बीमकको विदेशी मुद्रा सटहीमा नयाँ निर्देशन, पुनर्बीमा र परामर्श शुल्क भुक्तानीमा प्राधिकरणको सिफारिस अनिवार्य
- BFIS News
- 2025 Sep Wed 16:02

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा व्यवसायलाई अझ पारदर्शी र व्यवस्थित बनाउन नयाँ निर्देशन जारी गरेको छ। प्राधिकरणले आज सार्वजनिक गरेको ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ अनुसार बीमकहरूले पुनर्बीमा, रेट्रोशेसन तथा विदेशबाट आयात गरिने परामर्श सेवाका भुक्तानीका लागि विदेशी मुद्रा सटही प्राधिकरणको सिफारिस लिएर मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्देशनअनुसार बीमकले विदेशी बीमक वा पुनर्बीमक, नेपालमै रहेका बीमकमा लगानी गर्ने विदेशी लगानीकर्ता, वा बीमा सेवा प्रदान गर्ने विदेशी संस्थालाई भुक्तानी गर्दा प्राधिकरणको अनुमति लिनुपर्नेछ। साथै, बीमकहरूले विदेशी लगानीसम्बन्धी प्रचलित कानून र नेपाल राष्ट्र बैंकका विनिमय व्यवस्थापनसम्बन्धी निर्देशनहरूको समेत पालना गर्नुपर्ने स्पष्ट गरिएको छ।
पुनर्बीमा शुल्क भुक्तानीका लागि विदेशी मुद्रा सटही माग गर्दा ट्रिटि पुनर्बीमा, रेट्रोशेसन वा ऐच्छिक (फ्याकल्टेटिभ) पुनर्बीमासँग सम्बन्धित आवश्यक कागजात प्राधिकरणमा पेस गर्नुपर्नेछ। यस्तै, विदेशी बीमक वा ब्रोकरलाई बीमा दाबी रकम भुक्तानी गर्दा पनि ट्रिटि वा फ्याकल्टेटिभ हिसाब–किताब मिलान गरी तोकिएका कागजात संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्देशनले बीमाङ्कीको पारिश्रमिक, विशेषज्ञ तथा क्रेडिट रेटिङ्ग सेवा शुल्क, विदेशी सर्भेयरको पारिश्रमिक, सफ्टवेयर भुक्तानी तथा तेस्रो पक्ष सहजकर्ताका लागि आवश्यक कागजात समेत पेश गर्नुपर्ने प्रावधान राखेको छ। साथै, पुनर्बीमा वा रेट्रोशेसन वापतको सटही सिफारिस प्राधिकरणले जारी गरेको पुनर्बीमा निर्देशिकामा सूचीकरण भएका पुनर्बीमक तथा तोकिएको रेटिङ प्राप्त पुनर्बीमकलाई मात्र गरिने उल्लेख छ।
बीमकले पेश गरेका कागजात तथा प्राधिकरणबाट प्राप्त स्वीकृतिपत्र कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्ने र विदेशी मुद्रा भुक्तानी विवरण प्रत्येक चौमास सकिएको १५ दिनभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेस गर्नुपर्ने प्रावधान पनि निर्देशनमा समावेश गरिएको छ।
यस नयाँ व्यवस्थाले बीमा व्यवसायको वित्तीय अनुशासन, पारदर्शिता र विदेशी भुक्तानी प्रक्रियामा स्पष्टता ल्याउने प्राधिकरणको विश्वास छ।
प्रतिक्रिया