको यो रेटिङ सुधार कम्पनीको उल्लेखनीय व्यवसायिक वृद्धि, मजबुत सॉल्भेन्सी स्थिति (solvency profile) र बजार हिस्सामा देखिएको सुधारका कारण भएको रेटिङ एजेन्सी इक्राले जनाएको छ।
कम्पनीले आ.व. २०८१/८२ मा करिब २१% ग्रोथ गर्दै ग्रस प्रिमियम आम्दानीमा बलियो वृद्धि गरेको छ, जुन सोही अवधिमा जीवन बीमा उद्योगको औसत वृद्धिदर १४% भन्दा बढी हो।
कम्पनीको सॉल्भेन्सी अनुपात पनि उल्लेखनीय रूपमा सुधारिएको छ। सन् २०२४ को जुलाईको मध्यसम्म यसको सॉल्भेन्सी अनुपात ३.४२ पुगेको छ, जुन बीमा प्राधिकरणको न्यूनतम १.३० को मापदण्डभन्दा निकै माथि हो। यो सुधार कम्पनीको IPO सफलतापूर्वक सम्पन्न भएपछि सम्भव भएको एजेन्सीले तयार पारिएको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीको जीवन बीमा बजारमा कुल हिस्सा ४% रहेको छ भने नयाँ लाइसेन्स लिएका जीवन बीमा कम्पनीहरु तर्फ २२% को हिस्सा रहेको देखिएको छ। कुल प्रिमियमको करिब ९०% हिस्सा एंडोमेन्ट बीमा योजनाबाट आएको छ, जसले स्थायित्व जनाउँछ।
लगानीको गुणस्तर पनि ठिकठाक रहेको छ, जहाँ ८३% लगानी राष्ट्रिय स्तरको बाणिज्य बैंकको मुद्दती निक्षेप र डिबेन्चरमा छ।
थप सशक्त पक्षहरू
कम्पनीको दाबी भुक्तानी क्षमता सुदृढ बनाउने पुनर्बीमा व्यवस्था, देशभर १३६ नेटवर्क प्वाइन्टहरूबाट सेवा, बलियो एजेन्सी च्यानल र अनुभवी व्यवस्थापन टोली जस्ता पक्षहरूले पनि रेटिङ सुधारमा टेवा पुर्याएको इक्राले जनाएको छ।
चुनौतीहरू
तर, कम्पनीको तुलनात्मक रूपमा छोटो इतिहास (अक्टोबर २०१७ देखि) र प्रतिस्पर्धी जीवन बीमा उद्योगमा (जहाँ १४ कम्पनी क्रियाशील छन्) यसको स्थिति अझै बलियो हुनुपर्ने एजेन्सीले उल्लेख गरेको छ।
बीमा क्षेत्रमा पहुँच (insurance penetration) दीर्घकालीन सकारात्मक पक्ष भए पनि, प्रतिस्पर्धाको तीव्रता कम्पनीको मुनाफा तथा वृद्धिमा दबाब सिर्जना गर्न सक्ने सम्भावना रहन्छ। अर्कोतर्फ, बैंकिङ क्षेत्रमा ब्याजदर घट्दै गएको सन्दर्भमा कम्पनीको लगानी आयमा भविष्यमा दबाब पर्न सक्ने जोखिमलाई पनि नजरअन्दाज गर्न नसकिने उल्लेख छ।
आगामी दिनहरूमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो लगानीको गुणस्तर र प्रतिफल कायम राख्न सक्ने वा अझ सुधार गर्न सक्ने क्षमताले यसको भावी रेटिङ निर्धारणमा निर्णायक भूमिका खेल्नेछ।
इक्रा नेपाल लिमिटेड नेपालको एक अग्रणी क्रेडिट रेटिङ संस्था हो, जसले वित्तीय संस्थाहरूको क्रेडिटयोग्यता मूल्याङ्कन गर्दै आएको छ।
कम्पनीका प्रमुख प्रवर्धकहरूमा कान्तिपुर पब्लिकेसन्स प्रा.लि. (५.२% हिस्सेदारी), सुमित कुमार अग्रवाल (५.२%) र प्रदीप जङ्ग पाँडे (३.७%) लगायत अन्य रहेका छन्। कम्पनीको प्रवर्धक र सर्वसाधारण शेयरधनीको अनुपात ७०:३० रहेको छ।
कम्पनीले देशभर नयाँ व्यवसाय प्राप्त गर्न र बिक्रीपछिको सेवा विस्तार गर्नका लागि करिब १३६ शाखा सञ्जाल, ३४,००० भन्दा बढी व्यक्तिगत अभिकर्ता र ४८ वटा कर्पोरेट अभिकर्ता परिचालन गरेको छ।
कम्पनीले आ.व. २०८१/८२ (FY2025) मा करिब ४२ करोड ५० लाख रुपैयाँ खुद नाफा (Profit After Tax) कमाएको थियो। सोही अवधिमा कम्पनीको कुल सम्पत्ति करिब २८ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।
यसको तुलनामा, अघिल्लो आ.व. २०८०/८१ मा कम्पनीले करिब ४३ करोड रुपैयाँ नाफा कमाएको थियो भने सम्पत्ति आधार झन्डै २२ अर्ब ४ करोड रुपैयाँ थियो।
सिटिजन लाइफ इन्स्योरेन्सले छोटो समयमै उल्लेखनीय व्यवसायिक वृद्धि गर्दै देशभर आफ्नो उपस्थिति विस्तार गरिरहेको छ। साथै, यसको वित्तीय सूचकहरू पनि स्थिर देखिएको छ, जसले गर्दा कम्पनीको दीर्घकालीन सम्भावनालाई सकारात्मक रूपमा हेर्न सकिन्छ।
प्रतिक्रिया