Nepal Life

मोरङ उद्योग संगठनद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई, आन्दोलनको क्षतिप्रति चिन्ता

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Sep 14 14:05
मोरङ उद्योग संगठनद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई, आन्दोलनको क्षतिप्रति चिन्ता

काठमाडौं, भदौ २९ — भ्रष्टाचार र बेथितिविरुद्ध हालै सम्पन्न ऐतिहासिक ‘जेन-जी’ आन्दोलनपछि नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशिला कार्की नियुक्त भएपछि मोरङ उद्योग संगठनले बधाई तथा शुभकामना व्यक्त गरेको छ। एक विज्ञप्ति जारी गर्दै संगठनले कार्कीको नेतृत्वमा देशले विधिको शासन, शान्ति, सुशासन र समावेशी आर्थिक तथा औद्योगिक विकासको दिशामा सार्थक प्रगति गर्ने विश्वास व्यक्त गरेको छ।

Nepal Life
NIMB

संगठनले प्रधानमन्त्री कार्कीलाई देशको नेतृत्व सम्हाल्ने अवसर प्राप्त हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको उल्लेख गर्दै भ्रष्टाचारमुक्त समाज र आर्थिक समृद्धिको जनआकांक्षा पूरा गर्ने मार्गमा उनको नेतृत्व सफल हुने अपेक्षा व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचारमुक्त नयाँ नेपाल निर्माणका लागि जेन-जी आन्दोलनले देखाएको मार्गदर्शनलाई आत्मसात गर्दै, समावेशी, न्यायपूर्ण र दिगो आर्थिक प्रणाली निर्माण गर्नु हामी सबैको साझा कर्तव्य हो।”

जेन-जी आन्दोलनको क्रममा भदौ २३ र २४ गते ज्यान गुमाएका सम्पूर्णप्रति संगठनले श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै परिवारजनप्रति संवेदना प्रकट गरेको छ।

तर, आन्दोलनको क्रममा मुलुकले व्यहोरेको अकल्पनीय क्षति र विध्वंसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। सरकारी संरचनादेखि निजी उद्योग, व्यवसाय र आवासहरूसम्ममा भएको लुटपाट, आगजनी र तोडफोडको संगठनले कडा निन्दा गरेको छ। यसप्रकारका कार्यमा संलग्न जो–कोहीलाई सत्यतथ्य छानबिन गरी कानुनी दायरामा ल्याउन नवगठित सरकारलाई आग्रह गरिएको छ।

“निजी क्षेत्रका लागि यो समय अत्यन्त चुनौतीपूर्ण र वेदनापूर्ण भएपनि, परिस्थितिसँग जुध्दै पुनर्निर्माण र पुनरुत्थानमा जुट्नु अबको आवश्यकता हो,” विज्ञप्तिमा भनिएको छ।

संगठनले निजी क्षेत्र नेपालको आर्थिक रूपान्तरणको मेरुदण्ड भएको उल्लेख गर्दै, सबै पक्षबीच आपसी समझदारी र सहकार्यका माध्यमबाट राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान गर्न प्रतिबद्धता व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया